२०८३, कार्तिक १३ गते शुक्रबार

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री डा. वाग्ले

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री डा. वाग्ले


  • मेरोभ्यूज
  • श्रावण २८, २०८३ बिहीबार

  • आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री डा. वाग्ले

     

    तनहुँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउने गरी नयाँ बजेट ल्याएको बताएको छ ।

    आफ्नो निर्वाचन क्षेत्र तनहुँको भ्रमणमा आएका उनले बिहीबार जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै यस्तो धारणा राखेको हो ।

    राज्यको कमजोर आम्दानीका कारण ऋण मागेर देशको अत्यावश्यक दैनिक खर्च चलाउने विगतदेखिको अवस्थालाई चिर्न करको दायरालाई फराकिलो बनाएर थोरै-थोरै जम्मा गरी आम्दानी बढाउने र आफ्नै आम्दानीले देश विकास गर्ने नीति लिएको उनले बताए ।

    जनताको विकास सम्बन्धी आशा र आकाङ्क्षाहरूको तुलनामा मुलुकको सामर्थ्य कम रहेको र यहीबेला दातृ निकायको ऋण पनि महँगो बनेको अवस्थामा मुलुक आफैँ धनी हुने अवस्थामा जानुको विकल्प नरहेको डा. वाग्लेको भनाइ छ ।

    "विगतदेखि नै हामीले देखिरहेका छौँ । ऋण लिएर ऋण र त्यसको ब्याज तिरिरहेका छौँ । नियमित र अत्यावश्यक राज्यको दायित्व साढे १३ सय अर्ब छ । सरकारको आम्दानी १२ सय ५० अर्ब हाराहारी मात्रै छ," अर्थमन्त्री डा. वाग्लेले भने, "अहिले हामीले करको दर फराकिलो बनाएको र कर तिर्न प्रोत्साहनका कार्यक्रम ल्याएको यसैका लागि हो ।"

    अर्थमन्त्री वाग्लेले ऋण पनि लिन नहुने, कर पनि तिर्न नपर्ने तर विकास चाहिँ जसरी पनि गरिदिनुपर्छ भन्ने सोचबाट सबै जना माथि उठ्नुपर्ने पनि बताए ।

    करको दायरा फराकिलो बनाउँदा नयाँ क्षेत्रमा कर थपियो भन्ने गुनासाहरू सम्बोधन गर्न सरकारले अन्तिम करको दायित्वबाट सर्वसाधारणलाई बचाउनेमा आश्वस्त रहन पनि उनले आग्रह गरे ।

    सरकारले २१ सय २४ अर्बको बजेटमार्फत निजी क्षेत्रलाई उद्वेलित बनाएर ६६ खर्बको अर्थतन्त्र चलायमान बनाउन खोजेको पनि अर्थमन्त्री वाग्लेले प्रस्ट पारे ।

    अब छिट्टै प्रवासी नेपालीहरूलाई पनि नेपालमा लगानी गर्ने वातावरण अघि बढाउने पनि उनले बताए ।


    प्रकाशित : बिहीबार , श्रावण २८ २०८३०९:४०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार