म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ लेकगाउँ संस्कृति र प्रकृतिको सङ्गम हो ।
समुद्र सतहदेखि दुई हजार मिटर उचाइको पहाडी पाखामा गुजमुज्ज परम्परागत शैलीका ढुङ्गे घरहरू रहेको लेकगाउँले ‘मगर सङ्ग्रहालय’ को पहिचान बनाएको हो । करिब एक सय परिवारको बसोबास रहेको लेकगाउँमा सबै मगर समुदायका मानिसहरू छन् ।
अन्नपूर्ण गाउँपालिका–४ का वडा सदस्य श्याम पुर्जाले सयौँ वर्षअघि स्थानीय सीपको प्रयोग गरेर निर्माण गरिएका मौलिक घरहरू भएको लेकगाउँमा परम्परागत मगर जीवनशैली र संस्कृति जीवित रहेकाले बस्तीलाई नै ‘मगर म्युजियम’ भनिएको बताए ।
“पुर्खाहरूले स्थानीय सीप र सामग्रीको प्रयोग गरेर बनाएका मौलिक ढुङ्गे घरहरू मात्र नभएर अर्मपर्म गरेर खेतीबाली लगाउने, घुम्ती गोठमा पशुपालन गर्ने, पुर्ख्यौली नाच नाच्ने, भूमि पूजा गर्ने पुरानो चलनले निरन्तरता पाएको छ,” उनले भने, “मगर समुदायको संस्कार, संस्कृति, कला र सीपको अध्ययन स्थलका रूपमा लेकगाउँलाई विकास गर्ने प्रयासमा छौँ ।”
संस्कृतिसँगै लेकगाउँ प्राकृतिकरूपमा सुन्दर र रमणीय छ । लेकगाउँको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण, नीलगिरि, मानापाथी र बराह शिखर हिमाल छन् । अन्नपूर्ण हिमालबाट हिउँपहिरो खसेको दृश्य नजिकबाट नियाल्न सकिन्छ ।
लेकगाउँको नजिकै समथर स्वाँराफाँट छ । स्वाँराफाँटमा स्थानीयवासीले खाद्यबाली खेती गर्छन् । हिउँदमा गाईभैँसी र भेडाबाख्राको घुम्ती गोठ राख्छन् ।
वनस्पतिविद् कमल मादेनको नेतृत्वमा केही वर्षअघि आएको टोलीले स्वाँराफाँट धेरै प्रजातिका चराहरूको बासस्थान र नजिकैको जङ्गलमा प्रशस्त जडीबुटी पाइने प्रतिवेदन सार्वजनिक गरेको थियो । खोप्रा लेकको फेदीमा रहेको लेकगाउँ हुँदै अन्नपूर्ण आधार शिविर पनि जान सकिन्छ ।
घोडेपानी, बयली, खोप्रा हुँदै नारच्याङ जोड्ने पदमार्ग रहेको छ । प्रचार-प्रसारको अभावमा पर्यटकहरूको आगमन हुन नसकेको वडा सदस्य पुर्जाले बताए । पर्यटकको सुविधाका लागि लेकगाउँमा रेष्टुरेन्ट र घरबास छन् ।
पर्यटकले चाहनाअनुसार होटल र घरबासमा बस्न सक्छन् । घुम्ती गोठमा पालिएका गाईभैँसी र भेडाबाख्रा अवलोकन गर्न पाइन्छ ।
लेकगाउँमा मगर संस्कार र जीवनशैलीको नजिकबाट अवलोकन गर्न पाइने गुल्मीबाट आउनुभएका होमनाथ पाण्डेले बताए ।
बेनी–जोमसोम सडकमा पर्ने भुरुङ्ग तातोपानी हुँदै लेकगाउँ जाने क्रममा नारच्याङ बेँसीमा रहेको नारच्याङ झरना अवलोकन गर्न सकिन्छ । भुरुङ्ग तातोपानीदेखि दुई घण्टा पैदल यात्रा र एक घण्टा गाडीको यात्रा गरेपछि लेकगाउँ पुगिन्छ । लेकगाउँबाट नारच्याङमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् आयोजनाहरूको अवलोकन गर्न सकिन्छ ।
अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले लेकगाउँ हुँदै खोप्रा र अन्नपूर्ण आधार शिविर जाने बाटोमा पर्ने बासबोटलाई पदमार्गले जोडिएको बताए ।
पूर्वाधार निर्माणसँगै लेकगाउँको संस्कृति र प्राकृतिक सौन्दर्यको प्रचार-प्रसार गरी पर्यटक भित्र्याउने, विदेशिएका र बजार गएकाहरूलाई गाउँ फर्काउने प्रयासमा रहेको उनले बताए ।

