२०८३, कार्तिक १३ गते शुक्रबार

बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: "ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ"

बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: "ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ"


  • मेरोभ्यूज
  • भाद्र १८, २०८३ बिहीबार

  • Sahayog Sankalan 17e .jpg.jpeg

    नुवाकोट, विदुर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रमा पुगेर स्थलगत अनुगमन र निरीक्षण गरेको थियो ।

    मन्त्री डा. वाग्ले शनिबार बिहानै नुवाकोटको सदरमुकाम विदुर आइपुगेको थियो । विदुरमा उनले नेपाली सेनाको नेतृत्वमा सञ्चालित 'राहत तथा उद्धार कमाण्ड पोस्ट' पुगेर उद्धार तथा राहत वितरणमा भइरहेका कामहरूबारे जानकारी लिए ।

    सो क्रममा उद्धार कार्यको नेतृत्व गरिरहेका नेपाली सेनाका उपरथी रञ्जित थापाले बाढीपीडितको उद्धार र राहतमा प्रभावकारीरूपमा काम भइरहेको जानकारी दिए । उनले हराइरहेका मानिसहरूको जीवितै उद्धारलाई पहिलो प्राथमिकतामा राखेर बुधबारदेखि नै काम भइरहेको र शनिबारसम्म आइपुग्दा विभिन्न जलविद्युत् परियोजनाको सुरुङमा फसेका मानिसहरूको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिए ।

    उद्धारका साथसाथै विस्थापितलाई अस्थायी बसोबास, खाद्यान्न र अन्य प्रकारका राहत वितरणमा पनि केन्द्रबाट काम भइरहेको जानकारी उनले दिए । सोही क्रममा उनले बाढीग्रस्त क्षेत्रमा तत्काल 'बेलिब्रिज'आवश्यक रहेको बताए ।

    अर्थमन्त्री डा. वाग्लेले उद्धार, उपचार र पुन:स्थापनामा सरकारबाट पूर्ण साथ र सहयोग रहने भन्दै कुनै पनि कुराको अभाव महशुस नगर्न र कुनै पनि खालको सहयोगका लागि निर्धक्क भएर समयमै भन्न नेपाली सेनालाई आग्रह गरे ।

    त्यसपछि अर्थमन्त्री वाग्लेले नेपाली सेनाको गौथली ब्यारेकमा रहेको हवाई उद्धार केन्द्र र राहत सामग्री सङ्कलन एवं वितरण केन्द्रको निरीक्षण गरेका थिए ।

    यसलगत्तै उनले नेपाली सेनाको उद्धार केन्द्रमा आफन्तजन खोज्दै आएका पीडित परिवारजनलाई भेटेर उनीहरूका समस्या सुनेका थिए ।

    नुवाकोट र रसुवाका विभिन्न जलविद्युत् आयोजनामा आफ्ना परिवारका सदस्य फसेको भन्दै उनीहरूको उद्धारका लागि परिवारजनले अर्थमन्त्री वाग्लेको ध्यानाकर्षण गराए ।

    सो क्रममा अर्थमन्त्रीले नेपाली सेनाबाट भएको ब्रिफिङ उद्धृत गर्दै सुरुङमा फसेका नागरिकको उद्धार उच्च प्राथमिकतामा रहेको भन्दै परिवारजनलाई उद्धार हुने कुरामा नेपाली सेना र अन्य सुरक्षाकर्मीमाथी विश्वास गर्न आग्रह गरे ।

    त्यसलगत्तै अर्थमन्त्री वाग्ले बाढीले ध्वस्त भएको ढुङ्गे बजार पुगेका थिए । त्यहाँ भइरहेको उद्धार कार्यको अवलोकन गर्दै उनले पीडित परिवारसँग क्षतिको अवस्था र सरकारले गर्नुपर्ने कामबारे सुझाव लिए ।

    तत्पश्चात् अर्थमन्त्री वाग्ले बाढीले क्षतिग्रस्त बनेको ऐतिहासिक देवीघाट बजार पुगे । त्यहाँ पुगेर उनले बाढीले पुर्याएको क्षतिको अवलोकन गर्दै पीडामा रहेका स्थानीयलाई भेटेर सरकार साथमा रहेको ढाडस दिए ।

    सरकारले हराएका आफन्तको खोजी, राहत, उपचार र पुन:स्थापनामा कुनै कसर बाँकी नराखेको र आगामी दिनमा पनि नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

    त्यसपछि उनले गल्छी-रसुवागढी सडकखण्डअन्तर्गतको देवीघाट र जिलिङ जोड्ने क्षतिग्रस्त पक्की पुल क्षेत्रको अवलोकन गरेका थिए । सँगै, उनले तल्लो पिपलटारमा रहेको आयुर्वेदिक केन्द्र र चन्द्रज्योति स्कूलमा रहेको होल्डिङ सेन्टर पुगेर देवीघाट बजारबाट उद्धार गरिएका स्थानीयहरूलाई भेटेर उनीहरूका समस्या बारे जानकारी लिएका थिए ।

    बाढीबाट बग्दै गरेको अवस्थामा उद्धार गरिएका स्थानीयहरूसँग भेटघाट गरेर उनीहरूको स्वास्थ्य अवस्थाबारे पनि अर्थमन्त्रीले जानकारी लिएका थिए । उनीहरूलाई थप स्वास्थ्य लाभको कामना गर्दै अर्थमन्त्री वाग्लेले सरकारले उचित पुन:स्थापना गर्ने बताए ।

    साथै, स्वास्थ्य उपचारमा खटिएको सशस्त्र प्रहरीको चिकित्सक टोलीसँग पनि भेट गरेर अर्थमन्त्री वाग्लेले स्रोतसाधनको उपलब्धताबारे जानकारी लिएको थिइ ।

    त्यसपछि अर्थमन्त्री डा. वाग्ले र सञ्चारमन्त्री डा. बिक्रम तिमल्सिनाले नुवाकोटका जनप्रतिनिधि तथा राजनीतिक दलका नेतृत्वसँग विपद्पछिको उद्धार, राहत, उपचार र पुन:स्थापनाको समन्वयका लागि छलफल गरेका थिए ।

    जिल्ला समन्वय समितिको हलमा अर्थमन्त्रीको पहलमा बोलाइएको छलफलमा उनले केन्द्र सरकारबाट कुनै पनि खाले स्रोतको अभाव नहुने स्पष्ट पार्दै सबै जना एकजुट भएर विपद्पछिको प्रतिकार्यमा लाग्न आग्रह गरे ।

    केन्द्र सरकारले सबैखाले स्रोत र साधन उपलब्ध गराउने भन्दै उनले आर्थिक स्रोतको अभाव हुन्छ कि भनेर नसोची जनतालाई विपद्‌मा कुनै पनि कुराको अभाव नहुने गरी काम गर्न आग्रह गरे ।

    त्यसपछि मन्त्री वाग्ले दिनभरको उद्धार, राहत र पुन:स्थापना कार्यको अन्तिम सुरक्षा ब्रिफिङ हुने नेपाली सेनाको विदुर कमाण्ड सेन्टर पुगेका थिए । सो क्रममा विपद्पछिको उद्धारमा खटिनु भएका गृहमन्त्री सुदन गुरुङ,सञ्चारमन्त्री बिक्रम तिमल्सिना र नेपाली सेनाका उच्च अधिकारीहरूले गरेको ब्रिफिङ सुनेका थिए ।

    ब्रिफिङअनुसार अहिले जलविद्युत्को सुरुङमा फसेकाहरूको उद्धार उच्च प्राथमिकतामा छ ।

    साथै, नेपाली सेनाको नेतृत्वमा जनपथ र सशस्त्र प्रहरीसहितको टोलीले मृतकको शव सङ्कलन र राहत वितरणलाई तीव्र पारेको छ ।

    Sahayog Sankalan 17g .jpg.jpeg


    प्रकाशित : बिहीबार , भाद्र १८ २०८३०९:५८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार