२०८३, कार्तिक १३ गते शुक्रबार

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी


  • मेरोभ्यूज
  • श्रावण २४, २०८३ आइतबार

  • बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

     

    चितवन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी) प्रत्यारोपणका लागि आवश्यक भौतिक एवं चिकित्सकीय तयारी थालेको छ ।

    यसका लागि नेपाल सरकारसँगको सहकार्यमा चीन सरकारले भवन निर्माण, उपकरण खरिद र चिकित्सक तथा नर्सलाई तालिम दिने गरी यो परियोजना अघि बढाएको हो ।

    चिकित्सकका अनुसार शरीरको फ्ल्याट हड्डीभित्र हुने बोनम्यारोमा रातो रक्त कोष (आरबिसी), सेतो रक्त कोष (डब्लुबिसी) र प्लेटलेट्स बन्ने गर्छन् ।

    बोनम्यारोको रोग विशेषगरी दुई तरिकाले लाग्छ: एप्लास्टिक एनिमिया र रक्त क्यान्सर वा बोनम्यारो क्यान्सर। यी दुवै रोगले बोनम्यारोको नियमित काममा बाधा ल्याइदिन्छन् र बोनम्यारोमा बन्नुपर्ने आरबिसी, डब्लुबिसी र प्लेटलेट्स बन्न पाउँदैनन् ।

    यस्तो अवस्थामा बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने हुन्छ । बोनम्यारो प्रत्यारोपणमा शरीरको कुनै अङ्ग नै झिक्ने वा चिरफार गर्ने हुँदैन । यो भनेको सुइबाट रगत झिक्ने वा बोनम्यारो झिक्ने र सुइबाटै राख्ने विधि हो ।

    अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालले चिनियाँ टोली केही दिन अघि दुई साता यहाँ बसेर ‘बोनम्यारो’ प्रत्यारोपण सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधारका विषयमा छलफल गरेको जानकारी दिए ।

    टोलीले भरतपुर महानगरपालिका, सहरी विकास तथा भवन निर्माण आयोजना, नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्राविधिकसहित बसेर सुझाव समेत लिएको थियो ।

    उनका अनुसार यसका लागि नेपाल सरकारसँग पुनः सम्झौता पश्चात आवश्यक काम अघि बढ्नेछ । अस्पतालको अन्तरङ्ग भवनको अगाडि तीन तलाको भवन बनाइनेछ । निमित्त कार्यकारी निर्देशक नेपालका अनुसार सन् २०२६ मा नै काम सुरु गर्ने चिनियाँ टोलीको तयारी छ ।

    चिनियाँ सरकारले यो परियोजना सम्पन्न गर्न करिब ३७ मिलियन चिनियाँ रकम खर्च गर्दैछ । अस्पतालका निवर्तमान कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार ‘बोनम्यारो’ प्रत्यारोपण सेवा सञ्चालनका लागि भवन निर्माण, उपकरण खरिद र जनशक्तिलाई तालिम समेत चीन सरकारले व्यवस्थापन गर्नेछ ।

    यसअघि नेपाल सरकार र चीनको चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेसनल डेभलपमेन्ट को–अपरेसन एजेन्सी) का बीच सम्झौता भइसकेको छ ।

    बोनम्यारो युनिट पाँच श्ययाको हुनेछ । उनका अनुसार सुरुमा पुरानो भवनमा युनिट सञ्चालन गर्ने तयारी गरिएको भए पनि यो सम्भव नहुने भएपछि नयाँ भवन बनाउन लागिएको हो । भवन बनाउने ठाउँको माटो परीक्षणलगायतका काम यसअघि नै सम्पन्न भइसकेका छन् ।

    बोनम्यारो युनिटमा काम गर्नका लागि हाल अस्पतालका तीन जना चिकित्सक र नर्स चीनमा तालिम लिइरहेका छन् ।

    निवर्तमान कार्यकारी निर्देशक डा. पौडेलले भने “‘बोनम्यारो’ प्रत्यारोपणका लागि यसअघि नै तीन जना स्वास्थ्यकर्मीले छ महिनाको र पाँच जनाले दुई हप्ताको तालिम लिएर फर्किएका छन् ।” त्यहाँ काम गर्ने जनशक्तिलाई चीन सरकारको तर्फबाट थप आवश्यक तालिम दिइँदैछ । उनीहरूले निर्माण थालेको एक वर्ष छ महिनामा काम सम्पन्न गर्ने तयारी गरेको जनाइएको छ ।

    यो स्तरको अत्याधुनिक बोनम्यारो प्रत्यारोपण युनिट नेपालमा पहिलो हुने डा. पौडेलको दाबी छ । अहिले बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने बिरामी विदेश जान बाध्य छन् । यहाँ यो सेवा सुरु भएसँगै कम खर्चमा बिरामीहरूले उच्चस्तरको सेवा पाउने उजले बताए ।

    विक्रम संवत २०५१ मा चीन सरकारको सहयोगमा क्यान्सर अस्पताल निर्माण गरिएको थियो । त्यसयता यहाँ निरन्तर चिनियाँ चिकित्सकले समेत बिरामीको उपचार गरिरहेका छन् । यहाँ नेपालसहित भारतका बिरामी समेत उपचार गर्न आउने गर्दछन् ।

    -----


    प्रकाशित : आइतबार, श्रावण २४ २०८३०९:२१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार