२०८३, कार्तिक १४ गते शनिबार

आलुखेतीबाट आत्मनिर्भर बन्दै किसान

आलुखेतीबाट आत्मनिर्भर बन्दै किसान


  • मेरोभ्यूज
  • श्रावण १२, २०८३ मंगलबार

  • आलुखेतीबाट आत्मनिर्भर बन्दै किसान

     

    बैतडी । बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका–८ का किसान केशव विष्ट यस वर्ष आलु राम्रो फल्ने आशामा छन् ।

    वार्षिक आलुखेतीबाट आठदेखि दस लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका विष्ट उत्पादनसँगै आम्दानी पनि बढ्ने भएकाले दङ्ग छन् ।

    “समयमै पानी परेका कारण उत्पादन राम्रो हुने आशामा छौँ । खेतहरू आलुखेतीले हरियाली भएका छन्”, विष्टले भने, “हामीले आलुसँगै अन्य सिजनअनुसारका तरकारीखेती पनि गर्दै आएका छौँ ।”

    बैतडीको पाटन नगरपालिका–८, ९ र १० आलुखेतीका लागि पकेट क्षेत्र हुन् ।

    विष्टजस्तै यहाँका अधिकांश किसान आलुखेतीसँगै अन्य मौसमअनुसारका तरकारीखेतीबाट नै आत्मनिर्भर बन्दै गएका छन् ।

    बैतडीबाट मात्रै वार्षिक डेढदेखि दुई करोड रुपैयाँसम्मको आलु निर्यात हुने गरेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । यस वर्ष समय-समयमा पानी परेकाले विगतको तुलनामा २० प्रतिशतसम्म वृद्धि हुनसक्ने कृषि ज्ञान केन्द्रका प्रमुख हरिदत्त जोशीले जानकारी दिए ।

    आलुसँगै अन्य मौसमी तथा बेमौसमी तरकारीका लागि यो पकेट क्षेत्र भए तापनि शीतभण्डार र सिँचाइको अभावमा किसानले प्रत्येक वर्ष घाटा व्यहोर्दै आएका छन् । यस क्षेत्रमा एउटा शीतभण्डार छैन, आलुको बीउ राख्नका लागि यहाँबाट डडेल्धुरा लैजानुपर्ने बाध्यता रहेको किसानहरूले बताउँदै आएका छन् ।

    शीतभण्डार सञ्चालनमा नआउँदा मर्कामा किसान

    प्रदेश र सङ्घीय सरकारको लगानीमा पाटन–८ खोड्पे क्षेत्रमै बनेका दुई शीतभण्डारहरू वर्षौँदेखि प्रयोगविहीन छन् । वर्षाँदेखि अलपत्र अवस्थामा रहेको शीतभण्डार सञ्चालनमा नआउँदा कृषि उपजलाई सुरक्षित राख्न नपाएको र आलुको बीउसमेत राख्न समस्या हुने गरेको अर्का किसान नरबहादुर विष्ट बताउँछन् ।

    यस क्षेत्रमा बनेका शीतभण्डार पनि प्रयोगमा छैनन्, शीतभण्डार सञ्चालन गर्न सरोकरवाला निकायले चासो नदेखाएको उनको गुनासो छ ।

    पाटन नगरपालिका–८ खोडपेमा प्रदेश सरकारको सहयोगमा करिब ४२ लाख रुपैयाँ लागतमा बनेको शीतभण्डार सञ्चालनमा आएको छैन ।

    आर्थिक वर्ष २०७९/०८० मा प्रदेश सरकारको सहयोगमा निर्माण सम्पन्न भएको शीतभण्डार सञ्चालनमा आउन सकेको छैन ।

    शीतभण्डारका सञ्चालक मोहनदेव भट्टले प्रदेश सरकारको रु. १५ लाख अनुदानमा निर्माण गरेको भए पनि प्रयोगमा ल्याएका छैनन् ।

    शीतभण्डार निर्माणका क्रममा अनुदान पाएका भट्ट अहिले सम्पर्कमा नरहेको कृषि ज्ञान केन्द्रका प्रमुख जोशीले बताए ।

    त्यसैगरी, खोडपे क्षेत्रमै बनेको अर्का शीतभण्डारको काम सम्पन्न हुनसकेको छैन । साविकको नयाँ सहर आयोजनाको कार्यालयद्वारा ८४ लाख २९ हजार ८१ रूपैयाँ लागतमा बनेको शीतभण्डारमा विद्युत् जडान नहुँदा प्रयोगमा आउन सकेको छैन ।

    विद्युत् जडानसँगै केही प्राविधिक उपकरण जडानको काम बाँकी छ । उक्त शीतभण्डारमा विद्युत् जडानका लागि बजेट नआएकाले आगामी वर्षका लागि माग गरिएको नयाँ शहर आयोजनाको कार्यालय गाभिएको सघन शहरी तथा भवन निर्माण आयोजनाको कार्यालयका सूचना अधिकारी विशाल श्रेष्ठले जानकारी दिए ।

    -----


    प्रकाशित : मंगलबार, श्रावण १२ २०८३०८:५९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार