२०८३, कार्तिक १२ गते बिहीबार

विमानस्थलमा राखिएको श्रम डेस्क हट्यो, श्रमिकले छुट्टै लाइन बस्नु नपर्ने 

विमानस्थलमा राखिएको श्रम डेस्क हट्यो, श्रमिकले छुट्टै लाइन बस्नु नपर्ने 


  • मेरोभ्यूज
  • फाल्गुण २६, २०७८ बिहीबार

  • विमानस्थलमा राखिएको श्रम डेस्क हट्यो, श्रमिकले छुट्टै लाइन बस्नु नपर्ने 

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएको छ । श्रम डेस्कमा सहीछाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख दिइएको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा राखिएको श्रम डेस्क हटाउने निर्णय गरेका हुन् ।

    मन्त्री श्रेष्ठसहित मन्त्रालयका अधिकारी बुधबार अन्तर्राष्ट्रिय विमानस्थलमा गई श्रम डेस्क हटाइएको हो ।  अनलाइन सूचना प्रणाली (फेमिस) आइसकेको अवस्थामा विमानस्थलमा श्रम डेस्क आवश्यक नभएको मन्त्री श्रेष्ठको भनाइ छ । 

    सहसचिव प्रमुख रहेको वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति दिएपछि पनि श्रम डेस्कले श्रम स्वीकृति प्रक्रियामाथि छानबिन गर्ने नाममा श्रमिकलाई दुःख दिएको गुनासो आएको थियो । विमानस्थलमा श्रमिकको समस्यालाई समाधान गर्दै जाने प्रतिबद्धता पनि मन्त्री श्रेष्ठले जनाए ।

    विमानस्थलमा श्रमिकका लागि यसअघि अर्को दर्जा जसरी छुट्टै गेटबाट प्रवेश दिने गरिएकामा अब जुनसुकै गेटबाट पनि प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको छ । श्रमिकको प्रस्थानलाई छिटोछरितो बनाउन ३ वटै द्वारबाट प्रवेश पाउने विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए ।

    मन्त्री श्रेष्ठले विमानस्थलमा राखिएको कोरोना भाइरसको पिसिआर परीक्षण चेकजाँच गर्ने प्रक्रिया पनि हटाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई आग्रह गरे । 

    यसअघि वैदेशिक रोजगारीमा जाने र बिदामा आएका श्रमिक अनिवार्य रूपमा श्रम डेस्कमा गई डेस्कले सहीछाप लगाइदिएपछि मात्रै बोर्डिङ गर्ने प्रक्रिया अगाडि बढाइन्थ्यो । अब श्रमिकले श्रम डेस्क नगइ जुनसुकै गेटबाट पनि विमानस्थलमा प्रवेश पाउनेछन् ।

    विमानस्थलमा वैदेशिक रोजगार विभागले सूचना केन्द्र भने स्थापना गर्नेछ । केन्द्रले समस्यामा परेका श्रमिकको सहजीकरणका लागि काम गर्नेछ ।

    श्रम स्वीकृति सक्कली या नक्कली हेर्न श्रम डेस्क राखिएको हो । अहिले अनलाइन सफ्टवेयर राखिएपछि त्यसको औँचित्य सकिएको छ । वैदेशिक रोजगारीमा जान विमानस्थल पुगेका श्रमिकले प्रवेश र श्रम स्वीकृति स्टिकर परीक्षणका लागि घन्टौँ लाइन बस्नु पर्ने बाध्यता हटेको छ । 

    चालु आर्थिक वर्षको ७ महिनामा मात्र ३ लाख ५० हजार भन्दा धेरै श्रमिकले त्रिभुवन विमानस्थल प्रयोग गरेका थिए । यसअघि वैदेशिक रोजगारमा जान विमानस्थल पुगेका दैनिक २ हजार श्रमिकले लामो लाइन बसेर श्रम स्वीकृतीको छाप लगाउनु पर्ने नियमका कारण सास्ती बेहोर्दै आएका थिए । श्रम डेस्क हटाइएपछि श्रमिक पनि खुसी भएका छन् । 

    यसअघि वैदेशिक रोजगारीमा जान श्रमिकले ३ मध्ये एउटा मात्र प्रस्थानद्वार प्रयोग गर्न पाउने विभेदपूर्ण नियम थियो । वैदेशिक रोजगारीमा जाने श्रमिकको प्रस्थानद्वारलाई सीमित गरिएका कारण प्रवेश गर्न समेत श्रमिकले घन्टौ लाइन बस्नु पर्ने बाध्यता थियो ।


    प्रकाशित : बिहीबार , फाल्गुण २६ २०७८०८:०९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार