२०८३, कार्तिक १४ गते शनिबार

स्थानीय तह निर्वाचनका लागि दल दर्ता शुरु, आयोगमा आज तीन दल दर्ता

स्थानीय तह निर्वाचनका लागि दल दर्ता शुरु, आयोगमा आज तीन दल दर्ता


  • मेरोभ्यूज
  • फाल्गुण ५, २०७८ बिहीबार

  • स्थानीय तह निर्वाचनका लागि दल दर्ता शुरु, आयोगमा आज तीन दल दर्ता

    काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि आजदेखि दल दर्ता शुरु गरेको छ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि आज आयोगमा तीन वटा राजनीतिक दर्ता भएका छन् । सरकारले आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति तोकेको छ । 

    राजनीतिक दल सम्बन्धी ऐन, २०७३, राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ तथा प्रचलित संघीय कानून बमोजिमका प्रावधान पालना गर्ने शर्तमा जनता प्रगतिशील पार्टी नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी तीन वटा राजनीतिक दल दर्ता भएको आयोगले जनाएको छ । 

    बिहीबार आयोजित नियमित पत्रकार भेटघाटमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले हालसम्म दर्ता हुने राजनीतिक दलको संख्या १०६ पुगेको जानकारी दिए । यसअघि दर्ता भएका राजनीतिक दललाई निर्वाचन प्रयोजनका लागि यही फागुन १५ गतेभित्र आयोगमा दर्ता गर्न आज सूचना प्रकाशन गरिएको छ । 

    आयोगले निर्वाचनमा जनशक्ति परिचालनको कार्यलाई सरल र सहज बनाउनका लागि जनशक्ति व्यवस्थापन निर्देशिका, २०७८ स्वीकृत गरेको छ । सम्बन्धित पालिकामा कार्यरत जनशक्तिलाई सोही पालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा परिचालन गरी निर्वाचनलाई मितव्ययी बनाउन प्रयास गरिएको उहाँले बताउनुभयो । 

    मतपत्र छपाइका लागि आवश्यक पर्ने कागजको स्पेसिफिकेसन र लागत अनुमान स्वीकृत गरी ‘इ–विडिङ’को माध्यमबाट खरिद प्रक्रिया अगाडि बढाइएको तथा मतदान केन्द्रमा प्रयोग हुने विभिन्न ५३ प्रकारका निर्वाचन सामग्रीको स्पेसिफिकेशन स्वीकृत गरिएको आयोगले जनाएको छ । 

    यस्तै जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गर्ने प्रयोजनका लागि न्यायपरिषद्सँग परामर्श गरी तथा न्याय सेवाका राजपत्रांकित अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्ति गर्ने प्रयोजनको लागि न्याय सेवा आयोगसँग परामर्श गरी यही फागुन १५ सम्ममा नामावली उपलब्ध गराउन कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई गरिएको आयोगका प्रवक्ता पौडेलले जानकारी दिए । 

    निर्वाचन अधिकृतमा नियुक्ति गर्न नेपाल प्रशासन सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतको नामावली उपलब्ध गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग अनुरोध गरिएको उहाँले बताउनभुयो । 

    स्थानीय तह आर्थिक कार्यविधि, २०७८ तयार गरी सहमतिको लागि अर्थमन्त्रालयमा पठाइएको आयोगले जनाएको छ । निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रमका लागि आयोगले उत्पादन गर्ने निर्वाचन गीत सन्देशमूलक सन्देश, संवादमुलक सन्देश, लघुकथा आदि लेखनका लागि प्रतियोगितात्मक कार्यक्रम संचालन गर्न सूचना प्रकाशन गरिएको प्रवक्ता पौडेलले जानकारी दिए । आयोगले उत्कृष्ट सिर्जनालाई पुरस्कृत गर्ने घोषणा समेत गरेको छ । 

    स्थानीय तहको निर्वाचनमा अन्तर्राष्ट्रिय सहायता प्राप्तिका लागि बुधबार विकास साझेदार समन्वय बैठक सम्पन्न भएको उनले जानकारी दिए ।  बैठकमा नेपालस्थित विभिन्न २० कूटनीतिक नियोग एवं विकास साझेदारका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको आयोगले जनाएको छ । 

    आयोगले ‘निर्वाचनमा सबै, सधैँ, सँगै’ नाराका साथ यही फागुन ६, ७ र ८ गतेसम्म आयोजना हुने छैठौँ निर्वाचन दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउन सबैमा अनुरोधसमेत गरेको छ । 


    प्रकाशित : बिहीबार , फाल्गुण ५ २०७८०५:३६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार