काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आफ्नो विधानबाट राजसंस्था र हिन्दु राष्ट्र हटाउन निर्वाचन आयोगले निर्देशन दिएको छ। राप्रपाले गत पुस १० गते आफ्नो संशोधित विधान र केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गरी आयोगमा पेश गरेको थियो।
गत माघ २ गते राप्रपालाई निर्देशनात्मक पत्र पठाउँदै निर्वाचन आयोगले विधानबाट सनातन हिन्दु राष्ट्र र राजसंस्था शब्द हटाउन भनेको हो।
‘विधानको प्रस्तावनाको ४ मा उल्लेखिद सनातन हिन्दु राष्ट्र एवम राजसंस्थासहितको प्रजातन्त्रको मान्यता स्थापित गर्न र कायम गर्न’ भन्ने वाक्यांश नेपालको संविधानको प्रस्तावना एवम् भावनाको प्रतिकूल देखिएकाले सो वाक्यांश हटाई नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुकूल हुने गरी उल्लेख गर्नुहुन,’ राप्रपालाई आयोगले पठाएको पत्रमा उल्लेख छ।
यस्तो वाक्यांशसहितको विधान सात दिनभित्र पेश गर्न पनि निर्देशन दिइएको छ। यस्तै, राप्रपाको झन्डाको मध्य भागमा रहेको गाई चिन्ह पनि हटाउन आयोगले निर्देशन दिएको छ।

