२०८३, कार्तिक १३ गते शुक्रबार

शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल

शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल


  • मेरोभ्यूज
  • भाद्र १९, २०८३ शुक्रबार

  • शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल

     

    काठमाडौँ । शिक्षा तथा खेलकूदमन्त्री सस्मित पोखरेलले शिक्षा ऐन तर्जुमासहित शिक्षक महासङ्घले उठाउँदै आएका विभिन्न सवालबारे नेपाल शिक्षक महासङ्घका अध्यक्ष र प्रतिनिधिसँग छलफल गरेको छ ।

    सिंहदरबारस्थित शिक्षा तथा खेलकूद मन्त्रालयमा हालै भएको छलफलमा शिक्षा ऐनलाई शीघ्र टुङ्गोमा पुर्याउने तथा महासङ्घले विगतमा उठाउँदै आएका विषयलाई दुईपक्षीय संवादमार्फत समाधान गर्ने विषयमा कुराकानी भएको थियो ।

    त्यसैगरी हालैको रसुवाको भोटेकोशी नदामा आएको बाढीको बिपद् र प्रभावित विद्यार्थीको अध्ययनलाइ निरन्तरता दिन गर्नुपर्ने उपायकाबारेमा पनि छलफल भएको छियो ।

    छलफलमा शिक्षामन्त्री पोखरेलसहित मन्त्रालयका उच्च अधिकारी, नेपाल शिक्षक महासङ्घका अध्यक्ष र प्रतिनिधि सहभागिता थियो ।

    सो अवसरमा मन्त्री पोखरेलले विद्यालय शिक्षा ऐन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिँदै छुटेका विषय तथा प्राप्त राय-सुझावलाई ऐनमा समेट्ने बताए । उनले नयाँ शिक्षा ऐनले गुणस्तरीय शिक्षाको सुनिश्चिततासँगै विद्यार्थीलाई स्वदेशमै गुणस्तरीय शिक्षा हासिल गर्ने वातावरण निर्माणमा जोड दिने उल्लेख गरे ।

    विद्यालय शिक्षा तथा उच्च शिक्षा सुधारका लागि सबै सरोकारवाला जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिँदै मन्त्री पोखरेलले विद्यार्थीलाई स्वदेशमै रोक्न गुणस्तरीय शिक्षा र अवसरको वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याए ।

    उनले विपद्का समयमा विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न विद्यालयमा समय-समयमा विपद् व्यवस्थापनसम्बन्धी अभ्यास गराउनुपर्ने बताए ।

    शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले विद्यालय शिक्षा सुधारका लागि विद्यालय शिक्षा ऐनलाई थप समृद्ध बनाएर अघि बढाउनुपर्ने बताए । शिक्षा क्षेत्रका समस्या समाधानका लागि मन्त्रालय र महासङ्घबीचको सहकार्यलाई थप बलियो बनाउनुपर्नेमा उनले जोड दिए ।

    मन्त्रालयका सह-सचिव शिवकुमार सापकोटाले शिक्षक महासङ्घले उठाएका विषयलाई प्रक्रियागतरूपमा संवाद र सहमतिका माध्यमबाट अघि बढाउनुपर्ने बताए ।

    महासङ्घका अध्यक्ष सुवेदीले आफूहरूले उठाएका सवाल संवादमार्फत समाधान गर्न सकिने धारणा राखे । विद्यालय शिक्षा ऐन शीघ्र जारी भए शिक्षक महासङ्घ सबैभन्दा खुसी हुने बताउँदै उनले मन्त्रालयसँगको संवाद र सहकार्यबाट शिक्षा क्षेत्रका समस्याको समाधान खोज्न सकिने उल्लेख गरे ।

    छलफलमा सहभागी अन्य शिक्षक सङ्गठनका पदाधिकारीले पनि मन्त्रालयसँगको संवाद र सहमतिका आधारमा शिक्षा क्षेत्रका समस्या समाधान गर्नुपर्ने धारणा राखेका थिए ।


    प्रकाशित : शुक्रबार, भाद्र १९ २०८३११:०१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार