जनकपुरधाम (धनुषा) । राजर्षिजनक विश्वविद्यालयले यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
विश्वविद्यालय कार्यकारी परिषद्को निर्णय अनुसार विश्वविद्यालयअन्तर्गत विभिन्न तहका पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट निश्चित रकम कट्टागरी कोषमा जम्मा गरिने भएको हो ।
विश्वविद्यालयका अनुसार उपकुलपति र रजिष्ट्रारको एक महिनाको तलब बराबरको रकम कट्टा गरिनेछ । त्यस्तै, डीन, निर्देशक, नियन्त्रक, प्राध्यापक, प्रशासक, सहप्राध्यापक, सहप्रशासकलगायत सो सरहका शिक्षक तथा कर्मचारीबाट मासिक शुरु तलब स्केलको १५ दिन बराबरको रकम कट्टा गरिनेछ ।
सहायक डीन, सह-नियन्त्रक, उप-प्राध्यापक, उप-प्रशासक वा सो सरहका कर्मचारीबाट १० दिनको, सहायक प्राध्यापक तथा शाखा अधिकृत वा सो सरहका कर्मचारीबाट सात दिनको तलब बराबरको रकम कट्टा गर्ने निर्णय भएको विश्वविद्यालयले जनाएको छ ।
यसैगरी, मुख्य कार्यालय सहायक, कार्यालय सहायक वा सो सरहका कर्मचारीबाट पाँच दिन तथा सवारी चालक, कार्यालय सहयोगीलगायत श्रेणीविहीन कर्मचारीबाट दुई दिनको तलब बराबरको रकम कट्टा गरिनेछ ।
उक्त रकम २०८३ साल भदौ महिनाको तलब भुक्तानी गर्दा कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिने विश्वविद्यालयको रजिष्ट्रार कार्यालयले जनाएको छ ।
विश्वविद्यालयका रजिस्ट्रार डा. जीवन काफ्लेद्वारा जारी सूचनामा विपदबाट प्रभावित परिवार तथा समुदायको राहत एवं पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले रकम कट्टा गर्न लागिएको उल्लेख छ ।
बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै विश्वविद्यालयले दुःख तथा समवेदना व्यक्त गरेको छ ।

