२०८३, कार्तिक १४ गते शनिबार

घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज

घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज


  • मेरोभ्यूज
  • श्रावण १२, २०८३ मंगलबार

  • घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज

     

    मुस्ताङ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक योजना’ अन्तर्गत यहाँको घरपझोङ गाउँपालिकामा चक्रपथ निर्माण सम्पन्न भएको छ । उक्त सडक आयोजना सात वर्षमा निर्माण सम्पन्न भएसँगै आवागमन सहज भएको स्थानीयले बताएका छन् ।

    पूर्वाधार विकास कार्यालय मुस्ताङबाट कार्यान्वयनमा आएको चक्रपथ सडक सदरमुकाम जोमसोम, ठिनी, ढुम्बा, छैरो, मार्फा हुँदै पुनः जोमसोम जोड्ने १० दशमलव ५ किलोमिटर हालै निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुरेश पाण्डेले बताए ।

    वि.सं. २०७६ असार २६ गते ठेक्का सम्झौता भएको थियो । कोभिड महामारी, हिमपात, प्रतिकूल मौसम र निर्माण कम्पनीको ढिलासुस्ती लगायतका कारणले काम समयमै सम्पन्न हुन नसकेको उनले उल्लेख गरे ।

    सुरुवाती ठेक्का सम्झौता अवधि डेढ वर्ष तोकिए पनि पटकपटक म्याद थप गरी सात वर्षमा निर्माण सम्पन्न भएको हो । इन्जिनियर पाण्डेका अनुसार उक्त चक्रपथ रु २१ करोड ३५ लाख ६१ हजार लागतमा बन्दन भगवती जलजला जेभी कन्स्ट्रक्सनले निर्माण गरेको हो । १० दशमलव ५ किलोमिटरमध्ये ५ दशमलव ५ किलोमिटर सडक ‘प्रिमिक्स’ प्रविधिबाट कालोपत्र गरिएको र बाँकी ग्राभेल गरिएको उनले बताए ।

    यसैबीच, निर्माण कम्पनीले ट्राफिक सङ्केतका चिह्न अङ्कित खम्बा गाड्ने, नाली सफा गर्ने र सडकको जोखिमयुक्त स्थानमा सवारी दुर्घटना न्यूनीकरणका लागि बार लगाउने लगायतका कार्य सम्पन्न भइसकेको इन्जिनियर पाण्डेले जानकारी दिए ।

    राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकलाई जोड्ने गरी घरपझोङ गाउँपालिकास्थित कालीगण्डकी पारिका ओझेलमा परेका गाउँहरू जोड्ने गरी चक्रपथ निर्माण गरिएको पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ ।

    घरपझोङ गाउँपालिकाका पाँच वटै वडा जोड्ने चक्रपथ निर्माणले स्थानीय नागरिकलाई सदरमुकाम जोमसोम आउन जान सहज भएको घरपझोङ-५ का वडाध्यक्ष प्रदीप थकालीले बताए । उनका अनुसार यसअघि कालीगण्डकी पारिका गाउँमा सडकको पहुँच नहुँदा उत्पादित कृषि उपजको बजारीकरणमा समस्या आएको थियो ।

    यसैगरी घरपझोङ चक्रपथ सडकअन्तर्गत जोमसोमबाट ढुम्बातालसम्म कालोपत्र विस्तार गरिएपछि मुक्तिनाथ दर्शन गरी फर्किएका पर्यटकलाई आवागमनमा सहज भएको वडाध्यक्ष थकालीले बताए । “सडक स्तरोन्नतिसँगै मुक्तिनाथ हुँदै ढुम्बातालको अवलोकन गर्न आएका पर्यटकका लागि यातायातको सुविधा विस्तार भएको छ । यसले पर्यटन प्रवर्द्धन गर्ने विश्वास छ”, उनले भने ।

    -----


    प्रकाशित : मंगलबार, श्रावण १२ २०८३१०:१६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार