२०८३, कार्तिक १३ गते शुक्रबार

रसुवा बाढीमा निधन भएका नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”

रसुवा बाढीमा निधन भएका नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”


  • मेरोभ्यूज
  • भाद्र १८, २०८३ बिहीबार

  • रसुवा बाढीमा निधन भएका नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”

     

    काठमाडौँ । रसुवामा गएको बाढीमा नेपालले भोगेको क्षतिप्रति चीन सरकारले गहिरो दुःख व्यक्त गरेको छ। साथै, यो विपत्तिमा नेपाल एक्लै नरहेको र चीन सधैँ साथमा रहेको सन्देश पनि चीनका राष्ट्रपति र प्रधानमन्त्रीले दिएको छ ।

    प्रधानमन्त्री राहत कोषमा चीन सरकारको तर्फबाट घोषणा भएको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेका नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चिनियाँ राष्ट्रपति सी चिनपिङ र चीनका प्रधानमन्त्री ली छियाङको उक्त सन्देश नेपाल सरकारलाई सुनाएको हो ।

    “बाढीको विपत्तिका कारण नेपालमा ज्यान गुमाएका नागरिकप्रति चिनियाँ राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्री ली छियाङले गहिरो दुःख व्यक्त गरेको छ । बाढीमा ज्यान गुमाएकाप्रति उनीहरूले श्रद्धाञ्जली अर्पण गरेको छ,” राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश सुनाउँदै राजदूत झाङ माओमिङले थपेकोछ, “यो दुःखमा नेपाल एक्लै छैन । चीन नेपाल र नेपाली जनताको साथमा छ ।”

    साथै, नेपालको विपद् पछिको उद्धार र राहतमा चीन सरकारले सहयोग निरन्तर जारी राख्ने पनि राजदूत माओमिङले बताए ।

    आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर चिनियाँ राजदूत झाङ माओमिङले झन्डै साढे ३० करोड नेपाली रुपैयाँ (२० लाख अमेरिकी डलर) को चेक हस्तान्तरण गरेको हो ।

    यसैगरी, राजदूत माओमिङले चिनियाँ रेडक्रसले उपलब्ध गराएको तीन करोड छ लाख रुपैयाँबराबर (दुई लाख अमेरिकी डलर) को नगद सहयोग पनि हस्तान्तरण गरेका थिए ।

    राहत रकम हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विशाल प्रलयका कारण नेपाल र चीनले भोगेको विपत्तिको सामना दुवै देशले मिलेर गर्ने बताए । राजदूत माओमिङले नेपालका लागि चीन सरकारले घोषणा गरेका अन्य प्रकारका सहायता सामग्रीहरू पनि नेपाल भित्रिन शुरु भइसकेको जानकारी दिए ।

    आज मात्रै दुईवटा चिनियाँ जहाजले ५० टन टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटजस्ता सहायता सामग्री काठमाडौँमा ओरालेको राजदूत माओमिङले बताए । साथै, थप सहयोग पनि निरन्तर गरिने उनको भनाइ छ ।

    रसुवाको बाढीका कारण चीनतर्फ नै रोकिएका नेपालीहरूलाई मुस्ताङको कोरोला नाका भएर नेपाल फिर्ता ल्याउनका लागि पहल भइरहेको पनि उनले अर्थमन्त्रीलाई अवगत गराए ।

    त्यस्तै, जलविद्युत कम्पनीको सुरुङ (टनेल)मा फसेकाहरूको उद्धारका लागि हिजै चिनियाँ हेलिकप्टरसहितको दक्ष जनशक्ति नेपाल आएको जानकारी गराउँदै राजदूत माओमिङले थप दक्ष उद्धार प्राविधिकहरू आज नेपाल आइपुगेको बताए ।

    नेपाल सरकारले उद्धारका लागि माग गरेको ठूलो परिमाणमा सामान बोक्न सक्ने ड्रोन नेपाल ल्याउनका लागि चीन सरकारले द्रूत गतिमा काम गरिरहेको कुरा पनि उनले अर्थमन्त्रीलाई जानकारी दिए ।


    प्रकाशित : बिहीबार , भाद्र १८ २०८३१०:१८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार