२०८३, कार्तिक १३ गते शुक्रबार

शिक्षामन्त्रीद्वारा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसीको शपथ

शिक्षामन्त्रीद्वारा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसीको शपथ


  • मेरोभ्यूज
  • श्रावण २३, २०८३ शनिबार

  • शिक्षामन्त्रीद्वारा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसीको शपथ

     

    काठमाडौँ । शिक्षा तथा खेलकूदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा. डा. खड्गबहादुर केसीलाई पद तथा गोपनीयताको शपथ गराएको छ ।

    शिक्षा तथा खेलकूद मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले अध्यक्ष केसीलाई शपथ गराएको हो । त्यसपछि मन्त्रीको उपस्थितिमा अध्यक्ष केसीले सचिव श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराए ।

    शपथग्रहणपछि मन्त्री पोखरेलले उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, विश्वविद्यालय सुधार तथा संस्थागत पुनःसंरचनालाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे । विश्वविद्यालय सुधारका लागि आवश्यक नीतिगत तथा प्रशासनिक सहजीकरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनले बताए ।

    नवनियुक्त अध्यक्ष केसीले विश्वविद्यालयको नीतिगत र संरचनागत सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सचिव श्रेष्ठले पनि आफ्नो कार्यकालमा विश्वविद्यालय अनुदान आयोगलाई थप प्रभावकारी बनाउँदै उच्च शिक्षाको सुधारका लागि जिम्मेवारीपूर्वक काम गर्ने बताए ।

    हालै बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा प्रा. डा. खड्गबहादुर केसी र सचिवमा प्रा. डा. रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

    प्रा. डा. केसी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष (रेक्टर) हुन । त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा. डा. केसरजंग बरालले राजीनामा दिएपछि उनले केही समय कार्यवाहक उपकुलपतिको जिम्मेवारीसमेत सम्हालेको थियो ।

    अन्तरराष्ट्रिय सम्बन्ध, भूराजनीति तथा नेपालको परराष्ट्र नीतिका विज्ञका रूपमा परिचित केसीले त्रिभुवन विश्वविद्यालयबाट अन्तरराष्ट्रियसम्बन्ध विषयमा विद्यावारिधि (पीएचडी) गरेको छ । उनी तीन दशकभन्दा बढी समयदेखि अध्यापन, अनुसन्धान र शैक्षिक नेतृत्वमा सक्रिय रहेको छ ।

    आयोगकी नवनियुक्त सचिव प्रा. डा. रोजी श्रेष्ठ नेपालमा नर्सिङ विषयमा विद्यावारिधि (पीएचडी) गर्ने पहिलो नेपाली हुन । उनले त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थानबाट नर्सिङमा विद्यावारिधि हासिल गरेको हो । नर्सिङ अनुसन्धानमा उल्लेखनीय योगदान पुर्याएबापत उनी ‘नेपाल विद्या भूषण’ पदकबाट सम्मानित भएका थिए भने नेपालमा नर्सिङ विषयमा पहिलो विद्यावारिधि गर्ने शोधकर्ताका रूपमा दीक्षान्त समारोहमा प्रधानमन्त्रीबाट विशेष सम्मानसमेत प्राप्त गरेका थिए ।


    प्रकाशित : शनिबार, श्रावण २३ २०८३०८:४७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार