म्याग्दी । जिल्लाको उत्तर–पूर्वी भू-भागमा फैलिएको रघुगङ्गा गाउँपालिका प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गमका रूपमा रहेको छ । प्राकृतिक सुन्दरता र भौगोलिक विविधताले भरिपूर्ण यस गाउँपालिका मौलिक कला, संस्कृति, धार्मिक तथा ऐतिहासिक धरोहरले धनी छ ।
पवित्र कालीगण्डकी नदीको तीरदेखि विश्वको सातौँ अग्लो धौलागिरि हिमाल (८,१६७ मिटर)को पूर्वी मोहोडासम्म फैलिएको यहाँको मनोरम भूगोलले जो कोहीलाई पनि मन्त्रमुग्ध बनाउँछ ।
राहुघाट र कालीगण्डकी नदीको सङ्गमस्थलदेखि धौलागिरि आइसफल आधार शिविरसम्म फैलिएको रघुगङ्गाको नाम पनि धौलागिरिको काखबाट बग्ने रघुगङ्गा नदीबाट रहन गएको हो ।
मगर, छन्त्याल, थकाली, ठकुरी, बाहुन, क्षेत्री, दलितलगायत विभिन्न समुदायको सहअस्तित्वले यहाँको सामाजिक संरचना जीवन्त बनेको छ ।
विविधतायुक्त संस्कृति, चालचलन र परम्पराले रघुगङ्गालाई केवल एउटा भूगोलको गाउँपालिका नभइ जीवित सांस्कृतिक सङ्ग्रहालय बनाएको छ ।
रघुगङ्गाको परिचय केवल पहाड र हिमालसँग मात्र सीमित छैन । यहाँका वनजङ्गल, झरना, तालतलैया, नदी, हरिया डाँडाकाँडा र गुराँसले ढाकिएका पहाडहरूले पर्यटकलाई आकर्षित गरिरहेका छन् । धौलागिरि आइसफल पदमार्ग, धौलागिरि सेन्चुरी पदमार्ग र टोड्के–धौलागिरि प्यानोरमा पदमार्ग यस क्षेत्रका प्रमुख पर्यटकीय मार्ग हुन् । यी पदमार्गले पर्यटकलाई हिमालको फेदीसम्म पुर्याउँदै प्राकृतिक सौन्दर्यको अद्भुत अनुभूति दिलाउँछन् ।
जिल्ला सदरमुकाम बेनीदेखि मुस्ताङ जोड्ने परम्परागत पदमार्ग सडक निर्माणसँगै विस्थापित बनेको अवस्थामा रघुगङ्गा मुस्ताङलाई ‘ट्रेकिङ ट्रेल’मार्फत जोड्ने ट्रान्जिटका रूपमा रहेको छ ।
यस गाउँपालिकाबाट शुरु हुने सेन्चुरी र प्यानोरमा ट्रेकसमेत समेटिने आइसफल पदमार्ग मुस्ताङको लेतेसँग जोडिने भएकाले यस क्षेत्रमा पूर्वाधार विकास गर्नुपर्ने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।
“रघुगङ्गामा पर्यटन विकासको सम्भावना अथाह छ, छोटो र लामो दूरीमा क्याम्पिङ ट्रेकिङ नै गर्न सकिने ठाउँहरू पनि प्रशस्त छन्, तर त्यसका लागि पदमार्ग, पर्यटन सूचना बोर्ड, सङ्केत पोल, खानेपानी, आश्रयस्थल, सञ्चारलगायत अत्यावश्यक पूर्वाधार बनाउनुपर्छ,” उनले भने ।
टोड्के–धौलागिरि प्यानोरमा र सेन्चुरी पदमार्ग आइसफल पदमार्गमै जोडिने भएकाले धौलागिरि आइसफल पदमार्गका पर्यटकीय गन्तव्यहरूलाई समेटेर नक्साङ्कन गर्ने र विस्तृत अध्ययन प्रतिवेदनका आधारमा पूर्वाधार बनाउन जरुरी रहेको उनको भनाइ छ ।
टोड्के–धौलागिरि प्यानोरमा ट्रेक पर्यटकीयस्थल टोड्केबाट मालिकाधुरी, ठाडाखानी, कुइनेखानी, चौरखानी भएर घ्याँसीखर्क तथा धौलागिरि सेन्चुरी पदमार्ग झीँ, पाखापानी, कोटगाउँ, रायखोर, मूलपानी हुँदै घ्याँसीखर्कमा आइसफल पदमार्गमा जोडिएको छ ।
घ्याँसीखर्क हुँदै आइसफल आधार शिविर भएर कालीबराह ताल पुगेर मुस्ताङको लेते जोडिएको छ भने अर्कोतर्फ गायत्री मन्दिर, पिप्ले, भगवती, रुइसे, भेडिओडार, मुटुकाटे, सोवाङधुरी हुँदै आधार शिविर पुग्ने धौलागिरि आइसफल पदमार्गको पहिचान भएको छ ।
पाँच दिनदेखि दुई सातासम्मको लामो र छोटो दूरीमा पदयात्रा गर्न सकिने विकल्पसहित पहिचान भएको धौलागिरि आइसफल पदमार्गले रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुइनेमङ्गले अन्नपूर्ण गाउँपालिकाको दोबा, भुरुङ, दानालगायत ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ ।
विक्रम संवत् २०६८ मा पहिलो पटक सम्भाव्यता अध्ययन गरिएको धौलागिरि आइसफल पदमार्गको पूर्वाधार विकास र प्रवर्द्धनका लागि रघुगङ्गा गाउँपालिकाले विस्तृत आयोजना प्रतिवेदन (डीपिआर) तयार गरिसकेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए ।
धौलागिरि हिमालको आधार शिविरलाई समेटिएको एक सय ८२ किलोमिटर लामो आइसफल पदमार्गको डिपिआर तयार गरी सङ्घीय र प्रदेश सरकारमार्फत पूर्वाधार बनाउन पहल थालिएको गाउँपालिकाका अध्यक्ष भण्डारीले जानकारी दिए ।
उनका अनुसार चिमखोला–घ्याँसीखर्क हुँदै आइसफल आधार शिविर पुग्ने पदमार्गमा पर्यटन मन्त्रालयमार्फत पदमार्ग निर्माण भए पनि कोखेभिर र धौलागिरि हिल भ्यू- पोइन्ट पहाडमा अझै पदमार्ग बन्न सकेको छैन ।
आधार शिविरदेखि कालीबराह हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरेटोबाटो र भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पहिचान गरिएको बाटोमा सिँढी चिनेर पदमार्गलाई स्तरोन्नती गर्नुपर्ने काम बाँकी रहेको छ ।
धौलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनौँ हिमाललाई नजिकबाट अवलोकन गर्न सकिने यस पदमार्गमा डाँफे, मुनाल, कालिज, कस्तुरी, झारल, नाउर, घोरल, थार, रतुवा, हिमचितुवालगायत जङ्गली पशुपक्षी र बासस्थानलाई समेत प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।
यस पदमार्गमा हिमालको हिउँ खसेको दृश्य (आइसफल)सँगै कालिबराह, लाटीबराह, निली बराह, सेती बराह र पहेँलीबराह ताल थप आकर्षणका रूपमा रहेका छन् ।
कुमारी पदमार्गका रूपमा रहेको धौलागिरि आइसफल पदमार्गलाई सञ्चालनमा ल्याउन सकेमा यसले रघुगङ्गासँगै म्याग्दी र मुस्ताङको पर्यटन विकासमा नयाँ आयाम सिर्जना गर्ने रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका वडाध्यक्ष थकबहादुर पाइजाले बताए ।
यस गाउँपालिकामा लामो दूरीका ट्रेकिङ ट्रेलका अलावा रुइसे, भेडिओडार, सोवाङधुरी, टोड्के, मालिका धुरी, रिखार, नांगीडाँडा, नेपालकै लामो पुलहरूको सूचीमा पर्ने बेग–बाँदुक जोड्ने पुललगायत छोटो दूरीमा रहेका पर्यटकीय गन्तव्यको पर्यटन विकास र प्रचार-प्रसारमा समेत जोड दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले बताए ।
“गाउँपालिकाले पदमार्ग, भ्यू-टावर, आश्रयस्थल, पार्कलगायत पर्यटन पूर्वाधार बनाउने काम गर्दै आएको छ, पहिचान भएका गन्तव्यको प्रचार-प्रसार र प्रवर्द्धनको अभियानमा पनि गाउँपालिका जुटिसकेको छ, पर्यटनमार्फत रघुगङ्गाको समृद्धिमा अथाह सम्भावना छ,” उनले भने ।
यस वर्ष धार्मिक पर्यटकीयस्थल मालिका धुरी र रिखार जाने पदमार्ग निर्माण भएको छ ।
यस गाउँपालिकाको वडा नम्बर ४ दर्मिजामा रहेको तातोपानीको कुण्ड प्राकृतिक चिकित्सालयका रूपमा परिचित छ ।
धौलागिरि हिमशृङ्खलाको फेदीमा वडा नम्बर ८ मा अवस्थित रिखार धार्मिक र प्राकृतिक पर्यटनको दुर्लभ सङ्गम हो ।
करिब चार हजार छ सय मिटर उचाइमा रहेको यस पवित्र स्थलमा हरेक वर्ष हजारौँ श्रद्धालु पुग्ने गर्छन् ।
तालमा रहेको डुङ्गा आकारको ढुङ्गामा बनेको मन्दिरले यस क्षेत्रको सौन्दर्यलाई अझ विशिष्ट बनाएको छ ।
जनैपूर्णिमा पर्वमा विशेष पूजाआजा हुने रिखारलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ ।
गायत्री मन्दिर, टोड्केको स्वर्गाश्रम, बेगको धौलेश्वर महादेव, भगवती कोत, नौलीबराह, नांगीदेवी, मालिका धुरी, मण्डली थान, कमलजैसी थानलगायत धार्मिकस्थलहरूले रघुगङ्गाको आध्यात्मिक पहिचानलाई बलियो बनाएका छन् ।
मुक्तिनाथ जाने पुरानो पदमार्गको प्रवेशद्वारका रूपमा रहेको गायत्री मन्दिरमा परापूर्वकालमा ऋषिहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको मान्यता छ । यस क्षेत्रमा कलात्मक र पौराणिक किसिमका मठ-मन्दिर छन् भने ध्यानआश्रमका लागि यो ठाउँ उपयुक्त मानिन्छ ।
त्यस्तै, भगवती कोत म्याग्दीकै पुराना कोतमन्दिरमध्ये एक मानिन्छ । भगवती कोतले यस क्षेत्रको ऐतिहासिक विरासतलाई प्रतिबिम्बित गरेको छ ।
सत्रौँ शताब्दीको विरासतसँग जोडिएको भगवती कोत मन्दिर धार्मिक पर्यटकीयस्थलका रूपमा चिनिन्छ ।
अहिले निकै चर्चामा रहेको पर्यटकीयस्थल रुइसे तत्कालीन बाइसे-चौबिसे राज्यको पालामा शासन चलाएको ऐतिहासिक ठाउँका रूपमा पनि परिचित छ ।
यहाँ तत्कालीन राजाले बनाएको दरबारको भग्नावशेष, आराम गर्ने ढुङ्गा, तत्कालीन समयमा प्रयोग गरेका पानीका कुवा, हात्ती बाँध्ने ठाउँलगायत प्रमाणहरू अझै भेटिन्छन् ।
वडा नम्बर ३ को रानीपौवा ऐतिहासिकस्थल हो । विक्रम संवत् १८६३ मा तत्कालीन श्री माइली महारानी सुवर्ण प्रभा देवी शाह मुक्तिनाथको तीर्थयात्रा गर्न आउँदा तीर्थयात्रीको सहज बसोबासका लागि पिप्लेको रानीपौवामा पौवा निर्माण गरिएको थियो ।
दोस्रो विश्वयुद्धमा बेलायतको सर्वोच्च सैन्य पदक भिक्टोरिया क्रस प्राप्त गर्ने रघुगङ्गा गाउँपालिका–१ बादुँकका दिवङ्गत तुलबहादुर पुनको नामले यस गाउँपालिकाको चिनारीलाई अन्तरराष्ट्रियस्तरमा समेत चिनाएको छ । गाउँपालिकाले पुनको नाममा सङ्ग्रहालय बनाउने योजना अघि सारेको छ ।
मौलिक कला र संस्कृतिको आकर्षण
रघुगङ्गाको अर्को परिचय मौलिक कला र संस्कृति हो । यहाँका थालीनाच, पुर्ख्यौली नाच, सोरठी, मादले मारुनी, यानीमाया, सिरफुले, साइलो भाका, सेदो भाका, रत्यौली, नौमती पञ्चेबाजा र भजन–कीर्तनले मौलिक कला र संस्कृतिलाई जीवन्त बनाएका छन् ।
विशेषगरी वडा नम्बर ७ चिमखोला थालीनाचको उद्गमस्थलका रूपमा परिचित छ । मौलिक नृत्यका रूपमा रहेको थाली नाच अहिले नेपालमा मात्र नभइ विश्वका विभिन्न देशमा लोकप्रिय बनेको छ ।
थाली नाचकी सर्जक चिमखोलामा जन्मेकी हिरामाया श्रीषको जीवित इतिहासका रूपमा रहेको छ ।
थाली नाच, पुर्खौलीलगायत मौलिक कला र संस्कृतिमा धनी मानिएको चिमखोलालाई गाउँपालिकाले सांस्कृतिक गाउँ घोषणा गरेर यसको संरक्षण र प्रवर्द्धनमा विशेष ध्यान दिएको छ ।
दग्नामको भूमेपूजामा हुने लिङ्गो जुधाउने परम्परा रघुगङ्गाको अर्को अनौठो सांस्कृतिक सम्पदा हो । करिब चार सय वर्ष पुरानो इतिहास बोकेको यो परम्परा प्रकृतिपूजासँग जोडिएको छ र अहिले पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।
मगर समुदायको बाहुल्य बसोबास रहेका बाँदुक, बेग, दग्नाम, दर्मिजा, झीँ, पाखापानी, चिमखोलालगायतका ठाउँमा प्रकृति पूजाका रूपमा भूमेपूजालाई उत्सवका रूपमा मनाउने गरिन्छ । यस क्षेत्रमा भूमेपूजाले आन्तरिक पर्यटन प्रवर्द्धनको माध्यम बन्ने गरेको छ ।
म्याग्दीमा छन्त्याल समुदायको उद्गम थलोका रूपमा रहेको झिङखानी ऐतिहासिक थलोका रूपमा चिनिन्छ ।
आफ्नो पुर्खाहरूको उद्गम थलोमा रहेको झिङखानी भूमेथान यहाँका स्थानीयवासीको धार्मिक आस्थाको धरोहरका रूपमा रहेको छ ।
कुइनेमङ्गले, चिमखोला, पाखापानी, बेग, दग्नामलगायतका क्षेत्रमा गरिने परम्परागत भिर मह शिकार साहसिक पर्यटनको महत्त्वपूर्ण आधार हो । अग्ला चट्टानमा झुन्डिएर गरिने मह शिकारले विदेशी पर्यटकलाई विशेष आकर्षित गर्ने गरेको छ ।
यसलाई स्थानीय जीवनशैली, साहस र परम्पराको अनुपम मिश्रणका रूपमा हेरिन्छ । यसका अतिरिक्त विभिन्न बस्तीमा रहेका तामा खानी, घुम्ती गोठ, भेडाबाख्रा पालन, जडीबुटी सङ्कलन र हिमाली जनजीवनको अध्ययन पनि रघुगङ्गामा पर्यटन विकासका नयाँ सम्भावनाहरू हुन् ।
पर्यटन विकाससँगै गाउँपालिकाले स्थानीय आयआर्जन वृद्धि र जीवनस्तर सुधारलाई प्राथमिकता दिएको छ । झीँ रायखोर, मौवाफाँट र रानीपौवामा घरबासहरू सञ्चालनमा आएका छन् ।
यी घरबासहरूलाई व्यवस्थित बनाउँदै पर्यटकलाई स्थानीय खानपान, संस्कृति र जीवनशैलीसँग प्रत्यक्ष परिचित गराउन सकेमा यसले यहाँका स्थानीयको आयआर्जन वृद्धि गर्न सहयोग पुर्याउनेछ ।
घरबासमा पुग्ने पाहुनाहरूलाई स्थानीय कला–संस्कृतिको प्रस्तुति गराउनुका साथै अर्गानिक कृषि उत्पादनबाट तयार गरिएका परिकारहरू खुवाउने परम्पराले पर्यटनलाई स्थानीय अर्थतन्त्रसँग जोड्नेछ ।

