काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंकको व्याजदर माथि केन्द्रीय बैंकले हस्तक्षेप गर्नुपर्ने बताएको छ । महासङ्घका अध्यक्ष कुमार कार्कीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै बैंकहरु अचाक्ली ब्याजदर बढाएको भन्दै हस्तक्षेप जरुरी रहेको बताए ।
महासङ्घले बैंकको व्याजदर एक अङ्कमा सीमित हुनुपर्ने जनाएको छ । बैंकहरुले सङ्कटको बेला व्याज बढाएर सामान्य मानवीयता समेत ख्याल नगरेको भन्दै महासङ्घले लिलामीको ३५ दिने सूचनालाई बढाएर छ महिना बनाउनुपर्ने माग गरेको छ ।
“सङ्कटको अवस्थामा सामान्य मानवियता पनि नहेरी पत्रपत्रिकामा ३५ दिने सूचना निकाल्ने र करोडौँ मूल्य पर्ने सम्पत्तिलाई थोरै ऋण लिएका भरमा लिलामी गरेर वित्तीय संस्थाले असुल गर्ने कोसिस गरेको पाइएको छ”, महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “धितोलिलाम गर्ने सूचना ३५ दिन होइन कम्तीमा पनि ६ महिना हुनुपर्छ र लिलामी गर्नुअघि ऋण चुक्ता गर्न एक वर्षको अवधि दिनु पर्छ ।”

