२०८३, कार्तिक १४ गते शनिबार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नती

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नती


  • मेरोभ्यूज
  • श्रावण २०, २०८३ बुधबार

  • ढोरपाटन–निसेलढोर सडक स्तरोन्नती

     

    बागलुङ । बागलुङ निसीखोला गाउँपालिका–५ निसेलढोर जोड्ने सडक कालोपत्र गरिएको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकार र निसीखोला गाउँपालिकाले विनियोजन गरेको रु. ७२ लाख लागतमा छ किलोमिटर सडक स्तरोन्नती गरिएको हो ।

    नेपालको एक मात्र ढोरपाटन शिकार आरक्ष कार्यालयदेखि पश्चिममा रहेको निसेलढोर पर्यटकीय गन्तव्यका रूपमा प्रसिद्ध छ ।

    गण्डकी प्रदेश सरकारको रु. ६० लाख र गाउँपालिकाको रु. १२ लाखमा सडक स्तरोन्नती गरिएको निसीखोला गाउँपालिकाका सूचना अधिकारी डिलाराम बाँडा मगरले जानकारी दिए ।

    बागलुङ जिल्लाकै सबैभन्दा विकट मानिने निसेलढोर छ वर्षअघि मात्रै मोटरबाटोले जोडिएको थियो । यस वर्ष सडक फराकिलो, नाली निर्माण र केही ठाउँमा ग्राभेलिङको काम गरिएको उनले बताए ।

    आर्थिक वर्ष २०७६/०७७ मा ढोरपाटनदेखि निसेलढोर जोडिएको थियो ।

    ढोरपाटन नगरपालिका–९ को नवी, भुजी हुँदै मसखोलासम्म सडक राम्रो भए पनि त्यसभन्दा माथि सडक भासिने र हिलो हुने हुँदा गाडी नै गुड्न नसक्ने अवस्था थियो । एमएस टीएएस इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सले गत कात्तिक १२ गते जिम्मा पाएको र वैशाख अन्तिम साता काम सकेको बाँठा मगरले बताए ।

    उनले भने, “सडक स्तरोन्नतिको काम जेठ अन्तिम साता सक्नुपर्ने म्याद थियो, तर निर्माण कम्पनीले वैशाखमै काम सक्यो । यहाँको सडक धेरै साँघुरो र अप्ठ्यारो हुँदा यात्रा गर्न कठिन थियो, अहिले सहज भएको छ । अब यो सडकमा बाह्रै महिना गाडी सञ्चालन हुन समस्या छैन ।”

    सडक साँघुरो र अप्ठ्यारो हुँदा निसेलढोरमा बर्खाको करिब पाँच महिना सडक ठप्प हुँदै आएको थियो । सडक स्तरोन्नती भएपछि स्थानीय खुसी भएका छन् ।

    स्थानीय सम्झना रसाइलीले बर्खामा यातायात सञ्चालन नहुने हुँदा जेठमै पाँच महिनाका लागि खाद्यान्न ढुवानी गर्दै आएको भन्दै अब त्यो समस्या हट्ने आशा पलाएको बताए । अहिले गाउँसम्मकै सडक फराकिलो र व्यवस्थित बनेको उनको भनाइ छ ।

    “गाउँमा आउने सडक निकै अप्ठ्यारो हुँदा यहाँका जनताले धेरै दुःख पाएका थिएँ, अब त बर्खामा पनि गाडी चल्ने भयो,” उनले भने, “सडक खुलेदेखि अहिलेसम्म बर्खायाममा गाडी चल्न सकेको थिएन, यसपालि त सरकारले बाटो राम्रो बनाए, गाडी आउला भन्ने लागेको छ ।”

    एक दशकअघिसम्म यहाँ बर्खाको समयमा मात्रै निसीबाट वस्तुभाउ लिएर बस्ने स्थानीय अहिले बाह्रै महिना निसेलढोरमा बस्न थालेका छन् । अहिले बर्खामा तीन सय र हिउँदमा झन्डै एक सय ५० घरपरिवार निसेलढोरमा बसोबास गर्छन् ।

    निसेलढोरमा आलु, स्याउ र सिमीलगायत कृषिजन्य उत्पादन राम्रो हुने तर सडकको दुरावस्थाका कारण बजारीकरणमा समस्या थियो । अब सहज हुने स्थानीय कुमबहादुर घर्तीले बताए ।

    सडकको दुरावस्थाका कारण अहिलेसम्म स्थानीय उत्पादन बजारीकरण गर्न सकिएको छैन ।


    प्रकाशित : बुधबार, श्रावण २० २०८३०४:१२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार