२०८३, कार्तिक १२ गते बिहीबार

२६ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

२६ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक


  • मेरोभ्यूज
  • आषाढ १३, २०७९ सोमबार

  • २६ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

    काठमाडाैं । नेपाल राष्ट्र बैंकले  रु २६ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले सोमबार ऋणपत्र बिक्री गर्न लागेको हो ।

    बैंकले २८ दिन अवधिको रु दुई अर्ब, ९१ दिन अवधिको रु नौ अर्ब १० करोड, १८२ दिन अवधिको रु १० अर्ब र ३६४ दिन अवधिको रु पाँच अर्ब बराबरको गरी कूल रु २६ अर्ब १० करोडको ट्रेजरी बिल सोमबार बोलकबोल गर्न लागेको हो । बैंकले आइतबार जारी गरेको सूचनाअनुसार २८ दिने ट्रेजरी आगामी साउन १० गते, ९१ दिने ट्रेजरी असोज ११ गते, १८२ दिने ट्रेजरी पुष १२ गते र ३६४ दिने ट्रेजरी २०८० असार १२ मा परिपक्व हुनेछ । यसअघि यही असार ६मा बैंकले रु २५ अर्ब ५३ करोडको टे«जरी बिल बिक्री गरेको थियो ।

    यसको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो ३ बजे खुला हुने बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । 

    के हो ट्रेजरी बिल ?

    मुद्रा बजारको एक प्रमुख उपकरणका रूपमा रहेको ट्रेजरी एक वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन मुलुकको केन्द्रीय बैंकले प्रयोग गर्ने अल्पकालीन सरकारी  ऋणपत्र हो ।  बैंकले प्रमिशरी नोटको रूपमा सर्वप्रथम विसं २०१८ मा वार्षिक एक प्रतिशत ब्याजदरमा रु ७० लाख मूल्यमा ९० दिने ट्रेजरी बिल निष्काशन गरिएको थियो । बोलकबोल प्रक्रियाबाट २०४५ मङ्सिर १० देखि निष्काशन हुँदै आएको यो ऋणपत्र २०४८ पुसदेखि हरेक साता र २०७२ असारदेखि प्रविधिमा आधारित भई अनलाइनमार्फत जारी हुँदै आएको छ । 

    यस्तो ऋणपत्रलाई परिपक्व हुनुअगाडि रिपो, सोझै खरिद, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिन्छ । सर्वसाधारणले यस्ता ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋणसमेत लिन सक्छन्। नेपालमा केन्द्रीय बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमका ट्रेजरी जारी गर्दै आएको छ ।

    तरलता अभाव कायमै ट्रेजरी बिल्सको ब्याजदर उच्च

    मुद्रा बजारमा देखिएको तरलता समस्या समाधानको बाटोमा नरहेको स्पस्ट देखिन्छ । एक बर्ष अगाडि तीन प्रतिशत आसपास रहेको ट्रेजरिको व्याज उच्च रहेका तथ्य छ । नेपाल राष्ट्र बैंकका अनुसार अहिले २८ दिनको ट्रेजरी बिलकाे  ब्याजदर ८.१७ प्रतिशत छ । यस्तै ९१ दिनको १०.४८ प्रतिशत,१८२ दिनको १०.५० प्रतिशत तथा एकवर्षको १०.५२ प्रतिशत ब्याजदर रहेको छ । एकवर्ष अगाडि २८ दिनको १.६८ प्रतिशत, ९१ दिनको २.२८ प्रतिशत,१८० दिनको ३.५९ प्रतिशत तथा एकवर्षको ३.७२ प्रतिशत व्याजदर थियो ।


    प्रकाशित : सोमबार, आषाढ १३ २०७९०९:२७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार