२०८३, कार्तिक १३ गते शुक्रबार

बालुवाटारमा देउवा, प्रचण्ड र ओली, के भयाे कुराकानी ?

बालुवाटारमा देउवा, प्रचण्ड र ओली, के भयाे कुराकानी ?


  • मेरोभ्यूज
  • माघ २३, २०७८ आइतबार

  • बालुवाटारमा देउवा, प्रचण्ड र ओली, के भयाे कुराकानी ?

    काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा स्थानीय तहको निर्वाचन, संसद्को गत्यावरोधको अन्त्य तथा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लगायतका विषयमा छलफल भएको हो ।

    छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले महासचिव शङ्कर पोखरेलले सरकार र प्रतिपक्षीबीच सम्वादको क्रम सुरु भएको जानकारी दिए । प्रधानमन्त्री देउवाले यसलाई निरन्तरता दिने र नियमित छलफल गर्ने सो अवसरमा प्रतिबद्धता जनाउनुभएको उनको भनाइ छ ।

    सो अवसरमा प्रधानमन्त्रीले एमालेलाई एमसीसीलगायतका विषय अगाडि बढाउन सहयोग गर्न आग्रह गरेका थिए । बैठकमा माओवादीका अध्यक्ष प्रचण्डले एमसीसीलाई सङ्घीय निर्वाचन पछाडि मात्रै सम्बोधन गर्ने गरी प्रमुख प्रतिपक्षीसहित आग्रह गरौं भन्ने धारणा राख्नुभएको महासचिव पोखरेलको भनाइ छ ।

    सो सन्दर्भमा सत्ता पक्षले सरकार र गठबन्धनको तर्फबाट प्रष्ट धारणा राख्न एमालेले आग्रह गरेको थियो । प्रधानमन्त्रीले राष्ट्रिय सरोकारका मुद्दामा छलफल हुने वातावरण बनाउन र संसद्को बैठक नियमित कारबाहीमा प्रवेश गर्ने वातावरण बनाउन प्रमुख प्रतिपक्षीलाई आग्रह गरेका थिए ।

    प्रधानमन्त्रीको सो आग्रहका सन्दर्भमा एमालले आफूहरू उपस्थित भएर भाग लिने वातावरण बनाउन तयार भएको र त्यसका लागि आफूहरूले कारबाही गरेका १४ सांसदको विषयमा सभामुख अग्निप्रसाद सापकोटाले गरेको निर्णयका कारण असजिलो भएको धारणा राखेको थियो ।

    “१४ गैरसांसदलाई राखेर संसद्लाई राखेर प्रतिनिधिसभा चलाउने भनिएको छ । दलले कारबाही गरेका व्यक्तिलाई राखेर सदन चलाउने कुरा हुन सक्दैन । त्यो निर्णय सच्चिनुपर्छ । यदि नसच्याउने हो भने सभामुखले मार्ग प्रशस्त गर्नुपर्छ”, महासचिव पोखरेलले भने ।

    छलफलमा स्थानीय तहको निर्वाचन, कोभिडको खोपको अपचलन र एक विभागीय मन्त्रीले हिंसालाई प्रोत्साहन गरेको र उहाँलाई कुनै कारबाही नभएको सन्दर्भमा एमालले सरकारको ध्यानकर्षण गराएको थियो । मुलुकमा देखिएको वित्तीय सङ्कटको बारेमा छलफल भएको र सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने एमालेको आग्रह थियो । 


    प्रकाशित : आइतबार, माघ २३ २०७८०९:३२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार