२०८३, कार्तिक १३ गते शुक्रबार

राष्ट्रिय सहमतिमा एमसिसी अगाडि बढाउनुपर्ने माओवादी निर्णय

राष्ट्रिय सहमतिमा एमसिसी अगाडि बढाउनुपर्ने माओवादी निर्णय

जवरजस्ती संसदमा टेबल गरिए सरकार छाड्ने चेतावनी


  • मेरोभ्यूज
  • फाल्गुण ४, २०७८ बुधबार

  • राष्ट्रिय सहमतिमा एमसिसी अगाडि बढाउनुपर्ने माओवादी निर्णय

    काठमाडाैं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)ले यथास्थितिमा एमसिसी सम्झौता संसद्मा टेबल गरिए विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले एमसिसी सम्झौतामा रहेका असमान शर्त तथा राष्ट्रिय हित प्रतिकूलका प्रावधान परिमार्जन नभई पक्षमा मतदान गर्न नसकिने निर्णय गरेको हो ।

    “एमसिसी सम्झौता यथास्थितिमा अगाडि बढाउन सकिँदैन, पास गर्न सकिँदैन । जबजस्ती एमसिसी टेबल गरिए त्यसको विपक्षमा मतदान गर्ने निर्णय भएको छ”, बैठकपछि माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङले भने ।

    बैठकले एमसिसीमा रहेका राष्ट्रिय हितअनुकूलका प्रावधान संशोधन नगरी यसलाई अगाडि बढाउन नसकिने निष्कर्षसमेत निकालेको छ । “अहिले विपक्षी पार्टीले संसद् अवरोध गरिरहेको अवस्था छ । सदन सुचारु गर्न जोड दिने, सदन सुचारु नगरी कुनै पनि एजेण्डा अगाडि बढ्न नसक्ने माओवादीको निष्कर्ष छ”, उनले भने ।

    बैठकले सदन सूचारु गर्न विपक्षी नेकपा (एमाले)सँग पनि आग्रह गर्ने निर्णयसमेत गरेको छ । राष्ट्रिय सहमति जुटाएर मात्र एमसिसी सम्झौतालाई अगाडि बढाउनुपर्ने निष्कर्ष माओवादी बैठकले निकालेको छ । “राष्ट्रिय सहमतिबिना एमसिसी अगाडि बढ्न सक्दैन, गठबन्धनमा रहेका दलहरुका बीचमा सहमति हुनुपर्छ, दलहरुका बीचमा सहमति नभई यो अगाडि बढ्न सक्दैन”, प्रमुख सचेतक गुरुङले भने ।  

    “पाँच दलीय गठबन्धनको निर्णयबिना सरकार एक्लै अगाडि बढ्ने अवस्था हुँदैन”, उनले भने, “सरकारले गठबन्धन तोडेर जबरजस्ती गरेको अवस्थामा सरकारमा रहने सम्भावना रहँदैन ।”


    प्रकाशित : बुधबार, फाल्गुण ४ २०७८०१:५९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार