दाङ । यहाँस्थित जखेरा तालको मनमोहक दृश्यले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याइरहेको छ ।
दाङको लमही नगरपालिका–३ मा पर्ने जखेरा सरोवर उत्कृष्ट पर्यटकीय केन्द्रका रूपमा परिचित छ ।
चुरे पहाडको फेदमा जखेरा अवस्थित छ । नजिकै मुसुण्डी गाउँ, उत्तरतर्फ चुरे पहाड र पहाडको बीचमा सरोवर छ । यस्तै दृश्यले यहाँ आउने जो कोही लठ्ठ पर्ने गरेको बताइन्छ ।
गत वैशाख र जेठ महिनामा ताल अवलोकनका लागि झण्डै दुई लाख आन्तरिक तथा बाह्य पर्यटक आएका तालका कर्मचारी ओमभक्त चौधरीले जानकारी दिए ।
सरोवरमा घुमघाम र वनभोजका लागि आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । ताल झण्डै आठ बिघा क्षेत्रफलमा फैलिएको छ । यसको गहिराइ सात फिट रहेको छ । उत्तरतर्फ गणेश तथा पूर्वमा सिद्देश्वर महादेवको मन्दिर पनि छ ।
जलाशयमा डुङ्गाबाट सयर गर्न सकिन्छ, तालका बीचमा मन्दिरको पूजा पनि गर्न सकिन्छ ।
पूर्वमा भगवान् गौतम बुद्धको मूर्ति, वरपर वनभोज स्थल, बगैँचा, जलविहार, प्राकृतिक पदयात्रा, चरा तथा अन्य जीवजन्तुको अवलोकन यहाँ गर्न सकिन्छ ।
सरोवरमा पाँच वटा डुङ्गा छन् । सङ्ख्या कम भएकाले डुङ्गा चढ्न नपाइ केही पर्यटक दुःखी पनि भएका छन् ।
एक व्यक्तिले तालमा डुङ्गा चढेर जलविहार गरेमा रु. एक सय तथा मन्दिर दर्शनका लागि रु. ५० शुल्क निर्धारण गरिएको छ ।
तुलसीपुरबाट आएकी ४८ वर्षीया निरा कुँवरले तालको अवलोकनबाट आनन्दित भएको बताइन् । उनले तालको सरसफाइमा ध्यान पुगेको छैन भनिन् ।
तुलसीपुरका अर्की ३७ वर्षीया शारदादेवी ओलीले जलाशयको आकर्षण देखेर मन लोभिएको बताइन् ।
जनश्रमदान र राज्यका निकायले गरेको सहयोगले उक्त जलाशय जिल्लाकै मुख्य पर्यटकीय केन्द्रका रूपमा विकास भएको छ ।
स्थानीय थारु भाषामा जुन ठाउँमा आकाशे पानी सङ्कलन हुन्छ, त्यस ठाउँलाई जखेरा भनिन्छ ।
वि.सं. २०३० मा साविकको सोनपुर गाविस हालको लमही नगरपालिका–३ मा जखेरा ताल रहेको थियो । जखेराको संरक्षणका लागि स्व. दिपु चौधरीको भूमिका महत्त्वपूर्ण थियो ।
उनले सोनपुर, टिकुलीगढ, फल्कापुर र श्रीगाउँका स्थानीय बुद्धिजीवीहरूसँग सहकार्य गरी खेर गइरहेको आकाशे पानी सङ्कलन गर्न थाले ।
क्रमशः यो पोखरी बन्न पुग्यो । सो पोखरीमा वन क्षेत्रबाट बगेर आएको पानीसमेत जम्मा हुन थाल्यो ।
सिँचाइ सुविधाका लागि सङ्कलन गरिएको ठूलो पोखरी अन्ततः लामो समयपछि जखेरा तालका नाममा परिचित छ ।
दाङको लमही बजारबाट छ किलोमिटर पूर्व र सुनडबरी गाउँबाट उत्तर दुई किलोमिटर टाढा जखेरा ताल पर्छ ।
पूर्व-पश्चिम राजमार्गबाट नजिकै रहेकाले भारत तथा तेस्रो मुलुकबाट पनि जखेराको अवलोकनका लागि पर्यटक आउने गर्छन् ।

