बागमती । मकवानपुरको पहिचानका रूपमा रहेको दारको ठेकी यहाँका स्थानीयको उद्यमशीलता एवम् पर्यटनसँग जोडिन थालेको छ ।
प्राचीनकालदेखि मकवानपुर र आसपासका जिल्लामा दारको ठेकीले आफ्नो छुट्टै पहिचान बनाउँदै आएको छ । दारको ठेकीको प्रवर्द्धनका लागि स्थानीय जागरुकतासँगै सरकारी निकायले पनि चासो दिन थालेपछि यो उद्यमशीलता र पर्यटकीय पहिचानका रूपमा पनि जोडिन लागेको हो ।
विशेषगरी ग्रामीण परिवेशमा गाई–भैँसी पाल्ने किसानले दही जमाउनका लागि दारको ठेकी सबैभन्दा राम्रो मान्ने भएका कारण पनि यसको आफ्नै विशिष्ट महत्त्व रहेको डिभिजन वन कार्यालय, मकवानपुरका प्रमुख राकेशप्रसाद चन्द्रवंशीले बताए ।
पछिल्ला समयमा गाई–भैँसीपालनको क्रम घट्दै गएको र प्लास्टिक तथा धातुजन्य सामग्रीको प्रयोग बढ्दै जाँदा कतै यसको पहिचान नै हराउने हो कि भन्ने चिन्ता बढेको छ । दारको ठेकीको महत्त्वलाई उजागर गर्नकै लागि डिभिजन वन कार्यालय, हेटौँडाले विगत तीन वर्षयता दारको काठको प्रवर्द्धन गर्ने गरी कार्यक्रम सञ्चालन गरिरहेको छ ।
प्रमुख चन्द्रवंशीका अनुसार समुदायसँगको सहकार्यमा कार्यालयले दारका बिरुवाका लागि नर्सरी, तारबारका साथै गोडमेल आदिमा सहयोग गरिरहेको छ ।
मकवानपुरको चुरेको माथिल्लो भेग, मनहरी तथा लोथरभन्दा माथिल्लो भूभागमा दारका बोट प्रशस्त पाइने उनले जानकारी दिए । पछिल्लो समय काठको ठेकीको प्रयोग र संरक्षण नहुँदा यो लोपोन्मुख अवस्थामा पुगेको थियो ।
दही जमाउने यन्त्र र प्लास्टिक तथा धातुजन्य उपकरणको प्रयोग बढ्दै गएका कारण पनि यहाँको पहिचानका रूपमा रहेको दारको ठेकीलाई संरक्षण गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।
वर्षौँअघिदेखि नै मकवानपुरमा बनाइएको दारको ठेकी काठमाडौँ, भक्तपुर, ललितपुर लगायत विभिन्न जिल्लामा बिक्रीका लागि पुऱ्याइन्थ्यो । दारको संरक्षणका लागि सरकारी प्रयाससँगै पछिल्ला वर्षहरूमा यहाँका विभिन्न सामुदायिक वनले पनि सक्रियता बढाएका छन् ।
हेटौँडा नगरपालिका वडा नं. ५ स्थित पिप्ले पोखरा सामुदायिक वनले आफ्नो क्षेत्रमा दारका बिरुवा हुर्काउने अभियान सञ्चालन गरेको छ । सामुदायिक वनअन्तर्गत महिला समूहलाई दारको ठेकी बनाउने तालिम प्रदान गरिरहेको वन उपभोक्ता समितिका अध्यक्ष रामहरि चौलागाईंले जानकारी दिए ।
उनका अनुसार उक्त वनमा अघिल्लो वर्ष १५० वटा दारका बिरुवा लगाइएको थियो । यस वर्ष थप एक सय बिरुवा थप्ने लक्ष्य रहेको उनले बताए । “मकवानपुरको पहिचान दारको ठेकी लोप हुने अवस्थालाई दृष्टिगत गरी संरक्षण, प्रवर्द्धन र उपयोगका कार्यक्रम अघि बढाएका छौँ”, उनले भने, “पिप्ले सामुदायिक वनअन्तर्गत महिला समूहलाई दारको ठेकी बनाउने तालिम दिँदै उद्यमशीलतासँग पनि जोड्न खोजिएको छ ।”
ग्रामीण क्षेत्रका पशुपालक किसानले दूध जमाएर दही बनाउने प्रयोजनका लागि दारको ठेकी प्रयोग गर्ने गरे पनि यो क्रमशः लोपोन्मुख बन्दै गएपछि संरक्षण र उपयोगका लागि तालिमहरूमा जोड दिइएको उनले बताए ।
अन्य काठका ठेकीको तुलनामा दारको ठेकी केही महँगो पर्ने उनको भनाइ छ । पिप्ले पोखरा सामुदायिक वनअन्तर्गत महिलाहरूले ठेकीलगायत उपहारका लागि प्रयोग गरिने सामान बनाएर बिक्री गर्दै आएको उल्लेख गर्दै उनले मकवानपुरको पहिचान दारको ठेकीलाई उद्यमशीलता एवम् पर्यटनसँग पनि जोड्न खोजिएको बताए ।
स्थानीय बूढापाकाका अनुसार प्राचीनकालदेखि नै मकवानपुर र आसपासका क्षेत्रमा ठेकी बनाउन दार अथवा देवदार प्रजातिका रूखको काठको प्रयोग गर्दै आइएको छ । अन्य काठको तुलनामा दारको काठ हल्का हुने र यसमा दही जमाउन सबैभन्दा राम्रो हुने भएकाले पनि सकेसम्म दार नै खोज्ने प्रचलन रहेको स्थानीयवासी रमेश थापाले जानकारी दिए ।
काठको ठेकी लोप हुँदै जाँदा यस क्षेत्रमा परम्परागत रूपमा ठेकी बनाउँदै आएका चुदाराहरूको पेसा समेत सङ्कटमा परेको उनले बताए ।
पर्यटन प्रवर्द्धन गर्न दारको ठेकी उपहार...
दारको ठेकी लोप हुने चिन्ताका बीच पिप्ले पोखरा सामुदायिक वनअन्तर्गतका महिला समूहले काठको ठेकीलाई उपहारका सामग्रीका रूपमा बिक्री गर्दै आएका छन् ।
महिला समूहले मागअनुसार ठेकी तयार गरी उपलब्ध गराउँदै आएको वनका अध्यक्ष चौलागाईंले बताए ।
मकवानपुरको पहिचानलाई कायम राख्नका लागि हेटौँडा बसपार्क क्षेत्रमा दारको ठेकीको आकारको पानी ट्याङ्की निर्माण गरिएको छ । हेटौँडा आएका पर्यटकहरूले बसपार्कमा रहेको उक्त ठेकी आकारको ट्याङ्कीलाई तस्बिरमा कैद गरी लैजाने गरेका छन् ।
मकवानपुरगढी गाउँपालिका वडा नं. ४ मा पर्ने मनकामना मन्दिर जाने मार्गमा पनि पहिचान जोगाउन र पर्यटनसँग जोड्न दारको ठेकीसहितको पार्क निर्माण गरिएको छ ।
-----

