२०८३, कार्तिक १३ गते शुक्रबार

समुदायसँगै विपद् प्रतिकार्यका पहल

समुदायसँगै विपद् प्रतिकार्यका पहल


  • मेरोभ्यूज
  • श्रावण २४, २०८३ आइतबार

  • समुदायसँगै विपद् प्रतिकार्यका पहल

     

    सुदूरपश्चिम । गत असार २८ गते कैलालीको गोदावरी नदी एक्कासी उर्लियो । केही क्षणअघि सामान्य देखिएको नदीले एकाएक रौद्र रूप लियो । बर्दगोरिया गाउँपालिका–१ का ३३ वर्षीय अपिल मल्ल नदीको बीच भागको बगरमा थुनिए । चारैतिर बाढीको भेल थियो । अगाडि बढ्ने बाटो थिएन, फर्किने सम्भावना थिएन ।

    मल्लका लागि प्रत्येक मिनेट मूल्यवान् थियो । घटनाको सूचना पाएलगत्तै प्रहरीको उद्धार टोली परिचालित भयो । केहीबेरमै अपिल सकुशल बाहिर निकालिए । त्यसअघि गत जेठ २ गते गोदावरी–११ ओलानीमा रुखमा अड्किएका ७३ वर्षीय लालबहादुर सुनारलाई सूचना पाएलगत्तै सशस्त्र प्रहरी नं ७ वैद्यनाथ वाहिनीबाट खटिएको तालिम प्राप्त टोलीले सकुशल उद्धार गर्यो ।

    यही साउन १२ गते कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ मालिका टोल नजिक महाकाली नदीको बीच भागमा फसेका ४५ वर्षीय रामबहादुर सिंहको पनि समयमै प्राप्त सूचनाका आधारमा सकुशल उद्धार भयो ।

    यही वर्षको मनसुनमा सुदूरपश्चिममा यस्ता दृश्य पटक–पटक दोहोरिए । दोधाराचाँदनी नगरपालिका–१० का नरेन्द्र बुढाका लागि यस्ता घटना केबल प्राकृतिक विपत्ति मात्र होइनन्, कहिल्यै नबिर्सिने स्मृति पनि हुन् ।

    विपद्का प्रसङ्ग आउनेबित्तिकै उनलाई २०६५ असोजको घटना याद आउँछ । महाकाली नदीको बाढी पस्दा त्यसबेला स्थानीय शान्ति टोलमा नौ जनाले ज्यान गुमाएका थिए । बाढीले बस्ती तहसनहस भएको थियो । त्यस घटनाले सिङ्गो समुदायलाई वर्षौँसम्म त्रसित बनायो तर समयसँगै धेरै कुरा फेरिए ।

    विक्रम संवत २०८१ असारमा फेरि महाकाली उर्लियो । शान्ति टोल र कटाराखल्ला लगायतका क्षेत्र डुबानमा परे । घर, पशुचौपाया र धनमालमा धेरै क्षति पुग्यो, तर मानवीय क्षति भएन ।

    बुढा भन्छन्, “उस्तै प्रकृतिका घटनामा पनि समयमै सूचना, छिटो उद्धार र प्रभावकारी प्रतिकार्य हुन सके धेरै जीवन बचाउन सकिँदो रहेछ । पछिल्ला वर्षहरूमा सूचना प्रविधि, सुरक्षा निकायको तयारी र नागरिकको जागरुकताले ठूलो परिवर्तन ल्याएको छ ।”

    समयमै सूचना, समयमै उद्धार

    सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ वाहिनी मुख्यालयका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिग्विजय सुवेदीका अनुसार सफल उद्धारको आधार आधुनिक उपकरणसँगै समयमै प्राप्त हुने सूचना पनि हो ।

    त्यसैले सशस्त्र प्रहरीले विपद् व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगसँगै समुदायसँगको सहकार्यलाई पनि जोड दिएको छ ।

    त्यसका लागि समुदाय विपद् स्वयंसेवक र वडा तहसम्म विपद् सूचक सञ्जालमार्फत सहकार्यको हात बढाइएको डिआइजी सुवेदीले बताए ।

    उनका अनुसार समुदायसँगको प्रत्यक्ष सम्पर्कले जोखिमको सूचना छिटो प्राप्त हुन्छ र उद्धार टोलीलाई समयमै परिचालन गर्न सहज बनाउँछ ।

    सशस्त्र प्रहरी बल नेपाल, कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर केसी पनि विपद्को पहिलो सूचना नै सबैभन्दा महत्त्वपूर्ण हुने बताउँछन् ।

    उनका अनुसार उद्धारकर्तासँग सीप र उपकरण भए पनि सूचना ढिलो पुग्यो भने क्षति बढ्न सक्छ । त्यसैले सूचना प्रणालीलाई प्रविधि र समुदाय दुवैसँग जोडिएको छ ।

    गाउँ–टोलमै विपद् स्वयंसेवक

    सशस्त्र प्रहरी बलले देशभरजस्तै सुदूरपश्चिममा विपद् व्यवस्थापनको नयाँ अभ्यास गरिरहेको छ । गाउँ–टोलसम्म समुदाय विपद् स्वयंसेवक र विपद् सूचक सञ्जाल बनाइएको छ । घटना हुनेबित्तिकै ती सञ्जालमा रहेका व्यक्तिले सुरक्षा निकायलाई खबर गर्छन् ।

    यही प्रारम्भिक सूचनाले धेरै पटक उद्धारको गति निर्धारण गर्छ । डिआइजी सुवेदीका अनुसार प्रदेशभर नौ सयभन्दा बढी समुदाय विपद् स्वयंसेवक तयार गरिएका छन् । यसरी तयार गरिएका अधिकांश स्वयंसेवकलाई पाठ्यक्रममा आधारित १८ दिने तालिम दिइएको छ ।

    वडा तहसम्म सूचना सञ्जाल विस्तार गरी १९ हजारभन्दा बढी विपद् सूचक परिचालन गरिएका छन् । “उनीहरूले १११४ नम्बरमार्फत तत्काल विपद् तथा सुरक्षासम्बन्धी सूचना उपलब्ध गराउँछन्, जसले हामीलाई परिचालित हुन सहयोग पुगेको छ”, उनले भने, “एकोहोरो सूचना लिने मात्रै होइन, बेलाबेला हाम्रो योजना र उनीहरूको अपेक्षाबारे पनि कुराकानी हुन्छ । समुदायसँग जोडिन र सूचना आदानप्रदान गर्न यो अभ्यास निकै उपयोगी भइरहेको छ ।”

    विपद् स्वयंसेवक लक्ष्मण दमाई यस प्रकारको सञ्जाल र सामुदायिक साझेदारी विपद्सँग जुध्न र समस्यामा परेकाहरूको उद्धार गर्न निकै उपयोगी र प्रभावकारी भइरहेको बताउँछन् । “यही साउन १२ गते महाकालीमा फसेका रामबहादुर सिंहको उद्धारका लागि हामीले नै सूचना दिएका थियौँ । त्यो एउटा सूचनाले उनको ज्यान बच्यो ।

    विपद्को समयमा तत्काल सूचना दिने सञ्जाल नबनेको भए यो सम्भव नहुन पनि सक्थ्यो । यसर्थ विपद्सँग जुध्न र छिटो उद्धार गर्न यसले निकै सहयोग पुगिरहेको छ”, उनले भने ।

    विपद्सँग लड्ने सबैभन्दा प्रभावकारी उपाय भनेको समयमै सूचना, दक्ष जनशक्तिको छिटो परिचालन र समुदायको सक्रिय सहभागिता हो । पछिल्लो समय सशस्त्र प्रहरी बलले देशभर कार्यान्वयन गरिरहेको सूचना प्रणाली र सक्रियताले विपद् उद्धार तथा प्रतिकार्यमा राम्रो उदाहरण दिइरहेको छ ।

    “जब समुदाय स्वयं पहिलो सूचना प्रणाली बन्छ, प्रविधिले त्यसलाई तुरुन्तै उद्धार प्रणालीसँग जोड्छ, तब सुरक्षा निकाय तत्काल परिचालित हुन्छ । यसले विपद् केबल क्षतिको कथा बन्न छोड्छ, त्यो आवश्यक तयारी, सहकार्य र जीवन बचाउने साझा आधार बन्छ”, एसपी केसी भन्छन् ।

    प्रविधिले बोलाउँछ उद्धार टोली

    हाल विपद्को सूचना केबल फोन कलमा सीमित छैन । सशस्त्र प्रहरीले सञ्चालन गरिरहेको ‘लुना आइओटी प्रणाली’ पनि विपद् प्रतिकार्यमा निकै उपयोगी भएको छ ।

    प्राप्त जानकारीअनुसार यस प्रणालीले केही सेकेण्डमै उद्धार केन्द्रलाई सचेत गराउन सक्छ । सूचना प्रणालीमा जडित उपकरणको हरियो बटन केही क्षण थिच्नेबित्तिकै घटनास्थल (जीपीएसमार्फत) सहितको सूचना नियन्त्रण कक्षमा पुग्छ । साइरन बज्छ । स्क्रिनमा घटनास्थल देखिन्छ । त्यही आधारमा सबैभन्दा नजिकको उद्धार टोली तत्काल परिचालित हुन्छ ।

    यसका अतिरिक्त मोबाइल एप र टोल–फ्री नम्बर १११४ मार्फत पनि बाढी, पहिरो, आगलागी तथा अन्य विपद्का सूचना पठाउने व्यवस्था गरिएको वैद्यनाथ वाहिनीले जनाएको छ ।

    यी प्रविधिले सूचना पुग्ने समय घटाएको छ भने समुदायले सूचना पुग्ने पहुँच विस्तार गरेको छ ।

    सशस्त्र प्रहरीले सुदूरपश्चिममा तीन वटा करिडोर पहिचान गरी विपद् जोखिम न्यूनीकरण र प्रतिकार्य योजना बनाएको छ । सडक दुर्घटना हुने लोकमार्ग, नदी करिडोर तथा पहिरो र डुबान प्रभावित क्षेत्रलाई प्राथमिक जोखिम क्षेत्रका रूपमा पहिचान गरिएको जनाइएको छ ।

    त्यसअनुसार कैलालीको डुडेझारी, डोटीको बुडर र डडेल्धुराको अमरगढीमा विपद् व्यवस्थापन ‘डेस्क’ स्थापना गरिएका छन् । कैलालीको चुरे, बझाङको चैनपुर, बैतडीको पुर्चौडी, अछामको तासीलगायत नौ स्थानमा अस्थायी मनसुन प्रतिकार्य टोली तयारी अवस्थामा छन् ।

    हाल आवश्यक पर्दा करिब एक हजार दक्ष जनशक्ति एकैपटक परिचालन गर्न सकिने व्यवस्था छ । तीमध्ये ३२० जना विशेष तालिम प्राप्त उद्धारकर्मी र १२ जना गोताखोर तयारी अवस्थामा रहेका डिआइजी सुवेदीले जानकारी दिए ।

    अबको चुनौती र अपेक्षा

    कठिन भूगोल र प्राकृतिक अवस्थाका कारण नेपाल विपद्को उच्च जोखिममा छ । त्यसैमा जलवायु परिवर्तनले थप चुनौती निम्त्याइरहेको छ । मौसमको स्वरूप परिवर्तन हुँदै गएको छ । लामो समय पानी नपरे पनि केही घण्टाको मुसलधारे वर्षाले ठूलो क्षति निम्त्याउने क्रम बढिरहेको छ ।

    सुदूरपश्चिम त झन् जोखिममा छ । यहाँ पछिल्ला दश वर्षमा बाढी, पहिरो, भारी वर्षा र चट्याङका १,३२९ मनसुनजन्य विपद्का घटना भएको तथ्याङ्क छ । ती घटनामा २७७ जनाले ज्यान गुमाए भने ५४ जना बेपत्ता भए । यस्तै, ६७५ जना घाइते भए र १०,७०० परिवार प्रत्यक्ष प्रभावित भए । हजारौँ घर, पुल, गोठ र पशुचौपायामा क्षति पुग्यो ।

    आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१ मा २६१ मनसुनजन्य घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो । गत आर्थिक वर्षको असार २६ गतेसम्म सर्पदंश, आगलागी, जनावरको आक्रमण, भारी वर्षा, बाढीलगायत विभिन्न विपद्का ९२६ घटना भए । ती घटनामा ३५ जनाको मृत्यु भयो भने १,४२८ परिवार प्रभावित भए ।

    जल तथा मौसम विज्ञान कार्यालय, अत्तरियाका अनुसार यस वर्षको मनसुनजन्य जोखिम विश्लेषणमा सुदूरपश्चिममा ७,६०३ परिवारका ३३,२२७ जना प्रभावित हुने अनुमान गरिएको छ ।

    जिल्लागत हिसाबमा कञ्चनपुरमा सबैभन्दा बढी ७,१३२ र सबैभन्दा कम दार्चुलामा १,४६७ जना प्रभावित हुने अनुमान छ । यस्तै, कैलालीमा ६,१९५, डोटीमा ४,८२०, बाजुरामा ३,७७६, बैतडीमा ३,३६२, बझाङमा १,७६४ र अछाममा १,६०२ जना प्रभावित हुने तथ्याङ्क छ ।

    जोखिमको यस्तो अवस्थामा विपद् जोखिम न्यूनीकरणका लागि तीनै तहका सरकारले विभिन्न संरचना र विकास साझेदारको सहयोगमा विविध कार्यक्रम गरिरहेका छन् । स्थानीय तहसँगको सहकार्य पनि क्रमशः सुदृढ बन्दै गएको छ ।

    यही सहकार्यका कारण सशस्त्र प्रहरी बललाई गत आर्थिक वर्षमा विभिन्न १० वटा पालिकाबाट १० वटा ‘र्याफ्ट बोट’ प्राप्त भएपछि उद्धार क्षमता अझ विस्तार भएको छ ।

    नेपाली सेना, नेपाल प्रहरी, स्थानीय प्रशासन र स्थानीय सरकारबीचको समन्वयले प्रतिकार्यलाई थप प्रभावकारी बनाएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

    करिब २७ लाख जनसङ्ख्या, नौ वटा जिल्लाको जटिल भूगोल, महाकाली, कर्णाली, सेतीजस्ता ठूला नदी भएकाले यहाँ सबै तहले थप तयारी र सतर्कता अपनाउनु जरुरी रहेको जानकारहरू बताउँछन् ।

    हाल प्रदेशभर हुने डुबानलगायतका समस्यामा उद्धारका लागि सशस्त्र प्रहरीसँग १२ जना मात्रै गोताखोर छन् । तिनलाई परिचालनका लागि पर्याप्त स्रोतसाधन छैन, तर प्रदेश सरकारले छुट्याएको बजेटसमेत खर्च हुन सकिरहेको छैन । गत आर्थिक वर्षमा उद्धार उपकरणलगायत सामग्री खरिद र गोताखोरलाई तालिम दिने भनेर प्रदेश सरकारले छुट्याएको बजेटसमेत खर्च गरिएन ।

    सबै तहका सरकार र संरचनाले थप समन्वयका साथ काम गरी विपद् जोखिम न्यूनीकरणमा थप काम गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ । यसरी मिलेर काम गर्न सुदूरपश्चिममा मनसुन पूर्वतयारी तथा प्रतिकार्य प्रादेशिक कार्ययोजना र बहुप्रकोप पूर्वसूचना रणनीतिक कार्ययोजना कार्यान्वयनमा छन् ।

    त्यसअनुसार प्रदेश, जिल्ला र स्थानीय तहसम्म आपत्कालीन कार्यसञ्चालन केन्द्र तथा तीनै तहमा विपद् व्यवस्थापन परिषद् र समिति छन् । सुरक्षा फौजसँग रहेका जनशक्तिलाई स्रोतसाधन सम्पन्न बनाउँदै समुदायस्तरमा रहेका विपद् स्वयंसेवक र विपद् सूचक सञ्जाललाई ती समितिले संस्थागत रूपमा जोड्न सके यसको प्रभावकारिता थप बढ्ने धेरैको विश्वास छ ।

    डिआइजी सुवेदीले पनि विशेषगरी स्थानीय तहले समुदायमा रहेका स्वयंसेवक र विपद् सूचकलाई आफ्नै प्रणालीको हिस्सा बनाउँदै विपद् व्यवस्थापन अझ दिगो बनाउनुपर्ने सुझाव दिए ।

    -----


    प्रकाशित : आइतबार, श्रावण २४ २०८३०९:१८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार