भारतीय पहिलो राष्ट्रपति भेट्ने म
नेपालको पहिलो उपराष्ट्रपति बनें
संयोग पनि गजबकै हुन्छ जीवनमा ।
भारतीय पहिलो राष्ट्रपति राजेन्द्र प्रसाद सन् १८८४ डिसेम्बर ३ मा जन्मनुभयो आजभन्दा १३८ वर्ष अगाडि जन्मनुभएका भारतीय प्रथम राष्ट्रपति राजेन्द्र प्रसाद जन्मेको ६१ वर्षपछि सन् १९४५ मा म यहाँ जन्में राजेन्द्र प्रसादले भारतीय राष्ट्रपतिको इतिहासमै अनेक इतिहास कायम गर्नुभयो उहाँ पहिलो राष्ट्रपति त हुनुभयो नै, तीन कार्यकाल भएका राष्ट्रपति छाडेर १३ जनामा १२ वर्ष राष्ट्रपति हुने इतिहास उहाँको मात्रै छ ।
छिमेकी देशको पहिलो राष्ट्रपति मेरै छिमेकी राज्यको हुनुहुन्थ्यो । अनि त्यही छिमेकी देशको राष्ट्रपतिलाई मैले पहिलोपल्ट मेरै छिमेकी गाउँमा भेटें उहाँलाई सानैमा भेट्ने मान्छे म ठूलो भएपछि नेपालको पहिलो उपराष्ट्रपति बनें ।
कल्पना नगरेको काम हुन्छ जीवनमा । यही त जीवन हो ।
नेपालमा राजाको जगजगी थियो । राजतन्त्र गएर यति छिट्टै गणतन्त्र आउला त्यो मैले मेरो जीवनमा सोचेको थिइन । त्यही गणतन्त्र संस्थागत गर्ने पहिलो उपराष्ट्रपति मै हुन्छु भन्ने कुरा केही दशक अघिसम्म मेरो कल्पनामा पनि थिएन ।
आज लगभग ६ दशकपछि म भारतीय राष्ट्रपति राजेन्द्र प्रसादलाई सम्झिरहेछु ।
सानैमा एकपटक मैले भारतका तत्कालीन राष्ट्रपति राजेन्द्रप्रसादको भाषण सुन्ने मौका पाएको थिएँ म अध्ययनरत स्कुलभन्दा १० किलोमिटर टाढा जयनगर जाने बाटोमा लोहा भन्ने गाउँ छ । भारतीय राष्ट्रपतिलाई सन् १९६१ मा त्यहाँको कार्यक्रममा भाषण गर्न बोलाइएको रहेछ । हामी स्कुलका साथीहरु पनि उहाँको भाषण सुन्न साइकलमा गएका थियौँ ।
उहाँलाई हामीले प्रत्यक्ष देख्न पायौं । त्यो साँच्चै अचम्मको दिन थियो त्यहाँ त्यस्ता अवसरहरु कमै सिर्जना हुन्थे भारतको त्यति ठूलो ओहोदाको मानिसलाई प्रत्यक्ष देख्न पाउँदा हामी केटाकेटीलाई अचम्म लाग्नु स्वाभाविकै थियो ।
भारतीय राष्ट्रपतिको भाषण छेउमै कतै कुनामा उभिएर सुनिरहेको एउटा मधेसी केटो कालान्तरमा गएर नेपालको उपराष्ट्रपति होला भन्ने कसलाई थाहा थियो र । कुनै पनि घटनाको प्रारम्भमा जे सोचिएको हुन्छ, त्यसको निष्पत्ति अर्थात् अन्त्य बिलकुल भिन्न हुँदो रहेछ । मधेसको एउटा सर्वसाधारण धर्तीपुत्रले यो देशकै उपराष्ट्रपति हुन्छु भनेर कहाँ सोचेको थियो र रु म त लामो समय न्यायसेवामा काम गरेको सामान्य मान्छे गति, अवस्थिति र समयको चक्रले मलाई एकैपटक हवात्तै राज्यको शीर्ष स्थानमा पु(याइदियो, जुन निष्पत्ति मेरो कल्पनाभन्दा बाहिरको थियो ।
मुलुकमा गणतन्त्रको उदयसँगै म उपराष्ट्रपति भएँ ।
हिन्दीमा शपथ: पहिचानको सवाल
यो गौरवसँगै मैले अनेक अपहेलना र अवरोधको पनि सामना गर्नुपर्यो फगत् मधेसी हुनुका नाताले मैले उपराष्ट्रपति भइसकेपछि पनि विभेद र विरोधको हलाहल विष पिएर बस्नुपर्यो, ६ महिनासम्म । मैले हिम्मत हारिन ।
मधेस र मधेसीमाथिको विभेदका अनेक घटना र व्यवहार मैले जीवनभर देख्दै र भोग्दै आएँ मधेसी हुनुको पीडा मैले त्यसबेला झन् बढी भोगें, जतिबेला मैले गणतन्त्र नेपालको पहिलो उपराष्ट्रपति पदमा उम्मेदवारी दिएँ । मधेसी जनअधिकार फोरमले मलाई उम्मेदवार बनाएको थियो म राजनीतिको यो मैदानमा बिलकुल नौलो थिएँ । राष्ट्रपति पदका उम्मेदवार डा. रामवरण यादव मधेसी भए पनि उहाँ नेपाली कांग्रेसको महामन्त्री भइसक्नुभएको थियो । तर, म थिएँ, बिलकुल नयाँ । मलाई भोट दिने कतिपय सांसदहरुले चिन्दै नचिनेको उम्मेदवारलाई पनि हामीले भोट दियौं भनेका थिए, जुन स्वाभाविक थियो ।
म उपराष्ट्रपतिमा जिताउनुस् भनेर भोट माग्न पनि खासै गइन धेरै सांसदलाई मैले चिनेको पनि थिइन मैले भोटका लागि हात फैलाएको राजेन्द्र महतो र महन्थ ठाकुरसँग मात्र हो उहाँहरु दुई जना बेग्लाबेग्लै मधेसी पार्टीका नेता हुनुहुन्थ्यो । महतो र ठाकुरजीले सुरुमा उपराष्ट्रपतिमा मलाई समर्थन गर्नुभएको थिएन । तर, उहाँहरुको पार्टीबाट कुनै उम्मेदवार नभएकाले मधेसी हुनुका नाताले मलाई नै समर्थन गर्नुभएको हुन सक्छ । तर, नेपाली कांग्रेस र एमालेसँग भने मैले भोटका लागि कुनै याचना गरिन ।
मेरो प्रतिस्पर्धामा एक जना मात्र हुनुहुन्थ्यो, शान्ता श्रेष्ठ । माओवादीका उम्मेदवार २०६५ साल साउन ४ गते सम्पन्न पहिलो निर्वाचनमै उपराष्ट्रपति पदमा म निर्वाचित भएँ । तर, राष्ट्रपति पदमा डा. रामवरण यादवजीको पक्षमा आधाभन्दा बढी मत नआएपछि पुनः निर्वाचन गर्नुपर्ने भयो । पहिलो निर्वाचनको नतिजा आइसकेपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले एक भेटमा मसँग भन्नुभयो, तपाईं त निर्वाचित भइसक्नुभयो । तपाईंलाई बधाइ छ । अब रामवरणजीलाई पनि जिताउन तपाईंको सहयोग हुनुपर्याे ।
रामवरणजीको अवस्थाबाट गिरिजा बाबु निकै चिन्तित रहनुभएको मैले पाएँ मेरो दलले पनि रामवरणजीलाई नै भोट देओस् भन्ने उहाँको आग्रह थियो वास्तवमा कांग्रेसको नेता गणतन्त्र नेपालको पहिलो राष्ट्रपति होला कि नहोला भन्ने उहाँको चिन्ता थियो दोस्रो निर्वाचनमा रामवरणजीले पनि जित्नुभयो
म मधेसी दलबाट उठेको नेता । त्यो बेलामा मधेसी दलको औकात नै के थियो र रु कुनै औकात राख्दैनथे सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस, एमाले र माओवादी थिए । यस्ता भीमकाय दलका अगाडि हामी मधेसीको केही चल्दैनथ्यो । मुख्य दलहरुबीच सोचाइ नमिलेकाले फोरमले मलाई र कांग्रेसले रामवरणलाई चुनावमा उठाएको हो । अतः त्यो बेला सांसदहरुले मलाई जिताउनको लागि हैन, माओवादीकी शान्ता श्रेष्ठलाई हराउनका लागि मलाई भोट हाल्नुभएको थियो मेरो त राजनीतिको कुनै दायरा थिएन ।
जे होस, नेपाली राजनीतिको इतिहासमै पहिलोपटक गणतन्त्र नेपालमा मधेसका दुई छोरा राष्ट्रपति र उपराष्ट्रपति भए । तर, उपराष्ट्रपति हुँदा र त्यसपछिका परिघटनामा मधेसी हुनुको जुन पीडा मैले भोगें, रामवरणजीले भोग्नु परेन । रामवरणजी मधेसी मूलको भए पनि उहाँको सोचाइ कांग्रेसी थियो । उहाँको चिन्ता देशको लागि पक्कै थियो, तर मधेसका लागि खासै थिएन । मधेसी जनता र हिन्दी भाषाप्रति नेपालका शासक र मिडिया कुन हदसम्म पूर्वाग्रही रहेछन् भन्ने बोध मलाई त्यसै दिन भयो, जुन दिन मैले उपराष्ट्रपति पदको शपथ हिन्दी भाषामा ग्रहण गरेँ । २०६५ साउन ८ मामैले हिन्दीमा गरेको शपथग्रहण यस्तो थियो,
मै परमानन्द झा राष्ट्र और जनता के प्रति पूर्ण वफादार रहते हुए सत्यनिष्ठापूर्वक प्रतीज्ञा करता हुँ, ईश्वर के नाम में शपथ लेता हुँ कि नेपाल के राजकीय सत्ता और सार्वभौमसत्ता नेपाली जनता में प्रत्याभूत किया गया नेपाल के अन्तरिम संविधान, २०६३ प्रति पूर्ण वफादार रहते हुए उपराष्ट्रपति पदके कामकाज प्रचलित कानुन के अधीन में रहते हुए एवं राष्ट्र और जनता के सर्वोपरि हित का हृदयंगम करके किसी का डर न मानके, पक्षपात न करके, पूर्वाग्रह अथवा खराब भावना न लेकर इमानदारी के साथ करूँगा और अपने कर्तव्य पालन के सिलसिला में अपने जानकारी में आई हुई बात मैं पद मे रहते वा नही रहते जिस किसी अवस्था में भी कानून के पालन के सिवाय अन्य किसी अवस्था में किसी भी प्रकार से प्रकट वा सङ्केत नही करूँगा ।
परमानन्द झा
मितिः संवत् २०६५ साल साउन ८ गते बुधबार शुभम्
अब सुरु हुन्छ, विभेद र सङ्कीर्ण सोचको खेल । मैले हिन्दीमा शपथ खाएको एक थरीलाई पचेन हुन त २०४८ सालको प्रतिनिधिसभा निर्वाचनपछि नै संसदमा मधेसी सांसदहरुले हिन्दीमा सम्बोधन गर्दै आएका थिए सांसदहरुले पनि मातृभाषामा शपथ खाने परम्परा सुरु भइसकेको थियो यसर्थ मैले हिन्दीमा शपथ खानु कुनै नौलो विषय थिएन तर, तिललाई पहाड बनाएर कोकोहोलो मच्चाइयो ।
विषय एकदम सामान्य थियो म एक मधेसी । आफ्नो पहिचान झल्काउन धोतीकुर्ता लगाएर शपथ ग्रहण समारोहमा जानु मेरो अधिकार र कर्तव्य दुवै थियो काठमाडौंका पत्रकारलाई सायद थाहा थिएन कि धोतीकुर्ता भनेको मधेसको पहिरन हो अनि हिन्दी भाषा मधेसमा बोलिने आम सम्पर्कको भाषा हो उनीहरु त धोती, कुर्ता र हिन्दी भन्नासाथ भारतीय आँखाले हेर्थे काठमाडौँका बुद्धिजीवी, पत्रकार र मुख्य दलका केही नेताहरूको यही अज्ञानता र मधेसप्रतिको पूर्वाग्रहको सिकार भएँ म
लोकतान्त्रिक नेपालमा पहिलो पटक त्यो उच्च पदमा मधेसीहरु चुनिएको सायद पहाडिया सङ्कीर्ण सोच राख्नेहरुलाई पचेन होला । मिडिया पनि सोही मानसिकताबाट ग्रस्त थियो । राष्ट्रपतिको खेदो खन्न उनीहरुलाई सोझै हिम्मत भएन । रामवरणजी त कांग्रेसको राजनीतिमा भिजिसकेको । त्यसैले राष्ट्रपतिलाई भन्दा उपराष्ट्रपतिको खेदो खन्न सजिलो भयो । मेरो भाषा, मेरा भेष र मेरो शपथलाई पत्रकार समुदायले अतिरञ्जित ढङ्गले उछाले । पत्रकार पनि विभिन्न दल निकट थिए कोही कांग्रेसका, कोही एमालेका अनि कोही माओवादीका राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा मधेसी चुनिएको कुरा पत्रकारको ठूलै पङ्क्तिलाई मन परिरहेको थिएन त्यो पूर्वाग्रहको लपेटमा मलाई नै पारियो ।
धोतीकुर्ता लगाएर शपथमा जानु मेरो पहिचानको सवाल थियो । उच्च पदमा पुग्दैमा मैले आफ्नो धरातल, आफ्नो पहिचान र माटो भुल्न मिल्दैनथ्यो । मैले दौरासुरुवाल लगाइन, यसमै कथित राष्ट्रवादीहरुको आपत्ति रह्यो । तर, मलाई आज पनि गर्व छ कि मैले धोतीकुर्ता लगाएँ ।
अब कानुनका कुरा गरौं । अन्तरिम संविधान २०६३ को ३६ झ को उपधारा (२) मा उपराष्ट्रपति आफ्नो कार्यभार सम्हाल्नु अधि अनुसूची-१ (क) को ढाँचामा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ । राष्ट्रपति र उपराष्ट्रपतिले लिने शपथको व्यहोरा अनुसूची-१ (क) मा यस प्रकार छः मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु, ईश्वरको नाममा शपथ लिन्छु कि नेपालको राजकीय सत्ता र सार्वभौमसत्ता नेपाली जनतामा रहेको नेपालको अन्तरिम संविधानप्रति पूर्ण वफादार रहँदै राष्ट्रपति(उपराष्ट्रपति पदको कामकाज प्रचलित कानुनको अधीनमा रही मुलुक र जनताको सोझो चिताई कसैको डर नमानी, पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई इमानदारीका साथ गर्नेछु र आफ्नो कर्तव्य पालनाको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि कानुनको पालना गर्दाबाहेक अरु अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संकेत गर्ने छैन ।
यो एउटा नमुना हो । नेपाली भाषामा लेखिएको संविधान भएकाले ढाँचा पनि नेपालीमा आयो । यसको उल्था यदि अंग्रेजीमा हुन्छ भने ढाँचा पनि अंग्रेजीकै हुन्छ । यसको उल्था यदि मैथिलीमा हुन्छ भने ढाँचा पनि मैथिलीको जस्तै आउँछ । यदि हिन्दी भाषामा भएको भए यसको ढाँचा पनि हिन्दीमा नै हुन्थ्यो । तर, नेपाली ढाँचामा लेखिँदैमा हामीले शपथ लिँदा नेपालीमा नै लिनुपर्छ भन्ने कानुनमा कतै लेखिएको छैन ।
नेपालमा बोलिने मातृभाषा त्यसबेला १२३ वटा थिए, जसमध्ये हिन्दी पनि एक हो । नेपालमा बोलिने सबै भाषालाई राष्ट्रभाषाको रूपमा लिइन्थ्यो । यस हिसाबले नेपालकै राष्ट्रभाषाका रूपमा मैले हिन्दीमा शपथ खाएको थिएँ । अर्को कुरा सरकारी काम देवनागरी लिपिमा हुने कानुनमा स्पष्ट उल्लेख थियो । देवनागरी लिपिमा लेखिन्छ, नेपाली, हिन्दी र मैथिली भाषा । हामी कुनै पनि सरकारी कार्यालयमा राष्ट्रभाषाको प्रयोग गर्नसक्छौं । त्यसको अभिलेख राख्दा नेपाली भाषामा उल्था गरिन्छ । कार्यालयमा मातृभाषा प्रयोग गर्दा कुनै प्रकारको अवरोध मानिदैन । अन्तरिम संविधान २०६३ को धारा ५ ले यही व्यवस्था गरेको छ ।
पक्कै, नेपाली भाषा राष्ट्र भाषा हो । नेपाली भनेको र राष्ट्र भाषा दुवै हो । सबैभन्दा बढी बोलिने भाषा पनि नेपाली नै हो । त्यसपछि सबैभन्दा धेरै मैथिली बोलिन्छ । यसैगरी, नेपालमा हिन्दी र अवधी भाषा पनि बोलिन्छ । हिन्दी भाषी नेपालीका बारेमा पनि तथ्याङ्कमा उल्लेख छ । अतः हिन्दी पनि एउटा राष्ट्रिय भाषा नै हो । तराईमा सबैका आआफ्ना मातृभाषा छन् । तर, तराईमा मात्र हैन, पहाडमा समेत हिन्दी भाषा बोल्ने र बुझ्नेहरुको सङ्ख्या ठूलो छ ।
तराईका केही नेताहरू पहिलादेखि नै मसँग भन्थे, वीरगन्जको एक भागमा मैथिली, मध्य भागमा भोजपुरी र पश्चिमतिर अवधी बोल्छन् हिन्दी बोल्ने ठाउँ कुन ?
उनीहरुलाई मेरो जवाफ हुन्थ्यो, हिन्दी बोल्ने कुनै निश्चित ठाउँ छैन होला । तैपनि हिन्दी भाषा सर्वत्र बोलिन्छ । के तपाईं हिन्दी बोल्नुहुन्न ? हिन्दी बुझ्नुहुन्न ?
नेपालमा हिन्दी भाषा खासमा सम्पर्क भाषाको रूपमा परिचित छ म पहिलादेखि नै कानुनी क्षेत्रमा काम गरेको मानिस हुँ हिन्दी भाषा नेपालमा ०।४७ प्रतिशतले बोल्छन् भन्ने पनि मलाई जानकारी थियो नेपालमा बोलिने भएकाले हिन्दी पनि राष्ट्रिय भाषा नै हो भन्नेबारे म स्पष्ट थिएँ उदाहरणका लागि मैथिली र अवधीभाषी मानिस आपसमा कुरा गर्दा एकजना मैथिली र अर्कोले अवधीमा कुरा गर्दैनन् । दुवै जना हिन्दीमा कुरा गर्छन् । नेपालमा हिन्दी भाषालाई पूर्वदेखि पश्चिमसम्म सम्पर्क भाषाको रूपमा सबैले मान्दै आएका हौं यो मुलुकमा वि.सं. २०३० सालसम्म विश्वविद्यालयमा हिन्दीमै पढाइ हुन्थ्यो । निर्वाचनको बेलामा नेपालमा गण्यमान्य, कहलिएका राजनेताका घोषणापत्र हिन्दीमै हुन्थे । यी नेता मधेस झर्दा हिन्दीमा भाषण गर्थे । पहाडिया नेताले मधेस आउँदा धोतीकुर्ता लगाएर हिन्दीमा भाषण गरेको हामीले देख्दै आएका हौं ।
यति हुँदाहुँदै पनि कोरा राष्ट्रवादको सङ्कीर्ण सोचको सिकार मलाई बनाइयो । यहाँ राष्ट्रवादको ठूलो डङ्का पिटिन्छ । तर, हिन्दी नबोल्ने र नबुझ्ने कोही छैन । हामी भारतमा बनेका चलचित्र हेर्छाैं । काठमाडौंका बैठक कोठाका टिभीमा दिनहुँ हिन्दी सिरियल हेरेर मजा लिन्छौं । हिन्दी साहित्य पढेर यो देशमा धेरै लेखक भएका छन् । नेपालमा बनेका कपडाको साटो हामी भारतकै बनारसी साडी र लेहङ्गा चोली लगाउँछौं । नेपालमा बन्ने ढाकाको कपडा पनि भारतबाटै आउँछ । भारतसँग हाम्रो सांस्कृतिक, धार्मिक, आध्यात्मिक, भाषिक, सामाजिक र भौगोलिक सामीप्य जुन छ त्यसको सेतु हो, हिन्दी भाषा । अनि यही हिन्दी भाषामा शपथ लियो भनेर मेरो विरोध भयो । विरोध मात्र भएन, सर्वोच्च अदालतमा रिट नै हालियो ।
बम विष्फोट र सर्वोच्चमा रिट
मैले हिन्दीमा शपथ ग्रहण गरेपछिका दिनहरू कडा कहाली लाग्दा थिए ममाथि दुई कोणबाट प्रहार भयो । एक त मेरो घर छेउमै बम विष्फोट गराइयो, अर्को सर्वोच्च अदालतमा रिट हालेर मेरो पद नै निष्क्रिय तुल्याइयो ।
शपथ ग्रहणकै दिन साँझको त्यस्तै सात/आठ बजेको हुँदो हो । मेरो घरछेउकै चौरमा एक्कासि बम विष्फोट गराइयो । त्यसको ३ दिनपश्चात् मेरो कोठालाई लक्षित गरेर झ्यालमा बम फालिएको थियो । संयोगवश म बाहिर बरन्डामा थिएँ । मेरो कोठाको झ्यालका सिसाहरु चकनाचुर भए । पर्खालमा पनि हल्का क्षति भयो । केही दिनपछि फेरि घरको पछाडितिर चौरमा बम पड्कियो त्यसबाट कुनै क्षति त भएन, आवाज भने निकै थियो । मेरा धेरै साथीहरु तपाईंलाई तर्साउन सरकारले नै यो बम पड्काउन लगाएको होला भन्थे । सत्य कसैलाई थाहा थिएन । अड्कलबाजी मात्र थियो ।
करिब पाँच/छ महिनापछि कुनै सङ्गठनका दुई जना मानिसलाई मेरो घरमा बम पड्काएको अपराधमा प्रहरीले पक्राउ गर्याे । काठमाडौं जिल्ला अदालतमा मुद्दा नै चलायो । तर त्यो देखावटी मुद्दा थियो । त्यसमा प्रमाण पुगेको थिएन र काठमाडौं जिल्ला अदालतको केही सीप लागेन । सरकारी मुद्दा भएकाले मैले पनि त्यसमा कुनै ध्यान दिइन । पछि त्यो मुद्दा पुनरावेदन अदालतमा पुग्यो ।
उपराष्ट्रपतिको निवासमा फालेको बमको सम्बन्धमा सरकारको अनुसन्धान फितलो भयो । कानुनबमोजिम अपराधीलाई सजाय दिने चेष्टै भएन । औपचारिक रूपमा जनतालाई देखाउन त्यो मुद्दा चलाइएको जस्तो भान भयो पुनरावेदनमा पनि मुद्दा ठहरिएन । मुद्दा नठहरिएकाले यसमा सरकारकै कतै न कतै षड्यन्त्र छ भन्ने विश्वास मलाई पनि हुन थाल्यो । यो कुरा मैले आईजीपीसमक्ष पुऱ्याएँ । मैले आईजीपीलाई भनेँ, तपाईंहरुको अनुसन्धान नै फितलो भयो । तर उनीहरुले यो प्रकरणमा कुनै चासो देखाएनन् ।
यो विषयमा मैले राष्ट्रपतिसँग पनि धेरैपटक छलफल गरें । अन्य नेता तथा प्रधानन्यायाधीशसँग पनि मैले यो सवाल उठाएँ । यो कस्तो मुद्दा चलाइएको हो ? मलाई पनि अचम्म लाग्थ्यो । मेरो घरमा बम पड्किएको छ उपराष्ट्रपतिको ज्यान जोखिममा छ तर सरकार ट्वाँ परेर बसेको छ ।
मेरो मुद्दामा निदाएको सरकारलाई ब्युँझाउने प्रयास मैले धेरै गरेँ । जाग्छन् कि भनेर बारम्बार पानी छर्किएँ, तर उठेनन् । निदाएकालाई पो उठाउन सकिन्छ, निदाएको अभिनय गर्नेलाई ब्युँझाउन नसकिँदो रहेछ अनि, मलाई लाग्यो, मलाई तर्साउन सरकारी संयन्त्र नै त्यो बम काण्डमा सक्रिय छ । देशको उपराष्ट्रपति भएर पनि म त्यो बेला भयग्रस्त मानसिकतामा बस्नु परिरहेको थियो । मलाई डराएर, धम्क्याएर धेरै कुरामा पछाडि पार्न खोजियो । सायद उनीहरु चाहन्थे, म गल्ती स्वीकार गरुँ । तर, म कानुन जानेको मानिस । कानुनविपरीतको काम मबाट भएन । म विष्फोटबाट म विचलित भइन ।
उपराष्ट्रपति पद निष्क्रिय
हिन्दीमा शपथ ग्रहण गरेर मधेसीको पहिचान र अधिकारको पक्षमा उभिएको देखेर काठमाडौंका केही पहाडे अहङ्कारवादीहरु आत्तिए पुरानो कोरा राष्ट्रवादको नारा दिने केही अधिवक्ताहरु मेरो विरूद्ध जुर्मुराए बालकृष्ण न्यौपाने, टीकाराम भट्टराई र भीमार्जुन आचार्य आदिले मेरो शपथ ग्रहण अवैधानिक भन्दै सर्वोच्चमा मुद्दा दायर गरे ।
अदालतको बहसका क्रममा मैले लिखित जवाफ पेस गर्दै भनेको थिएँ।
साविक नेपाल अधिराज्यको संविधान, २०४७ ले नेपाली भाषालाई राष्ट्र भाषाको रूपमा र नेपाली भाषाबाहेक अन्य सबै मातृभाषालाई राष्ट्रिय भाषाको रूपमा स्थापित गरे पनि हाल कायम रहेको नेपालको अन्तरिम संविधान २०६३ ले नेपाली भाषालगायत नेपालमा बोलिने सबै मातृभाषाहरुलाई राष्ट्र भाषाका रूपमा मान्यता प्रदान गरेको छ । नेपालका राजनेताहरुले समय समयमा हिन्दी भाषाको सन्दर्भमा व्यक्त गरेका विचारअनुसार पनि हिन्दी भाषा नेपालमा बोलिने मातृभाषा र सम्पर्क भाषाको रूपमा रहिआएको छ । ई.सं. २००१ मा लिएको सरकारी भाषिक तथ्याङ्कअनुसार नेपालमा बोलिने ९३ भाषामध्ये हिन्दी भाषा १६ औं स्थानमा रहेको उल्लेख छ ।
नेपालका विभिन्न भाषाभाषीहरुबीचको सम्पर्क भाषाको रूपमा बोलिने विभिन्न भाषाहरुमध्ये हिन्दी भाषा पनि एक भएको हुँदा अन्तरिम संविधानको धारा ५ अनुसार हिन्दी भाषा पनि राष्ट्र भाषाकै रूपमा पर्दछ । नेपालमा हिन्दी मातृभाषा र विभिन्न समुदायले बुझ्ने सम्पर्क भाषा भएकाले सबै समुदायले शपथको अर्थ र मर्म सहजताका साथ बुझ्न सकून् भन्ने अभिप्रायले मैले शपथ वाचन गर्दा हिन्दी भाषा प्रयोग गरेको हुँ । उपराष्ट्रपति पदको शपथ लिँदा हिन्दी र नेपाली भाषा अर्थात् दुवै भाषामा रहेको दुईवटा बेग्लाबेग्लै शपथपत्रमा हस्ताक्षर गरी शपथग्रहणको कार्य सम्पन्न भएको छ । शपथग्रहण सम्पन्न भएपश्चात् मैले आफ्नो पदीय जिम्मेवारीअनुसारको काम कारबाही गरिआएको छु उपराष्ट्रपति पद ग्रहण गर्न कुनै निश्चित भाषा जानेकै हुनु पर्दछ वा बोल्नु पर्दछ भन्ने कुरा नेपालको अन्तरिम संविधानले व्यवस्था गरेको छैन ।
राजनीतिक पदाधिकारीले शपथ लिने विषय राजनीतिक प्रकृतिको विषय भएकाले त्यस्तो विषय अदालतको न्यायिक निरुपणको क्षेत्रभित्र पर्दैन । संविधान वा कानुनको व्याख्या गर्दा प्रचलित कानुन, कानुनी व्यवस्था, व्यवहार, परम्परा, समसामयिक परिस्थिति र आवश्यकतासमेतलाई मध्यनजर राखी व्याख्या गर्नुपर्ने हुन्छ । न्यायिक निरूपणका लागि सम्मानित अदालतमा प्रस्तुत गर्ने कुनै पनि विवाद काल्पनिक वा अनुमानित नभएर यथार्थमा अदालतबाट निरुपण हुन सक्ने प्रकृतिको हुनुपर्दछ । शपथ शब्दसँग मात्र सम्बन्धित हुँदैन, यो भावनात्मक कुरा पनि हो शपथको ढाँचा र शपथ लिंदाको वाचित हिन्दी भाषामा शपथको मर्म, अर्थ र भावनामा कतै कुनै फरक रहेको छैन ।
नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३६क (३) ले राष्ट्रपतिलाई संविधानको संरक्षकको रूपमा अङ्गीकार गरेको छ । राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्यहरु उपराष्ट्रपतिबाट सम्पादन हुने भनी अन्तरिम संविधानको धारा ३६छ (२) मा संवैधानिक प्रावधान रहेको छ । म उपराष्ट्रपतिलाई पद तथा गोपनीयताको शपथ लिन लगाउनु भएका राष्ट्रपतिका नाममा अदालतबाट लिखित जवाफ माग नगर्ने आदेश भएबाट राष्ट्रपतिको अनुपस्थितिमा काम गर्ने म उपराष्ट्रपतिलाई विपक्षी बनाई लिखित जवाफ माग गर्न मिल्दैन । विपक्षी निवेदकले आफ्नो लोकप्रियताका लागि र मेरो व्यक्तिगत चरित्रमा आघात पुऱ्याउने उद्देश्यले दायर गरेको त्यस्तो असंवैधानिक रिट निवेदन खारेजभागी छ, खारेज गरिपाऊँ ।
यसैगरी मेरो तर्फबाट विद्वान् वरिष्ठ अधिवक्ता मिथिलेशकुमार सिंहले बहसका क्रममा भन्नुभयो, नेपालको अन्तरिम संविधान, २०६३ को धारा ५ (१) मा नेपालमा बोलिने सबै मातृभाषाहरु राष्ट्र भाषा हुन् भन्ने उल्लेख छ । सन् २००१ मा लिएको जनगणनामा नेपालमा बोलिने ९३ भाषामध्ये हिन्दी भाषा बोल्नेको स्थान १६ औं भएको अवस्थामा हिन्दी पनि नेपालको राष्ट्रिय भाषा अन्तर्गतको भाषा होइन भन्न मिल्दैन । अन्तरिम संविधानले उपराष्ट्रपतिले गर्ने शपथको ढाँचासम्म तोकेको छ । शपथ लिँदा कुन भाषामा लिनुपर्ने हो भन्ने कुरामा संविधान मौन भएको हुँदा नेपालमा धेरै प्रकारका राष्ट्रभाषा भएको हुँदा जुन व्यक्ति जुन भाषा परिवारभित्रको हो, त्यसले त्यसै भाषामा शपथ लिन मिल्दैन भन्न संविधानतः मिल्दैन ।
नेपाली भाषा लेख्न र बोल्न नजान्ने वा नबोल्ने व्यक्तिले उपराष्ट्रपतिको पद ग्रहण गर्न सक्दैन भन्न मिल्दैन । उपराष्ट्रपतिले हिन्दी भाषामा शपथ वाचन गरी सो शपथलाई राष्ट्रपतिले स्वीकार गरी उपराष्ट्रपतिको पदसमेत ग्रहण गरिसके पश्चात् निजको शपथ कानुनसम्मत छैन बदर हुनुपर्दछ भनी दिएको निवेदकको निवेदन मनोगत एवं आफू प्रचारमा आउने उद्देश्यले मात्र दिएको हुँदा त्यस्तो निवेदन खारेज हुनुपर्दछ ।
यसरी मैले र मेरो तर्फका अधिवक्ताले स्पष्ट कुरा राख्दा पनि तत्कालीन न्यायाधीश मीनबहादुर रायमाझीले भाषाको मर्म बुझ्नुभएन । मैले उहाँलाई भनेको पनि थिएँ कि तपाईं यो मुद्दा आफ्नो इजलासमा नराख्नुस् । तर, उहाँले आफ्नै बेन्चमा राखेर निर्णय गर्नुभयो । मप्रति पहिलादेखि नै पूर्वाग्रही भएकाले हुनसक्छ, उहाँको फैसला पनि पूर्वाग्रही ढङ्गले आयो । भाषाको मर्म नबुझी राजनीतिक विषयमा कानुनी व्याख्या गर्दा अन्य भाषाभाषी पनि क्रुद्ध हुने नै भए ।
न्यायाधीश रायमाझीले विसं २०६६ साल साउन ९ मा मेरो शपथ ग्रहणलाई अवैधानिक ठहर गर्दै सात दिनभित्र नेपालीमै शपथ लिनुपर्ने, अन्यथा उपराष्ट्रपति पद निष्क्रिय हुने फैसला गरिदिनुभयो । साँच्चै नै भयङ्कर सकसको समय थियो त्यो मेरो लागि । त्यो बेलामा दैनिक पत्रिकामा करिबकरिब एउटा पानामा मेरो नाम सधैँ आइरहेकै हुन्थ्यो । त्यसलाई म मप्रति पत्रकार साथीहरूको कृपा भनेर बुझ्छु । सोही सिलसिलामा एक जना वकिलले पनि मेरो खोइरो नै खन्नुभएको थियो । अदालतलाई त्यो बेलामा खेल्ने ठाउँ बनाइएको थियो । ससाना कुरा प्रमाणित गराउन पनि अदालतमा लैजाने परिपाटी त्यहीँबाट सुरु भएको हो ।
उपराष्ट्रपतिको भाषा मिलेको छैन, उनलाई पदबाट बर्खास्त गर्नुपर्छु भन्ने किसिमका आवाज पनि धेरै उठे । पत्रिकामा दिनहुँ शपथ नै विदेशी भाषामा भयो, नेपालीमै हुनुपर्छ भन्ने सामग्री अनेक विद्वान् भनाउँदाका प्रतिक्रियाका रूपमा प्रकाशित भइरहे ।
सर्वोच्च अदालतका प्रधान न्यायाधीशले मुद्दा कसले हेर्ने भन्ने तोक्ने हो मीनबहादुर रायमाझीले मेरो मुद्दा आफ्नै इजलाशमा राखिरहेका थिए उनी एकदम भद्र भलादमी मानिस हुन्, तैपनि आफ्ना मानिसलाई अगाडि ल्याउन उनी टाउको टेक्न पनि पछाडि पर्दैनन् मीनबहादुरसँग मेरो पुरानो मुकाविला थियो । उनले मलाई पछारेर सर्वोच्च अदालतमा अरू अन्यायाधीश ल्याएका हुन् । मलाई षड्यन्त्र गरेर नल्याई पाटन पुनरावेदन अदालत पठाउने उनको सिफारिस थियो तर उनी त्यसमा सफल भएका थिएनन् म पछि हेटौंडाबाट नै सर्वोच्च अदालतको न्यायाधीश भएको थिएँ पहिलाको त्यो राग र द्वेष मीनबहादुरजीको मनमा मेटिएको रहेनछ र त्यो तुस मेट्नकै लागि उनले आफ्नै इजलाशमा मेरो मुद्दा राखेर फैसला गरेका थिए ।
भाषाको हकमा उनको फैसला अप्रिय थियो । किनकि, त्यसबेलासम्म काठमाडौं महानगरपालिकामा नेवारी भाषाबाट पनि कार्यालयमा काम हुनुपर्छ भन्ने आवाज उठिरहेको थियो । त्यस्तै राजविराजमा पनि मैथिली र हिन्दी भाषाको पक्षमा चर्चा चलिरहेको थियो यही कारण मलाई नेपालीमै शपथ गराउने आदेश भएको दिनलाई मधेसी समुदायले कालो दिवसका रूपमा लिए । फैसलाले भाषाको सम्मान गरेन । सर्वोच्चको भाषाप्रतिको दृष्टिकोण त्यहाँबाट प्रस्ट भएको थियो । त्यहाँ मातृभाषाको लागि कुनै सम्मान भाव र दृष्टि राखिएको थिएन ।
यसरी अहंले भरिएको निर्णय सर्वोच्चले ममाथि गरेको थियो । सर्वोच्चले गरेको निर्णय मैले बहिष्कार गर्ने कुनै आधार थिएन । अतः सर्वोच्चको फैसलालाई सम्मान गर्दै निष्क्रिय भएर बस्नु उचित लाग्यो । त्यो कारणले मैले विज्ञप्ति निकालें । पत्रकार सम्मेलन गरेर आफू निष्क्रिय रहने जनाएँ मलाई धेरै पहाडिया नेताले राजीनामा नदिएर बेइमानी गरेको ठहर गरेका थिए । खासमा त्यो मेरो बेइमानी हैन, भाषाप्रतिको सम्मान थियो । बेइमानी त उनीहरुको थियो, जोसँग भाषाप्रति कुनै प्रकारको माया र सम्मान थिएन । उनीहरुले जतिसुकै आलोचना गरे पनि मैले सुनिरहें ।
सर्वोच्च अदालतका न्यायाधीशले आफूअनुसारको फैसला सुनाएका थिए मैले पनि आफू अनुसारको निर्णय गर्नु थियो । मैले आफ्नो विवेकले निर्णय लिएँ । मलाई दुईवटा विकल्प छान्न भनिएको थियो । मैले मधेसीको पहिचानको मुद्दा छाडिन । नेपालीमा शपथ ग्रहण गर्न मानिन, बरू निष्क्रिय बस्ने निर्णय गरेँ । मलाई थाहा थियो, त्यसरी निष्क्रिय बस्दा उपराष्ट्रपतिका रूपमा पाउने कुनै पनि सुविधा म पाउँदिनथें । तर, मलाई पदीय सुविधाभन्दा पहिचान प्यारो थियो । म मधेसका ती तमाम हिन्दीभाषी तथा अन्य भाषाभाषी नेपाली जनताको अवहेलना गर्न चाहदिनथेँ । यो फगत शपथ ग्रहणको सवाल मात्र थिएन, यो त युगौंदेखि पछि पारिएका, नागरिकताविहीन पारेर दबिएका र विभेदमा पारिएका धर्तीपुत्र मधेसीको स्वाभिमानको लडाइँ पनि थियो ।
त्यसैले मैले भनिदिएँ, म निष्क्रिय बस्छु । विसं २०६६ साल भदौ १४ गते दिनको १ः३० बजे पत्रकार सम्मेलन राखिएको थियो । त्यहाँ मैले नेपालीमा शपथ नलिने र निष्क्रिय बसिदिने जानकारी दिएँ । सोही दिनको साँझ ४ः०० बजे मन्त्रिमण्डलले नेपालीमा शपथ लिने मिति पनि तोकेको थियो ।
उपराष्ट्रपति निष्क्रिय भयो । यो २०६६ भदौ १५ को घटना हो । म निष्क्रिय थिएँ । दिनको करिब तीन बजेको थियो मेरो सुरक्षाका लागि खटाइएका सैन्य बल हटाएर सशस्त्र प्रहरी तैनाथ गरियो र मेरो घरमा फहराइएको नेपालको झन्डासमेत निकालियो । आम जनतालाई पनि दुःख लागेको थियो होला उपराष्ट्रपतिको घरबाट झन्डा हट्दै छ भनेर, तर मलाई डन्डा र झन्डाको परवाह थिएन। आफ्नो भाषा, भेष र आत्मगौरवका सामु झन्डा र डन्डाकाे के मूल्य ?
यो मुलुकमा धेरैजसो मन्त्रीहरु आफ्नो कार्यकालभरि सरकारी निवासमा बसोबास गर्छन् । ती मन्त्री सधैँको लागि त पदमा हुँदैनन् उनीहरु निश्चित समयपछि आफ्नै घरमा जानुपर्छ । मन्त्री होउन्जेलसम्म सरकारी सेवा तथा सुविधा उपभोग गरे पनि मन्त्री नहुँदा ती कुराहरु हुँदैनन् । घरबाट झन्डा लैजाँदा पनि मलाई त्यस्तै लागेको थियो । आफ्नो पहिचानको प्रश्नसामु झन्डा र डन्डा मेरो लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात् सरह थियो । उनीहरूले नै ल्याएर राखिदिएको झन्डा उनीहरु नै लैजाँदै थिए दुनियाँ र समाजको लागि भने हर्ष र विस्मात् दुवै थियो धेरै पत्रकारले मेरो घरबाट राष्ट्रिय झन्डा हटेको फोटो पनि लिएका थिए ।
ममाथि दबाब दिन सरकारले मधेसी दलका नेताहरुलाई पठाइरहेको थियो । त्यो बेलामा विजय गच्छदार, राजेन्द्र महतो र महन्थ ठाकुर आउनुभएको थियो । तीमध्ये गच्छदार र महतोले मलाई नेपालीमा शपथ लिनुस् भनेर निकै कर गर्नुभयो । विजय गच्छदार, महन्थ ठाकुर र राजेन्द्र महतो त्यो बेलामा सरकारमा हुनुहुन्थ्यो । उहाँहरुले मलाई नेपालीमा शपथ लिनु दबाब दिनुका पछाडि उहाँहरुलाई सरकारको पनि दबाब थियो होला । तर उहाँहरुको नैतिकताले पनि भन्न नहुने कुरा थियो त्यो किनभने उहाँहरु आफैँ सदनमा हिन्दीमा बोल्नुहुन्थ्यो खासमा उहाँहरूले मलाई जोकर बनाउने कुरा ल्याउनुभएको थियो । त्यो मलाई पछाडि पार्नका लागि गरिएको थियो । मैले उहाँहरूको आग्रह मानिन । यदि मैले त्यो बेला अडान नलिएर नेपाली भाषामै शपथ लिएको भए अरु भाषाको औचित्य हुँदैनथ्यो ।
६ महिनासम्म म संस्थागत रूपमा निष्क्रिय रहँ त्योबेला उपेन्द्र यादवले मलाई नेपालीमा शपथ ग्रहण गर्नु भनेर भन्न आउनुभएन । तर, विवाद हुन थालेपछि उहाँले तपाईं राजिनामा दिनुहोस् भन्नभयाे । तर मैले इन्कार गरेँ । मैले यादवजीसँग भनेको थिएँ, म राजिनामा दिन्छु तर अर्को उपराष्ट्रपतिको निर्वाचन गर्न पाइँदैन मैले छाड्नेबित्तिकै अर्को उपराष्ट्रपतिको उम्मेदवार खोज्न जाने हो भने चाहिँ म राजिनामा दिन्न ।
त्यो बेला मेरो अवस्था उपराष्ट्रपतिको निर्वाचन जितेको तर शपथग्रहण नगरेको पिरियड थियो । म उपराष्ट्रपति बनिसकेको थिएँ तर मलाई कार्यभार सम्हाल्ने कुनै प्रकारको हक थिएन । अहिले पनि मन्त्री तथा उपराष्ट्रपति जेहोस् उनीहरूको दुइटा अवस्था हुन्छ । त्यहाँ कुनै मन्त्रीहरु निर्वाचन अगाडिका हुन्छन्, कोही निर्वाचनपछाडिका पहिलाको मन्त्रीले सुविधाहरु लिइरहेका हुन्छन् तर, मेरो अवस्था चाहिँ सुविधाविहीन थियो । सरकारको गाडी, ड्राइभर, सुरक्षा केही पनि थिएन ।
यस अवधिमा मैले मधेसका सबै जिल्ला घुमेँ । अफ्ना कुराहरु मैले मधेसी समुदायमा राख्ने अवसर पाएँ । आफूप्रतिको सरकारको धारणा, विचार र आफ्नो निर्णयबारे मधेसी समुदायलाई स्पष्ट बताएँ । मेरो कुरा सुनेपछि मधेसी समुदायले मप्रति राखेको सहानुभूति उनीहरूको व्यवहारले स्पष्ट गर्थ्यो । मधेस र मधेसीको भाषाप्रतिको मेरो माया र सम्मान उनीहरुले बुझे । पहिला मधेसी जनताहरुको मप्रतिको जुन घृणित दृष्टिकोण थियो, त्यो हटेर गयो । मेरो त्यो क्रियाकलापले गर्दा राष्ट्रपतिलाई पनि विदेश भ्रमणमा जान अप्ठ्यारो परेको थियो ।
त्यसैताका भारतबाट पशुपतिनाथको दर्शनको लागि आउनुभएका चन्द्रा स्वामीसँग मेरो कार्यकक्षमा करिब एक घण्टा छलफल भएको थियो । उहाँले राहुको दशाले विघ्नबाधा उत्पन्न भइरहन्छु भन्नुभयो । त्यसको निदानको लागि कुम्भ मेलामा अनुसरण गर्न हरिद्वार आउन आग्रह गर्दै स्वामीले भन्नुभयो, त्यहाँ राहु दशाको निदान गर्छु ।
मसँग जन्मटिप्पणी नभएकाले यस्ता कुरालाई म खासै महत्त्व दिन्नथें मलाई यस्तो कुरामा विश्वास नै लाग्दैन । तर, प्रत्यक्ष रूपमा नकार्न नमिलेकाले अनुकूल पयो भने आउँछु भनिदिएँ । मलाई विश्वास लाग्दैन भनिन । भारतको त्यति ठूलो गुरूसँग त्यस्ता कुराहरू भन्नु पनि हुँदैन । मलाई चित्त नबुझेको कुरा नै किन नहोस्, कुनै पनि मानिसलाई आफ्नो कुराबाट आघात पुयाउने मेरो बानी छैन ।
मेरो ग्रहदशा खराब थियो होला । तैपनि म उपराष्ट्रपतिमा निर्वाचित भएको थिएँ । सुरुदेखि नै न्यायसेवामा रही देशको सेवा गरेको मानिस पछि राजनीतिमा आउनु पनि चानचुने कुरा होइन । अझ त्यसलाई भाग्यको रूपमा पनि लिन सकिन्छ । न्यायिक सेवामा काम गर्ने मानिसको सबैभन्दा ठूलो इच्छा भनेको सर्वोच्च अदालतको न्यायाधीश बन्ने हो मैले त त्यो पद पनि पाइसकेको थिएँ र, अब त म बुढो पनि भइसकेको थिएँ । त्यो कारणले पनि मलाई ग्रहदशाले थिचेको छ भन्ने विश्वास लागेन । म हरिद्वार गइन ।
(पूर्वउपराष्ट्रपति परमानन्द झाकाे जीवन भाेगाइ समेटिएकाे मधेसकाे माटाे म (सप्तरीदेखि शासनसत्तासम्म) पुस्तकबाट साभार )

