पोखरा । गण्डकी प्रदेशका शिक्षा क्षेत्रका सरोकारवालाले शिक्षकको पेशागत विकास, क्षमता अभिवृद्धि तथा करियर विकासलाई प्राथमिकतामा राख्दै विद्यालय शिक्षाको गुणस्तर सुधार हुने गरी आगामी शिक्षा ऐन निर्माण गर्न सुझाव दिएका छन् ।
शिक्षा तथा खेलकूद मन्त्रालयले आगामी शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा सञ्चालन गरिरहेको ‘शिक्षा संवाद’ अभियानअन्तर्गत पोखरामा आयोजित छलफल तथा अन्तरक्रियामा सहभागी सरोकारवालाले विगतदेखि विद्यालय शिक्षा क्षेत्रमा देखिँदै आएका समस्याको दिगो र नीतिगत समाधान खोज्नुपर्नेमा जोड दिएका हुन् ।
उनीहरूले यस पटक पनि शिक्षा विधेयक आउने अपेक्षा व्यक्त गर्दै विगतका समस्या दोहोरिन नदिने गरी स्पष्ट, व्यावहारिक र कार्यान्वयनयोग्य कानूनी व्यवस्था गर्न मन्त्रालयलाई सुझाव दिएका थिए ।
विद्यालय शिक्षालाई बलियो बनाउन विद्यालय र समुदायबीचको सम्बन्ध सुदृढ गर्दै समुदायको अपनत्व र सहभागिता बढाउनुपर्ने, शिक्षकको क्षमता विकासलाई निरन्तरता दिनुपर्ने तथा विद्यार्थीको सिकाइ उपलब्धि सुधारलाई शिक्षा प्रणालीको केन्द्रमा राख्नुपर्ने सुझाव पनि सहभागीले दिएका थिए ।
पोखरास्थित श्री विन्ध्यवासिनी माध्यमिक विद्यालयमा प्रधानाध्यापक एसोसिएसन नेपालको सहजीकरणमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशमा शिक्षा क्षेत्रमा क्रियाशील विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।
कार्यक्रममा शिक्षा तथा खेलकूदमन्त्रीका सल्लाहकार शैलेन्द्र झा र विद्यालय शिक्षा महाशाखा प्रमुख शिव सापकोटासहित शिक्षक, प्रधानाध्यापक, विद्यार्थी, अभिभावक तथा शिक्षा क्षेत्रका अगुवाहरू सहभागी थिए । उनीहरूले विद्यालय शिक्षा र आगामी शिक्षा ऐनका विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए ।
मन्त्रालयले शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक तथा शिक्षा क्षेत्रका अन्य सरोकारवालासँग प्रत्यक्ष संवाद गरी सुझाव संकलन गरिरहेको छ ।
प्रदेशस्तरमा प्राप्त सुझावलाई आगामी शिक्षा ऐन तथा समग्र शिक्षा सुधारसम्बन्धी नीतिमा समेट्ने मन्त्रालयको तयारी छ ।

