२०८३, कार्तिक १४ गते शनिबार

कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो


  • मेरोभ्यूज
  • श्रावण ८, २०८३ शुक्रबार

  • कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

     

    कैलाली । कैलालीको टीकापुर नगरपालिका र बर्दियाको राजापुर नगरपालिका जोड्ने दौलतपुरस्थित कर्णाली नदीमा झुलुङ्गे पुल निर्माण भएपछि आन्तरिक पर्यटकको घुइँचो बढेको छ ।

    केही दिनअघि मात्रै पुलको काम सम्पन्न भएर आवागमन सञ्चालन भएपछि कर्णाली नदी र आसपासका फाँटको सुन्दरता अवलोकन गर्न तथा गर्मी छल्न आउने आन्तरिक पर्यटकको घुइँचो बढेको हो ।

    “गर्मी बढी छ, साँझको समयमा शीतलताका लागि पुलको अवलोकन गर्न जान्छौँ”, टीकापुर-५ का किरण चौधरीले भने, “यहाँ सोचेभन्दा बढी सङ्ख्यामा आगन्तुकको घुइँचो हुँदोरहेछ ।”

    पुलमा तस्बिर लिन तथा श्रव्यदृश्य सामग्री बनाउनेलाई व्यावसायिक फोटोग्राफरका रूपमा सेवा दिँदै आएको उनले बताए । “पहिले टीकापुर पार्क, बर्दियाको इन्टेक क्षेत्रमा फोटोग्राफीको काम गर्दै आएका थियौँ”, बर्दियाका राजेश चौधरीले भने, “केही दिनदेखि यहाँ पुल अवलोकन गर्न आउने पर्यटकको आगमन बढेसँगै प्रशस्त आम्दानी पनि भइरहेको छ, अन्यत्र जानु परेको छैन ।”

    पुल बनेपछि आन्तरिक पर्यटकका लागि मात्र नभई कैलालीको टीकापुर र बर्दियाको राजापुरसँगको दूरी पनि नजिकिएको छ । पुल बनेपछि करिब २४ किलोमिटरको दूरी १५ किलोमिटरमा छोटिएको छ भने डुङ्गामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता सधैँका लागि हटेको छ ।

    “दुई जिल्लाको पर्यटकीय सम्भावनालाई जोड्नुका साथै स्थानीय नागरिकलाई आवागमनमा सहजता भएको छ”, स्थानीय प्रेमप्रसाद भण्डारीले भने, “पुलसँग नजिकै रहेको टीकापुर पार्कमा पनि आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा छ । यसले पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आयआर्जन वृद्धि हुने अपेक्षा छ ।” उनले पर्यटन प्रवर्द्धनसँगै टीकापुर र राजापुर क्षेत्रका नागरिकको दैनिक जीवन सहज हुने विश्वास व्यक्त गरे ।

    वि.सं. २०८४ असार ११ गतेसम्म समय पाएको थानी निर्माण सेवाले एक वर्षमा काम सम्पन्न गरेको जनाएको छ । वि.सं. २०८२ असार ११ गते सम्झौता भएको उक्त आयोजनाको काम सम्पन्न भई पुल सञ्चालन भएको निर्माण कम्पनीका प्रबन्धक विक्रम बस्नेतले जानकारी दिए । “पुलको काम सम्पन्न गरेर आवागमन सञ्चालन भइसकेको छ”, उनले भने, “अब हस्तान्तरणको तयारी पनि हुँदैछ ।”

    यही असार १२ गते पुल उद्घाटन गर्ने तयारी भए पनि विविध कारणले रोकिएको थियो । करिब रु १५ करोड ७३ लाख ९५ हजार ५२८ को लागतमा बनेको उक्त पुलको लम्बाइ ४८२ मिटर रहेको कम्पनीका प्रबन्धक बस्नेतले जानकारी दिए ।

    “आवाजावतको सहजतामा मात्र नभई कर्णाली नदीमा बनेको पुल पर्यटकको आकर्षण केन्द्र बन्न सक्ने सम्भावना छ”, स्थानीय सुन्दरलाल थारुले भने, “त्यसो हुँदा अन्य व्यावसायिक गतिविधि बढ्ने र स्थानीयको आम्दानीमा वृद्धि हुने अपेक्षा गर्न सकिन्छ ।”

    यसैगरी, कर्णाली नदीमा दुईवटा पुल निर्माण सम्पन्न भएका छन् । टीकापुर नगरपालिका हुँदै बर्दियाको गेरुवा गाउँपालिका जोड्ने सन्कट्टीस्थित कर्णाली नदीमाथि पनि पक्की पुल निर्माण सम्पन्न भएर आवागमन सञ्चालन भइसकेको छ ।

    -----


    प्रकाशित : शुक्रबार, श्रावण ८ २०८३०९:४१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार