२०८३, कार्तिक १३ गते शुक्रबार

मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल

मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल


  • मेरोभ्यूज
  • भाद्र २९, २०८३ सोमबार

  • Spokesperson Pokharel 29e .jpg

    काठमाडौँ । सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को नयाँ क्याम्पस स्थापना गर्ने तयारी अघि बढाएको छ ।

    शिक्षा तथा खेलकूदमन्त्री सस्मित पोखरेलले मधेश प्रदेशमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न र इन्जिनियरिङ अध्ययनका लागि विद्यार्थीले अन्य प्रदेशमा जानुपर्ने बाध्यता अन्त्य गर्न क्याम्पस स्थापना गर्न लागिएको बताएको हो ।

    मधेश प्रदेशबाट प्रत्येक वर्ष ठूलो संख्यामा विद्यार्थी इन्जिनियरिङ अध्ययनका लागि काठमाडौँलगायत अन्य प्रदेशमा जाने गरेका छन् ।

    यसले विद्यार्थी तथा अभिभावकमाथि अतिरिक्त आर्थिक भार पर्नुका साथै बसाइँ तथा अन्य व्यावहारिक समस्या सिर्जना गर्दै आएको छ ।

    मन्त्री पोखरेलका अनुसार नयाँ क्याम्पस स्थापनाका लागि उपयुक्त स्थान छनोट गर्ने प्रक्रिया अघि बढाइएको छ ।

    यसका लागि विशेष अध्ययन समिति गठन गरिनेछ र समितिको प्रतिवेदनका आधारमा क्याम्पस स्थापनाको स्थान तय गरिनेछ ।

    क्याम्पस निर्माण तथा सञ्चालनको निश्चित समयसीमा तय भइनसकेको भए पनि आगामी तीन वर्षभित्र पठन-पाठन शुरु गर्ने गरी आन्तरिक तयारी भइरहेको मन्त्री पोखरेलले जानकारी दिए ।

    नयाँ क्याम्पसलाई परम्परागत शिक्षामा मात्र सीमित नराखी अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित गर्ने सरकारको योजना छ ।

    आधुनिक प्रविधि, वैज्ञानिक अनुसन्धान, आविष्कार तथा व्यावहारिक प्रयोगलाई प्राथमिकता दिँदै क्याम्पसलाई अनुसन्धानको केन्द्रका रूपमा विकास गर्ने तयारी गरिएको छ ।

    सरकारले मधेशमा इन्जिनियरिङ अध्ययन संस्थानको क्याम्पस स्थापना भएपछि यस क्षेत्रका विद्यार्थीलाई आफ्नै प्रदेशमा गुणस्तरीय प्राविधिक शिक्षा हासिल गर्ने अवसर बढ्ने अपेक्षा गरेको छ ।

    साथै, स्थानीयस्तरमै अनुसन्धान तथा प्राविधिक नवप्रवर्तनको वातावरण निर्माण हुने विश्वास गरिएको छ ।

    हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानका आङ्गिक क्याम्पसहरू पुल्चोक, थापाथली, धरान, चितवन र पोखरामा सञ्चालनमा छन् ।

    मधेश प्रदेशमा नयाँ क्याम्पस स्थापना भएमा इन्जिनियरिङ शिक्षाको भौगोलिक पहुँच विस्तार हुने अपेक्षा गरिएको छ ।

    Spokesperson Pokharel 29f .jpg


    प्रकाशित : सोमबार, भाद्र २९ २०८३११:४२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार