२०८३, कार्तिक १४ गते शनिबार

रसुवागढी नाकाको मितेरी पुलबाट सवारी सञ्चालन

रसुवागढी नाकाको मितेरी पुलबाट सवारी सञ्चालन


  • मेरोभ्यूज
  • श्रावण ११, २०८३ सोमबार

  • रसुवागढी नाकाको मितेरी पुलबाट सवारी सञ्चालन

    रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका सवारीसाधन केरूङतर्फ आवतजावत गर्न थालेका छन् । चिनियाँ प्राविधिकले परीक्षण सम्पन्न गरेपछि चार दिनपछि रसुवागढी नाकाको मितेरी पुलबाट सवारीसाधन सञ्चालन हुन थालेको हो ।

    नेपालको उत्तरी नाका रसुवागढीमा रहेको मितेरी पुलबाट आवागमन दुई दिनका लागि रोकिने भनिएकामा पुल परीक्षण गरी चार दिनपछि सञ्चालनमा ल्याइएको हो । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले सिमेन्टको मेसिनरी पुल बगाएपछि तत्काल आवतजावतका लागि बेलीब्रिज निर्माण गरिएको थियो । उक्त बेलीब्रिज वर्षायामका लागि उपयुक्त छ कि छैन भन्ने परीक्षणका लागि चिनियाँ पक्षले सवारी सञ्चालनमा रोक लगाएको थियो ।

    पुलको सफलतापूर्वक परीक्षण सम्पन्न गरी सवारीसाधनको आवागमन हुन थालेको इलाका प्रहरी कार्यालय टिमुरेले जनाएको छ । पुलको परीक्षण गर्नुका साथै नटलाई पुनः कस्ने काम सम्पन्न गरेपछि सामान आयातका लागि २२ वटा कन्टेनरसहित साना तथा ठूला सवारीसाधन केरूङ प्रस्थान गरेका जिल्ला प्रहरी प्रमुख अशोक थापाले जानकारी दिए ।

    चीनबाट स्याउ, सुन्तला, अङ्गुर, ड्राइगनफ्रुट बोकेका सानाठूला ३३ वटा सवारीसाधन नेपाल भित्रिएका प्रहरी प्रमुख थापाले जानकारी दिए । पुलको क्षमतालाई मध्यनजर गर्दै १४ फिटभन्दा माथि उचाइ भएका सामान ल्याउने सवारीसाधन सञ्चालन गर्न नमिल्ने चिनियाँ प्राविधिकले बताएकाले सोहीअनुसार सचेत रहन सरोकार भएका सबैलाई उनले आग्रह गरे ।

    उनका अनुसार नेपाल र चीनतर्फका दुवै भागमा १४ फिट लामो डण्डी गाडिएको छ । सो डण्डीभन्दा अग्लो लोड गरी सामान ल्याउन वा लान नमिल्ने चिनियाँ प्राविधिकले सूचनामार्फत जानकारी दिएका छन् ।

    पुलबाट सवारीसाधन सञ्चालन हुन थालेसँगै सामग्री आयात सहज हुन थालेको प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले बताए । उनका अनुसार परीक्षणका लागि केही सवारीसाधन भन्सार हातामा पुगेका छन् ।

    -----


    प्रकाशित : सोमबार, श्रावण ११ २०८३०९:१०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार