२०८३, कार्तिक १५ गते आइतबार

भेंडापालनका लागि स्थानीयलाई अनुदान

भेंडापालनका लागि स्थानीयलाई अनुदान


  • मेरोभ्यूज
  • कार्तिक १४, २०८३ शनिबार

  • भेंडापालनका लागि स्थानीयलाई अनुदान

     

    भोजपुर । हतुवागढी गाउँपालिकाले पुनः भेंडापालन गर्न स्थानीयलाई अनुदानको व्यवस्था मिलाएको छ ।

    पछिल्लो समय भेंडापालन पेसा लोप हुँदै गएपछि पालिकाले भेंडापालनका लागि स्थानीयलाई अनुदान दिएर प्रवर्द्धनमा जोड दिएको हो ।

    भेंडापालन व्यवसायको संरक्षणका लागि गाउँपालिकाले अनुदानसँगै प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

    गाउँपालिकाले वडा नं. ३ मा भेंडापालन व्यवसायलाई प्रोत्साहन गर्न रु. दुई लाख ७० हजार अनुदान उपलब्ध गराएको छ ।

    ‘थुलुङ गाउँ कृषि तथा भेंडापालन’ समूहलाई अनुदान सहयोग गरिएको हो । समूहको २५ प्रतिशत लागत साझेदारी रहेको छ ।

    स्थानीय भेंडापालक कृषक राजेश थुलुङले हराउँदै गएको भेंडापालन व्यवसायलाई निरन्तरता दिन गाउँपालिकाले सञ्चालन गरेको कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको बताए ।

    “पालिकाको सहयोगले हामीलाई ठूलो ऊर्जा मिलेको छ”, उनले भने, “अहिले यहाँका १२ जना भेंडापालक कृषक मिलेर समूह गठन गरी व्यवसायको संरक्षण र विस्तारमा जुटेका छौँ ।”

    कृषि विकास शाखा प्रमुख ज्योति देवानका अनुसार गत आर्थिक वर्षमा यो कार्यक्रमलाई परीक्षणका रूपमा सञ्चालन गरिएको थियो ।

    परीक्षण सफल भएपछि चालु आर्थिक वर्षमा बजेट बढाएर निरन्तरता दिइएको छ । गत वर्षको नतिजा सकारात्मक आएकाले यो वर्ष भेंडापालन प्रवर्द्धनका लागि रु. तीन लाख बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

    हतुवागढी–३ का वडाध्यक्ष राजकुमार राईले किसानको आयआर्जन वृद्धि गर्न भेंडापालनका साथै अन्य पशुपालनलाई पनि सँगसँगै अघि बढाइएको जानकारी दिए ।

    उनका अनुसार वडाभित्र बाख्रापालन तथा बंगुरपालन व्यवसायमा लागेका किसानलाई आवश्यक सहयोग र प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।

    गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले गाउँपालिकाभित्रका मौलिक तथा परम्परागत पेसाको जगेर्ना गर्दै किसानको जीवनस्तर सुधार्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताए ।

    उत्पादन र पशुपालनमा आधारित आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माणका लागि प्रवर्द्धनात्मक कार्यक्रमलाई थप व्यवस्थित र क्षेत्र फराकिलो बनाउँदै लैजाने लक्ष्य रहेको अध्यक्ष राईले बताए ।


    प्रकाशित : शनिबार, कार्तिक १४ २०८३१०:४६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार