काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन झण्डै ४ महिना लामो उपचार सकेर आज नेपाल फर्कंदै छन् । उनी १आज सोमबार साँझ ८ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आईपुग्ने उनको सचिवालयले जानकारी दिएको छ ।
दुर्लभ वंशाणुगत जण्डिस रोगबाट ग्रसित पुन पुसर २० गते मंगलबार अपराह्न सेनजेनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनबाट डिस्चार्ज भएका हुन्। २२ गते फेरी अस्पताल पुगेका उनलाई चिकित्सकहरुले राम्रो सुधार भएको भन्दै केही दिन आराम गर्न सुझाव दिएका थिए ।
त्यसपछि केही समय चीनमै बसेर फलोअप गएका नेता पुन पुरै निको भएको र अव नेपाल फर्किएपनि हुने चिकित्सिकको सल्लाहपछि नेपाल फर्कन लागेका हुन् । नेता पुनको चीन थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा ३९ दिन र बैंककमा ५९ दिन लामो उपचार भएको थियो ।
लामो समय बस्दा पनि बैंककमा सुधार नभएपछि थप उपचारका लागि पुनलाई चीन सरकारको समेत सहयोगमा सेनजेन लगिएको थियो । वंशाणुगत तथा विश्वमा विरलै देखिने जण्डिस रोगका कारण झण्डै साँढे ३ महिनादेखि उपचार गराइरहेका नेता पुन जण्डिस दोहोरिएपछि असोज १३ गते बैंकक तर्फ लागेका थिए । नेपालमा हुँदा उनको ललितपुरस्थित सुमेरू अस्पतालमा उपचार गरिएको थियो ।

