२०८३, कार्तिक १५ गते आइतबार

बालक चन्द्रवंशीको वार्षिक आम्दानी रु. ४० लाख

बालक चन्द्रवंशीको वार्षिक आम्दानी रु. ४० लाख


  • मेरोभ्यूज
  • कार्तिक १४, २०८३ शनिबार

  • बालक चन्द्रवंशीको वार्षिक आम्दानी रु. ४० लाख


    सुनसरी । बालक चन्द्रवंशीले वार्षिक ४० लाख रुपैयाँ आम्दानी गर्न थालेका छन् । दुई वर्षअघि कुवेतबाट नेपाल फर्किएर रु. ५० हजार लगानीमा कृषि पेसा शुरु गरेको उनले अहिले करिब चार बिघा क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरेका छन् ।

    पहिले बारी बाँझो हुन्थ्यो । घरमा काम गर्ने मान्छे हुँदैनथे । थोरै खेतीमा धान र मकै खेती गरिन्थ्यो । खानका लागि पुग्थ्यो । तर नगद पैसा हात पर्दैनथ्यो, चन्द्रवंशीले भने, “नेपालमा जागिर खाँदा कमाइ थोरै थियो । अलिक बढी कमाइ होला भन्ने सोचेर विदेश गएँ, त्यहाँ पनि सोचेअनुसार कमाउन सकिएन । अहिले तरकारी खेतीबाट राम्रो आम्दानी छ ।”

    अहिले दैनिक तरकारी बिक्री हुने भएकाले आम्दानी नियमित हुने गरेको उनले बताए ।

    करिब अढाइ बिघामा गोलभेँडा खेती गरेको उनले बाँकी जग्गामा काँक्रो, बोडी, घिरौँला, खुर्सानीलगायत मौसमअनुसारका तरकारी खेती गरेका छन् ।

    मौसमले साथ दिँदा उत्पादन राम्रो हुने र सिँचाइको उचित व्यवस्थापन हुन सके तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ ।

    नेपाल फर्किएर कृषि शुरु गरेँ । अहिले यही पेसाबाट मनग्य आम्दानी भइरहेको छ, उनले भने, “भदौको पहिलो सातादेखि गोलभेँडा रोप्न शुरु गरिन्छ भने कात्तिकको अन्तिम सातादेखि टिप्न थालिन्छ । अन्य मौसमी तरकारी भने वर्षभरि उत्पादन हुने गरेको छ ।”

    आधुनिक जातका गोलभेँडा लामो समयसम्म नबिग्रिने भएकाले टाढाका बजारमा पठाउन सहज हुने हुँदा गोलभेँडा खेतीलाई बढी प्राथमिकता दिएको उनले बताए ।

    “गोलभेँडाका कलमी बिरुवा केही भारतबाट ल्याएर रोप्ने गरेको छु, बाँकी बिरुवा आफैँ उत्पादन गर्छु । अन्य तरकारीका बिरुवा स्थानीय बजारबाट खरिद गरेर ल्याउने गरेको छु”, उनले भने ।

    उत्पादित तरकारी बिक्रीका लागि बजारसम्म आफैँ पुग्नुपर्ने अवस्था छैन, चन्द्रवंशी बताउँछन् ।

    धनकुटा, झापा, उदयपुर, धरान, इटहरी र इनरुवालगायतका स्थानबाट व्यापारी बारीमै आएर तरकारी खरिद गरी लैजाने गरेका छन् । सडक तथा यातायातको पहुँचका कारण उत्पादन बिक्री गर्न सहज भएको उनको भनाइ छ ।

    उनको खेतीमा वर्षभरि जालादारीमा १२ जनाभन्दा बढी कामदार छन् ।

    भदौको अन्तिम सातादेखि वैशाखसम्म दैनिक २० देखि ३० जनासम्म कामदारलाई मासिक रु. १८ हजारदेखि रु. २० हजारसम्म पारिश्रमिक दिएर काममा लगाउने गरिएको उनले जानकारी दिए ।

    “श्रीलङ्का टप्पुमा अधिकांश स्थानीय आफैँ खेती गर्ने भएकाले कामदार पाउन गाह्रो छ । अहिले सप्तरीबाट कामदार ल्याएर खेतीमा काम लगाएको छु”, उनले भने ।

    तरकारी खेतीसँगै चन्द्रवंशीले करिब अढाइ बिघा क्षेत्रफलमा मकै खेतीसमेत गर्दै आएका छन् ।

    मकै बिक्रीबाट वार्षिक रु. चार लाखसम्म आम्दानी हुने उनले जानकारी दिए ।

    कृषिबाट भएको आम्दानीले उनले प्रकाशपुरमा पाँच कठ्ठा जग्गासमेत खरिद गरेका छन् ।

    गाउँमै राम्रो कमाइ छ । रोजगारी सिर्जना गर्न सकेकामा सन्तुष्ट छु । राम्रो व्यवसायी भनेर चिनेका छन् ।

    नाम पनि, अनि दाम पनि । उनले भने, चन्द्रवंशीको खेतीमा विगत चार वर्षदेखि काम गर्दै आएको सप्तरीका राजकुमार भन्छन्, “आफ्नो गाउँमा पर्याप्त खेतीपाती गर्ने बारी छैन । त्यहाँ काम पनि पाइँदैन । खेती पनि छैन । यहाँ आएर काम गरिरहेको छु । रोजगार पाएकोमा खुसी छु । विदेश जानुभन्दा नेपालमै काम गर्नु राम्रो हुन्छ । यहाँ थोरै आम्दानी भए पनि बचत हुन्छ । विदेशमा दुःख गरेर रु. ४०–५० हजार कमाए पनि आफैँलाई खर्च पुर्याउन गाह्रो हुन्छ । नेपालमा रु. १५–२० हजार कमाइ भए पनि सबै रकम बचत गर्न सकिन्छ”, उनले भने ।


    प्रकाशित : शनिबार, कार्तिक १४ २०८३१०:४५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार