म्याग्दी । बेनी नगरपालिका–२, बगरफाँटमा रहेको सरस्वती आधारभूत विद्यालयमा कक्षाकोठा भवन निर्माण भएको छ ।
ब्रिटिस गोर्खा वेल्फेयर र विद्यालयको साझेदारीमा अपाङ्गमैत्री तथा भूकम्प प्रतिरोधी क्षमताको तीनकोठे एकतले भवन निर्माण भएको हो । रु २८ लाख ६३ हजारको लागतमा भवन र शौचालय निर्माण भएको विद्यालयका प्र.अ. कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।
ब्रिटिस गोर्खा वेल्फेयरले रु २४ लाख ७५ हजार सहयोग गरेको र भवन तथा शौचालय निर्माणमा विद्यालयले रु ३ लाख ८८ हजार ७९६ बराबरको श्रमदान र नगद लगानी गरेको प्र.अ. सुवेदीले बताए ।
पुराना भवनहरू जीर्ण र साँघुरा भएपछि पठनपाठनमा समस्या भएको थियो । नयाँ भवन बनेपछि पठनपाठन सहज भएको छ । प्र.अ. सुवेदीका अनुसार कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा हाल ५५ विद्यार्थी छन् ।
-----

