२०८३, कार्तिक १३ गते शुक्रबार

वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता

वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता


  • मेरोभ्यूज
  • श्रावण २५, २०८३ सोमबार

  • वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता


    बेनी । म्याग्दीमा वैदेशिक रोजगारी त्यागेर पशुपालनमा लागेका युवाले रहरलाग्दो सफलता प्राप्त गरेका छन् ।

    बेनी नगरपालिका–७ कुरिलाखर्कका ४२ वर्षीय सुरेश ढुङ्गानाले गाईभैँसी पालनबाट आकर्षक कमाइ गरी सफलता प्राप्त गरेका हुन् ।

    करिब एकदशक लामो वैदेशिक रोजगार त्यागेर वि.सं. २०७२ देखि पशुपालन शुरु गरेका ढुङ्गाना जिल्लामा गाईभैँसी धेरै पाल्ने सफल अगुवा कृषकका रूपमा परिचित छन् ।

    शुरुमा एक/एकवटा गाई र भैँसी खरिद गरेर ‘ढुङ्गाना कृषि तथा पशुपंक्षी फार्म’ सञ्चालनमा ल्याएका उनले अहिले दैनिक तीन सय लिटर दूध बिक्री गर्दै आएका छन् ।

    उनको फार्ममा अहिले ४५ वटा माउसहित ५० वटा गाईभैँसी छन् । उनले दैनिकरूपमा करिब ३५ हजार बराबरको दूध बिक्री गर्दै आएका छन् । ढुङ्गानाको फार्ममा उन्नत जातका मुर्रा भैँसी तथा होलस्टेन र जर्सी गाईपालन हुँदै आएको छ ।

    “एक दशक बढी समय खाडी मुलुकमा पसिना बगाएँ, आफ्नै गाउँ फर्किएर पशुपालन र कृषिबाटै अघि बढ्ने लक्ष्यका साथ वैदेशिक रोजगारलाई बिट मारेको थिएँ, आज आफैँले शुरु गरेको कर्मबाट सफलता मिलेको छ, यो पेसाबाट खुसी र सन्तुष्ट छु”, ढुङ्गानाले भने ।

    पशुपालनबाट ढुङ्गानाले आफू स्वरोजगार र आत्मनिर्भर मात्रै बनेका छैनन्, अन्य पाँच जनालाई नियमितरूपमा रोजगारीको अवसर पनि सिर्जना गरेका छन् ।

    उनको फार्ममा तीनजना आवासीयरूपमा नै रोजगारमा आबद्ध छन् भने अन्य दुई जना दैनिकरूपमा फार्ममा कामका लागि आउने गर्छन् । बिहान सबेरैदेखि राति अबेरसम्म फार्मका गाईभैँसीको घाँस, पानी र स्याहारमा खटिने ढुङ्गानाले अरुको देशमा पसिना बगाउनुभन्दा आफ्नै गाउँठाउँमा रहेका सम्भावनामा भविष्य खोज्नुपर्ने बताउँछन् ।

    ढुङ्गानाको फार्ममा उत्पादन हुने दूध बेनी बजारकै धौलागिरि डेरी उद्योगमा खपत हुने गरेको छ ।

    बेनी बजारदेखि नजिकको दूरीमा फार्म सञ्चालन भएकाले उनले मोटरसाइकलमै दूधका क्यान राखेर दूध ढुवानी गर्दै आएका छन् ।

    फार्ममा बिहान १:०० बजेदेखि र दिउँसो २:०० बजेसम्म गाईभैँसी दुहुन शुरु गर्ने र ४:०० बजेको समयभित्र उद्योगमा दूध ढुवानी गरी पुर्याउने समय तालिका छ ।

    डेरी उद्योगले प्रतिलिटर एक सय २० रुपैयाँमा दूध खरिद गर्दै आएको छ । दूध उत्पादन नियमित हुने र डेरी उद्योगले सहजै खरिद गर्ने भएकाले दूध बिक्रीका लागि थप बजारको खोजी गर्नुपर्ने बाध्यता रहेको छैन ।

    कुरिलाखर्कमा आफ्नै पुर्ख्यौली जग्गामा फार्म सञ्चालन गरेका ढुङ्गानाले पशुपालनबाट भएको आम्दानीबाट थप जग्गा खरिद गरी फार्मको क्षमता बढाएका छन् ।

    उनको फार्ममा पूर्वाधार र गाईभैँसी खरिदमा अहिलेसम्म साढे दुई करोड बढी लगानी भइसकेको छ ।

    जिल्लामै ठूलो र नमूना फार्मका रूपमा विकास भइरहेको यस फार्मको अवलोकनका लागि विभिन्न ठाउँबाट कृषक पुग्ने गरेका छन् ।

    पशुपालनबाट सफलता प्राप्त गरेका युवा कृषक ढुङ्गानाले जिल्लास्तर र प्रदेशस्तरबाट विभिन्न पुरस्कार प्राप्त गरिसकेका छन् ।

    वि.सं. २०८० मा ‘ढुङ्गाना कृषि तथा पशुपंक्षी फार्म’गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयबाट पुरस्कृत भएको थियो ।

    व्यवस्थित र व्यावसायिकरूपमा पशुपालन गरेका ढुङ्गानाले स्थानीय, प्रदेश र सङ्घीय सरकार मातहतका कार्यालयबाट प्राप्त सहयोगले आफूलाई पशुपालन गर्न हौसला थपिएको बताउँछन् । फार्मबाट गाईभैँसीको गोबर मल बिक्री हुने गरेको छ ।

    बेनी नगरपालिकाका सहायक पशु चिकित्सक प्रदीप गौतमले ढुङ्गाना कृषि तथा पशुपक्षी फार्म नगरपालिका र जिल्लामै उत्कृष्ट रहेको बताए ।

    उनले पशुपालक कृषकलाई नगरपालिकाबाट औषधि उपचारमा प्राविधिक सहयोगका साथै विगत तीन वर्षदेखि नगरपालिकाले उत्पादनमा आधारित अनुदानसमेत उपलब्ध गराउँदै आएको जानकारी दिए ।


    प्रकाशित : सोमबार, श्रावण २५ २०८३०९:२३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार