२०८३, कार्तिक १४ गते शनिबार

वनफूलले सिँगारिएको ढोरपाटन

वनफूलले सिँगारिएको ढोरपाटन


  • मेरोभ्यूज
  • श्रावण १५, २०८३ शुक्रबार

  • वनफूलले सिँगारिएको ढोरपाटन

     

    बागलुङ । समथर मैदानमा फुलेका थरिथरिका फूल । कतै राता, कतै पहेँला, गुलाबी त कतै बैजनी रङका फूलले यतिबेला यो ढोरपाटन उपत्यका चिटिक्क सिँगारिएको छ । चारैतिर अग्ला पहाडले घेरिएको उपत्यका बर्खायाममा निकै मनमोहक देखिन्छ । फूलैफूलले ढाकिएको ढोरपाटनसँग साइनो गाँस्न दिनहुँ आन्तरिक पर्यटक ढोरपाटन आउने गरेका छन् ।

    नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र पर्ने ढोरपाटनमा पछिल्लो तीन वर्षयता वनफूलले पर्यटकलाई थप आकर्षित गर्न थालेको छ । वि.सं. २०७५ सम्म ढोरपाटनमा पर्यटकको आगमन न्यून थियो । घुम्न आउनेभन्दा पनि ढोर बराह मन्दिरमा पूजा गर्न आउने दर्शनार्थीबाहेक अन्य पर्यटकको खासै उपस्थिति थिएन । जब सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रचारप्रसार हुन थाल्यो, तब ढोरपाटनमा पर्यटकको घुइँचो नै लाग्न थाल्यो ।

    बर्खा लागेसँगै देशका धेरै पर्यटकीय क्षेत्र सुनसान बन्दैछन्, तर ढोरपाटनमा भने पर्यटकको भीडभाड बढ्न थालेको छ । बर्खाको समयमा ढोरपाटन अरू बेलाभन्दा बढी रमणीय देखिने हुँदा यो सिजनमा पर्यटक बढी आउने गरेका हुन् । दैनिक २०० बढी पर्यटक ढोरपाटन आउने गरेको होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले जानकारी दिए । ढोरपाटनमा पर्यटकको चाप बढेपछि होटल व्यवसाय पनि फस्टाउन थालेको उनको भनाइ छ ।

    अध्यक्ष पुनले भने, “पहिला पनि ढोरपाटन उपत्यकामा अत्यधिक मात्रामा फूलहरू फुल्थे तर प्रचारप्रसार नहुँदा पर्यटक आउन सकेका थिएनन्, अहिले मिडिया र सामाजिक सञ्जालमा फोटो भिडियो आउँदा पर्यटकको आकर्षण बढेको छ, एक दशक अगाडि त ढोरपाटनमा पर्यटक खासै आउँदैनथे, यहाँका स्थानीय पनि घुम्ती बसाइमा मात्र बस्ने गर्थे ।”

    स्थानीयले राके फूलका रूपमा चिन्ने वनफूललाई ढोरपाटन शिकार आरक्षले नाकेफुली, बुकीफूल, मदानेफूललगायतको नाम दिएको छ । देशका ठूला सहर काठमाडौँ, नेपालगन्ज, पोखरा, भैरहवा, चितवनबाट बढी पर्यटक रमाउन आउने गरेका छन् । वनफूल पाटनैभरि फुल्छ । फूलमा घोडा, भेडाबाख्रा र गाईभैँसी खुलेमा चर्ने गर्छन् । पशुचौपायाको गोबरले वनफूल राम्रो हुने गर्छ ।

    चितवनको माडीका महेश थापाले सामाजिक सञ्जालमा भाइरल भएका तस्बिर र भिडियो देखेर ढोरपाटन घुम्न आएको बताए । गत वर्षदेखि नै ढोरपाटन घुम्न आउने योजना बनाएको भन्दै यसपालि १३ जनाको समूह वनफूल हेर्न आएको उनले सुनाए । चारैतिर फुलेका वनफूल र यहाँको वातावरण निकै मनोरम लागेको थापाको भनाइ छ ।

    दाङको तुल्सीपुरबाट आएका कुलेन्द्र पनेरुले ढोरपाटन आउँदा मन फुरुङ्ग भएको बताए । दाङमा यतिबेला निकै गर्मी रहेको भन्दै ढोरपाटनमा भने निकै चिसो मौसम रहेको सुनाए । यहाँको प्राकृतिक सुन्दरता र हावापानीका बारेमा प्रचार गर्न सके विदेशी पर्यटकलाई सहज रूपमा ल्याउन सकिने उनको भनाइ छ । ढोरपाटनसम्म आउने सडकको केही स्थानमा अप्ठ्यारो हुँदा सास्ती खेप्नुपरेको पनेरुले दुःखेसो पोखे ।

    बुर्तिबाङदेखि ढोरपाटनसम्म करिब ३२ किलोमिटर कच्ची सडक यात्रा गर्नुपर्छ । अहिले बुर्तिबाङ बजारदेखि फल्लेघरसम्मको सडक ग्राभेल भए पनि त्यसभन्दा माथिको खण्डको दुरावस्था छ । जसका कारण पर्यटकले सास्ती खेप्नुपरेको छ ।

    ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले फल्लेघरभन्दा माथिको अप्ठ्यारो सडकलाई व्यवस्थित गर्ने बताए । अहिले कालोपत्र गर्नका लागि सडक फराकिलो बनाउने काम भइरहेको हुँदा केही स्थानमा हिलाम्मे बनेको भन्दै पर्यटकको यात्रालाई सहज बनाउन गेग्रेटा हालेर व्यवस्थित बनाउने उनको भनाइ छ । ढोरपाटनमा आउने सङ्ख्या बढेपछि आफूहरू उत्साहित भएको कायत बताउँछन् ।

    -----


    प्रकाशित : शुक्रबार, श्रावण १५ २०८३१०:१८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार