२०८३, कार्तिक १३ गते शुक्रबार

बाढीले क्षति पुगेको रसुवागढी जलविद्युत् आयोजनाको पुन:निर्माण तीव्र

बाढीले क्षति पुगेको रसुवागढी जलविद्युत् आयोजनाको पुन:निर्माण तीव्र


  • मेरोभ्यूज
  • श्रावण २५, २०८३ सोमबार

  • बाढीले क्षति पुगेको रसुवागढी जलविद्युत् आयोजनाको पुन:निर्माण तीव्र

     

    रसुवा । गत वर्ष असार २४ मा ल्हेन्दे खोलामा आएको बाढीले क्षति पुर्याएको एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको पुन:निर्माण तथा मर्मत तीव्रगतिमा अगाडि बढाइएको छ ।

    बाढीका कारण भोटेकोशी खोलास्थित बाँध संरचनामा क्षति पुगेपछि आयोजनाको उत्पादन प्रभावित भएको थियो ।

    हाल बाँधस्थलमा थुप्रिएको अवरोध हटाउने कार्य द्रुतरूपमा अघि बढिरहेको आयोजनाले जनाएको छ ।

    आयोजनाका कार्यकारी प्रमुख सत्यराम ज्याख्वका अनुसार बालुवा थिग्र्याउने पोखरी (डिसिल्टिङ बेसिन)मा जम्मा भएका अवरोध हटाइसकिएको छ भने ‘हेडरेस’ सुरुङ तथा विद्युत् उत्पादनसँग सम्बन्धित उपकरणको सफाइसमेत सम्पन्न गरिएको छ ।

    बाढीले कटान गरेको बाह्य संरचनाअन्तर्गत ड्याम तथा विद्युतगृह जाने पहुँचमार्गमा रहेको पक्की पुलको संरक्षणका लागि दायाँ–बायाँ पर्खाल निर्माण कार्य जारी छ ।

    आयोजनाले २०८१ पुस १६ गतेदेखि व्यावसायिकरूपले उत्पादन शुरु गरेको थियो । तर २०८२ असार २४ गतेको बाढीले बाहिरी सतहको ड्याम संरचनामा क्षति पुर्याएपछि आयोजना पूर्णरूपमा बन्द हुन पुगेको बताइएको छ ।

    त्यसपछि सुरुङ तथा उपकरणहरूको सफाइ गरी मङ्सिर २० गतेदेखि पुनः विद्युत् उत्पादन शुरु गरिएको थियो ।

    करिब रु. २३ अर्ब ७३ करोड लागतमा आयोजना निर्माण भएको थियो ।

    आयोजनामा चार दशमलव आठ किलोमिटर लामो हेडरेस सुरुङमार्फत प्रतिसेकेन्ड ८० घनमिटर पानी विद्युतगृहमा पुर्याइन्छ । त्यहाँ जडान गरिएका तीनवटा फ्रान्सिस टर्बाइनबाट अधिकतम एक सय ११ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता रहेको आयोजनाका केन्द्र प्रमुख सन्तोष अधिकारीले बताए ।


    प्रकाशित : सोमबार, श्रावण २५ २०८३०९:५३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार