२०८३, कार्तिक १२ गते बिहीबार

एसियाली खेलकूदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाई

एसियाली खेलकूदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाई


  • मेरोभ्यूज
  • भाद्र २५, २०८३ बिहीबार

  • Spokesperson Pokharel 25f .jpg.jpeg

    काठमाडौँ । शिक्षा तथा खेलकूदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाई गरेको छ ।

    शिक्षा तथा खेलकूद मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री पोखरेलले नेपाली टोलीलाई शुभकामनासहित बिदाई गरेको हो ।

    बिदाइ कार्यक्रममा मन्त्री पोखरेलले अन्तरराष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्नु आफैँमा गौरवको विषय भएको बताउँदै खेलाडीलाई उच्च मनोबलका साथ प्रतिस्पर्धामा उत्रन आग्रह गरेका थिए । उनले व्यक्तिगत प्रदर्शनसँगै राष्ट्रको प्रतिष्ठा र गौरवलाई ध्यानमा राखेर खेल्न खेलाडीलाई सुझाव दिएका थिए ।

    “देशको प्रतिनिधित्व गरेर जान लाग्नुभएको छ । सीमित स्रोत र साधनका बाबजुद मेहनत गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु,” मन्त्री पोखरेलले भने, “प्रतियोगितामा सहभागी हुनु जित्नकै लागि हो । तर जिते पनि नजिते पनि खेलाडीको सम्मान राज्यका तर्फबाट घट्ने छैन । अहिले जसरी बिदाई गरिएको छ, भोलि जितेर आए पनि हारेर आए पनि त्यति नै सम्मानका साथ स्वागत गर्नेछौँ ।”

    उनले नेपाली खेलाडीमा पर्याप्त प्रतिभा र क्षमता रहेको उल्लेख गर्दै अन्तरराष्ट्रियस्तरमा राम्रो नतिजा हासिल गर्न सरकारबाट आवश्यक सहयोग र सहजीकरण गरिने बताए । खेलाडीको क्षमता विकास, प्रशिक्षण, खेल पूर्वाधार तथा खेल क्षेत्रको समग्र विकासलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो ।

    दुई सय ११ सदस्यीय टोली जापान जाने

    जापानमा आगामी असोज ३ देखि १८ गतेसम्म आयोजना हुने २०औँ एसियाली खेलकूदमा नेपालबाट दुई सय ११ सदस्यीय टोली सहभागी हुँदैछ ।

    टोलीमा २१ खेलका एक सय ३५ खेलाडी रहेका छन् । तीमध्ये ५७ महिला र ७८ पुरुष खेलाडी छन् । टोलीमा २९ प्रशिक्षक, १७ व्यवस्थापक तथा खेल प्राविधिक, मेडिकल टिमका छ सदस्य, चार पत्रकार तथा विशिष्ट अतिथि, सेभ द मिसन, डेपुटी सेभ द मिसन र अन्य अधिकारीसमेत सहभागी हुनेछन् ।

    नेपालले सन् १९५१ मा भारतमा भएको पहिलो एसियाली खेलकूददेखि सहभागिता जनाउँदै आएको छ । पहिलो संस्करणमा एथलेटिक्सतर्फ मात्र नौ सदस्यीय टोली सहभागी भएको नेपालले यसपटक २१ खेलमा प्रतिस्पर्धा गर्नेछ ।

    नेपालले एसियाली खेलकूदमा पहिलो पदक सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको १०औँ संस्करणमा जितेको थियो । त्यसयता नेपाल एसियाली खेलकूदबाट पदकविहीन भएर फर्किएको छैन ।

    सरकारले खेलाडीको क्षमता विकासका लागि वैदेशिक प्रशिक्षण तथा अन्तरराष्ट्रिय एक्सपोजरको व्यवस्था गर्दै आएको जनाएको छ । विदेशमा प्रशिक्षणरत केही खेलाडी त्यहीँबाट जापान पुग्नेछन् ।

    नेपालमा रहेका खेलाडीलाई विदेशी प्रशिक्षकमार्फत प्रशिक्षण दिइएको छ । तीन वर्षदेखि विशेष प्रशिक्षणमा रहेका खेलाडीलाई पछिल्लो दुई महिनादेखि बन्द प्रशिक्षणमा राखेर उच्चस्तरीय तयारी गराइएको जनाइएको छ ।

    यस पटक कबड्डीमा सबैभन्दा बढी २४ खेलाडी सहभागी हुनेछन् । क्रिकेटमा १५, भलिबलमा १२, उसुमा १०, करातेमा आठ, बक्सिङमा सात तथा जुडो, एथलेटिक्स, टेबल टेनिस र कुस्तीमा समान छ–छ खेलाडी सहभागी हुनेछन् ।

    खेल तालिकाअनुसार नेपाली खेलाडी जापान जाने क्रम शुरु भइसकेको छ । विभिन्न खेलका खेलाडी प्रतियोगिताको तालिकाअनुसार फरक–फरक मितिमा जापान पुग्नेछन् ।

    Spokesperson Pokharel 25e .jpg.jpeg


    प्रकाशित : बिहीबार , भाद्र २५ २०८३११:०३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार