२०८३, कार्तिक १४ गते शनिबार

सुपारी खेतीमा इलामका किसानको लगाव

सुपारी खेतीमा इलामका किसानको लगाव


  • मेरोभ्यूज
  • श्रावण २५, २०८३ सोमबार

  • सुपारी खेतीमा इलामका किसानको लगाव

     

    इलाम । पछिल्लो समय इलामका किसान व्यावसायिक सुपारी खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

    कम लगानी र थोरै मेहनतमा राम्रो आम्दानी हुने देखिएपछि यहाँका किसान खाली जमिनमा व्यावसायिक सुपारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । यहाँका एउटै किसानले आठ हजार बोटसम्म सुपारी लगाउने गरेका छन् ।

    माई नगरपालिका–९ का किसान अक्कलबहादुर राईले यस वर्ष मात्र २५ क्विन्टल सुपारी बिक्री गरेका छन् ।

    “मैले अन्य खेती मासेर सबैजसो जग्गामा सुपारी रोपेको छु, आधा बोटबाट आम्दानी समेत लिन थालिसकेको छु,” उनले भने, “प्रति केजी रु. ७० सम्ममा घरबाटै बिक्री हुने गरेको छ ।”

    एक पटक मेहनत गरेमा सजिलै फल्ने भएकाले व्यावसायिक सुपारी खेतीबाट मनग्य आम्दानी लिन सकिने उनको भनाइ छ । राईले सानाठूला गरी करिब पाँच हजार बोट सुपारी रोपेकोमा अधिकांश बोटले आम्दानी दिन थालिसकेका छन् ।

    अर्का किसान धर्मराज पुरीले यस वर्ष १८ क्विन्टल सुपारी बिक्री गरेको सुनाए ।

    केही बोटले उत्पादन दिन थालेपछि यस वर्ष १८ क्विन्टल सुपारी बिक्री गरिएको र थप केही बोट उत्पादन दिन तयार भएकाले आगामी दिनमा थप व्यावसायिक कारोबार बढ्ने उनले बताए ।

    किसान पुरीले करिब दस रोपनी क्षेत्रमा पाँच हजार बोट सुपारी लगाएका छन् भने थप बोट रोप्ने तयारी गरेका छन् ।

    “अन्य खेतीजस्तो धेरै मेहनत र लगानी नपर्ने भएकाले व्यावसायिक तवरले सुपारी खेती शुरु गरेको हुँ,” उनले भने, “बिक्री नहुने हो कि भन्ने कुनै चिन्ता छैन । व्यापारीहरूले बगानबाटै प्रति केजी रु. ७० सम्ममा किनेर लैजाने गरेका छन् ।”

    सुपारी खेती शुरु गरेपछि घरव्यवहार चलाउन सहज भएको अर्का किसान पवन किराती बताउँछन् ।

    “मैले करिब आठ हजार बोट रोपेको छु । केही बोटबाट आम्दानी हुन थालेको छ,” उनले भने, “यस वर्ष दस क्विन्टल काँचो सुपारी बिक्री गरेको छु, यसले घरखर्च टार्न सहज भएको छ ।”

    किरातीको बगानमा हाल केही बोट फल्न थालेका र अधिकांश हुर्कंदै गरेका छन् । “बहुवर्षे नगदे बाली भएकाले सुपारीको एकै बोटबाट ५० केजीसम्म उत्पादन हुने गरेको छ । यसले क्षति नपुर्याउने र छहारीको काम गर्ने भएकाले तरकारी र अन्य बाली लगाएर दोहोरो फाइदासमेत लिन सकिन्छ,” उनले भने ।

    अर्का किसान अभिषेक यक्तेनले घरआँगनका डिलदेखि खेतबारी र पाखामा सुपारी रोपेर आयआर्जन गर्न सकिने हुँदा धेरै किसान लाभान्वित भएको बताए ।

    पछिल्लो समय इलाममा दुई सय हेक्टर क्षेत्रमा व्यावसायिक सुपारी खेती हुँदै आएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।

    विशेष गरी जिल्लाको माई नगरपालिका, चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका र रोङ गाउँपालिकाको तल्लो चुरे क्षेत्रका किसानले व्यावसायिकरूपमा सुपारी खेती गर्दै आएका छन् ।


    प्रकाशित : सोमबार, श्रावण २५ २०८३०९:१६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार