२०८३, कार्तिक १४ गते शनिबार

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन


  • मेरोभ्यूज
  • श्रावण ८, २०८३ शुक्रबार

  • चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

     

    अर्घाखाँची । अर्घाखाँची जिल्ला दुर्लभ तथा सङ्कटापन्न गिद्धहरूको सुरक्षित बासस्थानका रूपमा स्थापित हुँदै गएको छ । यस वर्षको प्रजनन अवधिमा जिल्लामा चार प्रजातिका गिद्धले सफलतापूर्वक प्रजनन गरेका छन् ।

    हालसम्म ३३ वटा बचेरा गुँडबाट उड्न सफल भएका गिद्धविज्ञ कृष्ण भुसालले जानकारी दिए । उनका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा रहेका गिद्धका गुँडबाट यस वर्ष उत्साहजनक रूपमा बचेरा हुर्किएर उडेका हुन् । छत्रदेव गाउँपालिकाका वन क्षेत्रमा विश्वमै दुर्लभ तथा अतिसङ्कटापन्न डङ्गर गिद्धले सल्लाका रुखमा २३ वटा गुँड बनाएका थिए । तीमध्ये १५ वटा गुँडबाट सफलतापूर्वक बचेरा उडेका छन् भनेर उनले जानकारी दिए ।

    मालारानी गाउँपालिकाको घेराभिर क्षेत्रमा हिमाली गिद्धले २२ वटा र हाडफोर गिद्धले तीन वटा गुँड बनाएका थिए । तीमध्ये हिमाली गिद्धका १६ वटा र हाडफोर गिद्धका दुई वटा गुँडबाट बचेरा सफलतापूर्वक उड्न सफल भएका छन् । भुसालका अनुसार यी गिद्धहरूले वर्षमा एकपटक मात्र एउटा अण्डा पार्ने गर्छन् । सामान्यतया असोज–कात्तिकदेखि सुरु हुने प्रजनन चक्र वैशाख–जेठसम्म चल्ने भएकाले एउटा बचेरा हुर्काउन लामो समय लाग्ने गर्दछ ।

    यता विश्वमै दुर्लभ तथा सङ्कटापन्न सेतो गिद्धले पनि सन्धिखर्क, भूमिकास्थान, मालारानी र शीतगङ्गा नगरपालिकाका विभिन्न ६ स्थानमा गुँड बनाएर यतिबेला बचेरा हुर्काइरहेको छ । अन्य गिद्धहरूको तुलनामा यस प्रजातिको प्रजनन केही ढिलो सुरु हुने भएकाले अहिले पनि बचेरा हुर्काइरहेको भुसालले बताए ।

    अर्घाखाँचीमा पछिल्ला वर्षहरूमा लगातार सफल प्रजनन हुनु, उपयुक्त बासस्थानको संरक्षण, पर्याप्त खाद्य उपलब्धता तथा स्थानीय समुदायको संरक्षणप्रतिको सचेतनाले गिद्धहरूको सङ्ख्या र प्रजनन सफलता बढाउन महत्वपूर्ण भूमिका खेलेको डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशव खड्काले बताए ।

    विश्वमै लोपोन्मुख अवस्थामा रहेका गिद्धहरूको संरक्षणका लागि अर्घाखाँची अहिले महत्वपूर्ण जिल्लाका रूपमा चिनिन थालेको छ । यस वर्ष चार प्रजातिका गिद्धको सफल प्रजनन र ३३ वटा बचेरा उड्न सफल हुनु जिल्लाको जैविक विविधता संरक्षणका दृष्टिले उल्लेखनीय उपलब्धिका रूपमा रहेको सूचना अधिकारी खड्काले बताए ।

    -----


    प्रकाशित : शुक्रबार, श्रावण ८ २०८३०९:३९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार