दार्चुला । नेकपा (एमाले) नेता गणेश ठगुन्नाको चुनावी क्षेत्रमा नेकपा (माओवादी केन्द्र)का कार्यकर्तामाथि एमाले कार्यकर्ताहरुले आक्रमण गरेका छन्। चुनावी अभियानको क्रममा रहेका माओवादी केन्द्रका स्थानीय नेता जयभान सिंह धामीलाई एमालेका कार्यकर्ताले रड प्रहार गरेका हुन्।
दार्चुलाको नौगाड गाउँपालिकामा एमाले कार्यकर्ताको सामूहिक आक्रमणबाट नेता धामी गम्भीर घाइते भएका छन् । रड प्रहारबाट उनकाे टाउकोमा ठूलाे चोट लागेकाे छ । गम्भीर घाइते धामीलाई थप उपचारका लागि धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पताल लगिएकाे छ ।
बिहानको खाना खाएर निर्वाचन अभियानमा निस्कने क्रममा ५० जनाको समूहमा आएका एमालेका कार्यकर्ताले उनीमाथि रड प्रहार गरेकाे माओवादी केन्द्रका नेता तारादत्त भट्टले बताए। वाम-लोकतान्त्रिक गठबन्धन दार्चुलाले घटनाको भर्त्सना गर्दै दोषीमाथि कारबाही तथा घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ।

