२०८३, कार्तिक १३ गते शुक्रबार

धर्म र पर्यटनलाई जोड्दै मझुवागढी

धर्म र पर्यटनलाई जोड्दै मझुवागढी


  • मेरोभ्यूज
  • भाद्र २३, २०८३ मंगलबार

  • धर्म र पर्यटनलाई जोड्दै मझुवागढी

     

    खोटाङ । जिल्ला सदरमुकाम दिक्तेल बजारस्थित हाटडाँडाबाट सिँढीहरू चढ्दै करिब ४५ मिनेट उकालो पार गरेपछि मझुवागढी पुगिन्छ ।

    प्राकृतिक सुन्दरतासँगै कालिका भगवती मन्दिर, बुधेश्वर महादेव मन्दिर (गुफा), किरातीहरूको ऐतिहासिकस्थलजस्ता ऐतिहासिक एवं धार्मिक महत्त्वका स्थलहरूले यहाँको महिमा र गरिमालाई अझ उचो बनाएका छन् ।

    पैदलयात्रा गरी माथि पुगिसकेपछि भने हरियालीयुक्त भूगोलसँगै तीर्थस्थलका साथै यहाँबाट देखिने दिक्तेल बजारसहित वरपरको रमणीय दृश्यले जोकोहीलाई मोहित गराउँछ ।

    पछिल्लो समयमा व्यवस्थित गर्दै लगिएका पूर्वाधारले पनि गढीसम्मको यात्रालाई थप व्यवस्थित बनाएको बुधेश्वर महादेव मन्दिरका पुजारी नवराज घिमिरेले बताए । उनका अनुसार यो क्षेत्र धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ ।

    विशेष गरी बालाचतुर्दशी, रामनवमी, शिवरात्रि, हरिबोधनी एकदशी, हरितालिका तीजलगायतका महत्त्वपूर्ण तिथिमिति र चाडपर्वमा यस क्षेत्रमा दर्शनार्थीहरूको ठूलो घुइँचो लाग्ने गरेको उनले बताए ।

    उनका अनुसार हलेसी महादेव मन्दिर आउने अधिकांश दर्शनार्थी दिक्तेलमा आएर यहाँस्थित कालिका भगवती र बुधेश्वर महादेवको दर्शन तथा पूजाआजा गरेर फर्कने गरेका छन् ।

    पुजारी घिमिरेका अनुसार दिक्तेल बजारको हाटडाँडा हुँदै माथि उकालो चढेपछि सुरुमा बुधेश्वर महादेव मन्दिर (गुफा) आउँछ । करिब ३० मिटर लामो यस गुफाभित्र विभिन्न देवीदेवताका प्रकृतिले कुँदिएका तस्विरजस्ता आकृतिहरू अवलोकन गर्न सकिन्छ । गुफाभित्र ठूलो सङ्ख्यामा चमेराहरू पनि छन् ।

    गुफाबाट केही माथि उक्लेपछि कालिका भगवतीको मन्दिर आउँछ । घिमिरेका अनुसार स्थानीय रणवीर राई र वीरन्ची आचार्यले सपनामा यहाँ मन्दिर भएको देखेका थिए । उनीहरूलाई सामु कटुवाल भन्ने व्यक्तिले यो स्थान खोज्न सघाएको भन्ने किम्बदन्ती रहेको उनले जानकारी दिए ।

    मनले चिताएको पुग्ने विश्वासका साथ मन्दिरमा दिक्तेलका साथै टाढाटाढाबाट भाकलसहित पूजाआजाका लागि भक्तजन आउने गरेका उनले बताए ।

    उनका अनुसार कालिका भगवती मन्दिरमा पूजा गर्ने विधि र प्रक्रियामा विभिन्न मौलिकता रहेका छन् ।

    “कालिका भगवतीमा गरिने बलीपूजाका लागि २७ दिनदेखि तीन महिनाभित्रको पाठी मात्र प्रयोग गर्ने प्रचलन छ”, पुजारी घिमिरेले भने, “बलि दिइएको पाठीको रगत नौ वर्षभन्दा माथिका महिलाले टेक्न नहुने र प्रसादका रूपमा पनि ग्रहण गर्न नहुने परम्परा छ ।”

    बलि दिइएको पाठीको मासु घरमा लैजान नहुने बताउँदै उनले पश्चिममा काँडे ओढार, दक्षिणमा गढी डाँडा, पूर्वमा सरने ओढार र उत्तरमा हाट डाँडाभित्र मात्रै पकाएर खानुपर्छ भन्ने प्रचलन रहेको जानकारी दिए ।

    बलि दिइएको पाठीको मासु उक्त चार किल्लाभित्र खाएर नसकेमा त्यहीँ व्यवस्थापन गर्नुपर्ने तर घर लैजान नहुने परम्परा रहेको उनले बताए ।

    यहाँस्थित कालिका भगवती मन्दिरमा आचार्य थरका र बुधेश्वर महादेव मन्दिरमा घिमिरे थरका व्यक्तिहरूले पूजाआजा गर्दै आएका छन् ।

    वि.सं. १६६३ देखि बुधेश्वर मन्दिरमा आफूहरूले विगत आठ पुस्तादेखि निरन्तर पूजाआजा गर्दै आएको घिमिरेले जानकारी दिए ।

    “कालिका भगवती मन्दिरको केहीमाथि वनभोजस्थल छ । विशेष गरी वनभोजको याममा यहाँ ठूलो सङ्ख्यामा समूह-समूहमा मिलेर सर्वसाधारण वनभोजका लागि आउँछन्”, उनले भने ।

    पछिल्लो समयमा यो क्षेत्र धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनिरहेको कालिका भगवती मन्दिरका पुजारी युवराज आचार्यले बताए ।

    विशेष तिथिमितिका साथै पर्व विशेषमा मन्दिरमा ठूलो भीडभाड हुने गरेको जनाउँदै उनले मन्दिरमा एकैदिनमा एक सय १३ वटा पाठी बलि दिइएको तथ्याङ्क रहेको उल्लेख गरे ।

    रमणीय वन जङ्गलसँगै गुराँस फुल्ने याममा यो क्षेत्र अझै रमणीय देखिने गरेको छ । जङ्गलको केही पर किरातीहरूको ऐतिहासिक मझुवागढी यहाँको अर्को आकर्षण हो ।

    किराती राजा रणवीर राईले तत्कालीन समयमा राज्य सञ्चालन गर्दाका विभिन्न अवशेष यहाँ रहेको स्थानीयवासी बताउँछन् ।

    पछिल्ला वर्षमा विभिन्न सेवा, पेसा र व्यवसायमा रहेका व्यक्तिसँगै विभिन्न उमेर समूहका व्यक्तिहरूको रोजाइमा मझुवागढी क्षेत्र पर्ने गरेको अर्का स्थानीयवासी भानुभक्त आचार्यले बताए ।

    यस क्षेत्रको प्रचार-प्रसार गर्दै धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्नुपर्ने उनको भनाइ छ ।

    मझुवागढीको प्रवर्द्धन र विकाससँगै यहाँको सौन्दर्यीकरणका लागि पछिल्ला वर्षमा सङ्घ, प्रदेश तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले लगानी बढाइरहेका छन् ।

    मझुवागढीलाई सांस्कृतिक विविधतामा आधारित विशिष्ट पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ यहाँ विभिन्न मूर्तिकारहरूले तयार गरेका मूर्तिहरू राख्ने तयारीसमेत गरिएको छ ।


    प्रकाशित : मंगलबार, भाद्र २३ २०८३०९:४५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार