२०८३, कार्तिक १२ गते बिहीबार

नवौं राष्ट्रिय खेलकुद आगामी जेठ २२ देखि पोखरामा हुने

नवौं राष्ट्रिय खेलकुद आगामी जेठ २२ देखि पोखरामा हुने


  • मेरोभ्यूज
  • चैत्र ३०, २०७८ बुधबार

  • नवौं राष्ट्रिय खेलकुद आगामी जेठ २२ देखि  पोखरामा हुने

    काठमाडाैं । कोरोना महामारीका कारण रोकिएको नवौं राष्ट्रिय खेलकूद आगामी जेठ २२ देखि २८ गतेसम्म हुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको पोखरामा आयोजना गर्ने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले जानकारी दिए ।

    प्रत्येक दुई वर्षमा आयोजना हुनुपर्ने राष्ट्रिय खेलकुदको नवौं संस्करण २०७७ मा आयोजना गर्नुपर्ने थियो । विश्वव्यापीरूपमा फैलिएको कोभिड संक्रमणका कारण खेलकुद स्थगित भएको थियो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठमा आयोजना गर्न खेलकुद मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो ।

    वर्तमान सरकार गठनलगत्तै सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्राथमिकतामा राखेको थियो । मन्त्री गहतराजले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै प्रतियोगिताको आयोजना गर्न पलह गरेको बताए । 'मैले मन्त्रालयको जिम्मा लिएपछि नै कोरोनाका कारण हुन नसकेको राष्ट्रिय खेलकुद आयोजना गर्न पहल गरिरहेको थिएँ', उनले भने, 'समग्र परिस्थितिको विश्लेषण गरेर सरकारले जेठको अन्तिम साता प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको हो ।'

    जेठमा प्रतियोगिताको आयोजना नगरे निर्वाचनका कारण फेरि केही समय धकेलिने भएका कारण समयको चाप हुँदाहुँदै पनि खेलकुद आयोजना गरिएको उनको भनाइ छ । 'वैशाखको ३० गते स्थानीय निर्वाचन हुँदैछ, आगामी मङ्सिरमा संघ र प्रदेशको चुनाव गर्नुपर्नेछ, वर्षात्‌को समयमा खेलकुद आयोजना गर्न प्राविधिक कारणले कठिनाइ छ', उनले भने, 'त्यसकारण आगामी जेठमा प्रतियोगिताको आयोजना गरिएको हो ।'

    नवौं राष्ट्रिय खेलकुदका अधिकांश प्रतियोगिता पोखरामा सञ्चालन हुनेछन् । खेल पूर्वाधारको अभावका कारण केही खेल राजधानीमा पनि हुनसक्ने उनको भनाइ छ । राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि आवश्यक पूर्वाधारको निर्माण छिट्टै सम्पन्न हुने पनि उनले विश्वास व्यक्त गरे ।

    मन्त्री गहतराजले नवौं राष्ट्रिय खेलकुदलाई मध्यनजर राख्दै दुई पटक पोखरा पुगेर पूर्वाधार निर्माणको अनुगमन गरेका थिए । राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन भएपछि खेल क्षेत्र चलायमान हुने र अन्तर्राष्ट्रिय विश्वसनीयता पनि प्राप्त हुने उनले विश्वास व्यक्त गरे । रासस


    प्रकाशित : बुधबार, चैत्र ३० २०७८१०:११
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार