तनहुँ । बन्दीपुर अस्पतालले ३६५ दिन नै सेवा प्रदान गरेको छ । बन्दीपुर गाउँपालिका मातहत रहेको अस्पतालले शनिबार र सार्वजनिक बिदाका दिनमा समेत सेवा प्रवाह गरेको छ ।
आर्थिक वर्ष २०८२/८३ मा अस्पतालले २३ हजार ९८० जनालाई सेवा प्रदान गरेको अस्पतालका प्रमुख डा. अनिल गिरीले जानकारी दिए ।
उनका अनुसार नियमित बहिरङ्ग सेवातर्फ १२ हजार १७१ तथा अतिरिक्त बहिरङ्ग सेवातर्फ ११ हजार ८०९ जनाले सेवा लिएका छन् ।
नियमित बहिरङ्ग सेवातर्फ बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म टिकट काटेर सेवा प्रदान गरिएको हो भने अतिरिक्ततर्फ कार्यालय खुल्ने दिन बिहान ७ बजेदेखि बिहान १० बजेसम्म, दिउँसो २ बजेदेखि साँझ ८ बजेसम्म र सार्वजनिक बिदाको दिन बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म सेवा प्रदान गरिएको डा. गिरीले जानकारी दिए ।
डा. गिरीका अनुसार साउनमा २,०९९, भदौमा २,३१५, असोजमा २,१८५, कात्तिकमा १,९९६, मङ्सिरमा १,९७७, पुसमा १,८९१, माघमा १,९०५, फागुनमा १,८१८, चैतमा १,८८८, वैशाखमा १,८८०, जेठमा २,०२१ र असारमा २,००५ जनालाई सेवा प्रदान गरिएको थियो ।
अस्पतालले सेवाग्राहीको सहज पहुँचलाई ध्यानमा राख्दै तीन चरणमा सेवा सञ्चालन गर्दै आएको छ । डा. गिरीका अनुसार बिहान ७ बजेदेखि १० बजेसम्म अतिरिक्त सेवा, बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म नियमित सेवा र दिउँसो २ बजेदेखि राति ८ बजेसम्म अतिरिक्त सेवा प्रदान गरिँदै आएको छ ।
सार्वजनिक बिदाका दिन पनि बिहान ७ बजेदेखि राति ८ बजेसम्म सेवा उपलब्ध गराइएको छ । यो सेवा विशेषगरी कर्मचारी, विद्यार्थी, दैनिक ज्यालादारी गर्ने मजदुर, व्यवसायी तथा गृहिणीलाई लक्षित गरी सञ्चालन गरिएको डा. गिरीले बताए ।
-----

