बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आयआर्जनसँग जोड्न स्याउ खेती विस्तार गरेको छ ।
गाउँपालिकाले २४ रोपनी सार्वजनिक जग्गामा रु. ४० लाख खर्च गरेर स्याउ बगैँचा निर्माण गरेको हो ।
गाउँपालिकाले जग्गाको संरक्षण, तारबार र थोपा सिँचाइ प्रविधिसहित एक हजार चार सय स्याउका बिरुवा हुर्काइरहेको छ ।
गाउँपालिका–४ स्थित गोरदी र बयलीमा सार्वजनिक जग्गाको झाडी फाँडेर स्याउ खेती विस्तार गरेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए ।
“गाउँपालिकाले वडा कार्यालयको संरक्षणमा स्याउ बगैँचा विस्तार गरेको र अहिले स्याउका एक हजार चार सय बिरुवा एक वर्षदेखि हुर्किरहेका छन्,” अध्यक्ष बुढाले भने, “चारदेखि पाँच वर्षमा स्याउ फल्ने गरी मुस्ताङबाट बिरुवा लिएर एक वर्षअघि लगाइएको छ । गाउँपालिकाले स्याउको प्रतिफल दिन थालेपछि स्थानीयलाई हस्तान्तरण गर्ने योजना छ, गाउँपालिकाले कार्यविधि बनाउँछ ।”
पालिकाले गरेको लगानीको प्रतिफल उठाउने र समुदायमा संरक्षणका लागि स्याउ बगैँचा हस्तान्तरण गर्ने गरी अहिले वडा कार्यालयले स्याउ बगैँचा विस्तार र संरक्षणको काम गरिरहेको छ ।
गाउँपालिकाको ठूलो लगानीमा खेर गएको सार्वजनिक जग्गा सदुपयोग गर्दै कृषिलाई पर्यटनसँग जोड्ने गरी काम गरिरहेको तमानखोला गाउँपालिका–४ का अध्यक्ष छ प्रसाद श्रीपालीले जानकारी दिए ।
“गाउँपालिकाले उत्पादनको नीति ल्याएको हो, उत्पादनमा नजोडिने हो भने गाउँको जमिन खाली हुन्छ । हामीले खेर गएको सार्वजनिक जग्गा व्यवस्थापन गरेर सिँचाइसहितको स्याउ बगैँचा स्थापना गरेको हो,” श्रीपालीले भने, “चौबिस रोपनी जग्गामा एकसाथ स्याउ फल्दा कृषिमा जोडेर पर्यटनको समेत विकास गर्ने र बयलीमा स्याउ बगैँचाका बीचमा रिसोर्ट बनाउने योजना छ ।”
गोरदीमा रु. सात लाख र बयलीमा रु. ३३ लाख खर्च गरेर तारबार र सिँचाइसहितको स्याउ बगैँचा स्थापना गरिएको हो । सार्वजनिक जग्गालाई तारबार गरेर बिरुवा लगाउँदा संरक्षण भएको र उत्पादन खेर जाने समस्या अन्त्य हुने विश्वास गरिएको छ ।
मुस्ताङबाट पाँच वर्षभित्रै फल्ने गाला र गोल्डेन जातको स्याउको बिरुवा सम्भाव्यता अध्ययन गरेपछि लगाइएको गाउँपालिकाका कृषि प्राविधिक विधान बगालेले जानकारी दिए ।
समुद्र सतहदेखि दुई हजार तीन सय मिटरको उचाइमा चिसो मौसममा स्याउ राम्रो फल्ने सम्भावना रहेको बगालेको भनाइ छ । स्याउले उत्पादन राम्रो दिएमा पर्यटनलाई लक्षित गरेर घरबास र रिसोर्टलगायतको पूर्वाधारमा पालिकाले थप लगानी गर्ने योजना बनाएको छ ।

