२०८३, कार्तिक १३ गते शुक्रबार

स्वीस सरकारबाट नेपालको टिभेट सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता

स्वीस सरकारबाट नेपालको टिभेट सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता


  • मेरोभ्यूज
  • भाद्र १०, २०८३ बुधबार

  • स्वीस सरकारबाट नेपालको टिभेट सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता

     

    काठमाडौँ । शिक्षा तथा खेलकूद मन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका कार्यवाहक राजदूत माथीयास मायरबीच नेपालको शिक्षा क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ ।

    सिंहदरबारस्थित मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा नेपाल–स्विट्जरल्याण्डबीचको लामो समयदेखिको सम्बन्ध, शिक्षा क्षेत्रमा भइरहेको सहकार्य तथा आगामी दिनमा सहकार्य गर्न सकिने क्षेत्रबारे छलफल भएको हो ।

    भेटमा मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा स्वीस सरकारले लामो समयदेखि गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (टिभेट) क्षेत्रको सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

    उनले टिभेट ऐन अहिले छलफलको क्रममा रहेको जानकारी दिँदै टिभेट क्षेत्रमा सुशासन सुधारका लागि सबै सरोकारवालासँग निरन्तर छलफल गरेर अघि बढ्ने बताए । टिभेट क्षेत्रको व्यवस्थापन र सुशासनमा सुधारसँगै दक्ष जनशक्ति विकासलाई पनि जोड दिइने र यसका लागि स्वीस सरकारसँग थप सहकार्य गर्न सकिने उनको भनाइ थियो ।

    कार्यवाहक राजदूत मायरले नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम क्षेत्रमा स्विस सरकारले लामो समयदेखि सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

    राजदूत मायरले टिभेट क्षेत्रको सुधारका लागि उद्योग र तालिम प्रदायकबिच प्रभावकारी सम्बन्ध तथा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको उल्लेख गरे ।

    नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षासम्बन्धी नीति निर्माण अन्य देशको तुलनामा राम्रो रहेको र यससम्बन्धी तथ्याङ्कसमेत उपलब्ध रहेकाले आगामी दिनमा थप सुधार हुनेमा आफू आशावादी रहेको उनले बताए ।


    प्रकाशित : बुधबार, भाद्र १० २०८३१०:१९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार