२०८३, कार्तिक १५ गते आइतबार

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि


  • मेरोभ्यूज
  • कार्तिक १४, २०८३ शनिबार

  • अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

     

    कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर दूध पोखरा बजारमा भित्रिन्छ । पछिल्लो समय यो वडामा मात्र तीनवटा दूध सङ्कलन केन्द्र (डेरी) खुलेका छन् । यहाँ पाँच वर्षको अवधिमा व्यावसायिक पशुपालन फस्टाएको छ । प्रत्येक घरमा गाईपालन शुरु गरेर दूध बिक्री गर्ने किसान बढेका छन् ।

    सरकारले दूध उत्पादनमा किसानलाई प्रोत्साहन दिएपछि व्यावसायिक दूध उत्पादन वृद्धि भएको हो । सरकारले किसानलाई दूधमा प्रतिलिटर रु. पाचका दरले अनुदान दिने गरेको छ ।

    “सरकारले दूध उत्पादनका आधारमा अनुदान रकम दिएपछि किसानलाई राहत भएको छ । गाउँमा पशुपालनको लहर नै चलेको छ,” स्थानीय किसान गोपाल पोखरेलले भने, “चोक्कर, पराल लगायत पशु आहारको मूल्यवृद्धि हुँदा अझै दूधको मूल्य खर्चका आधारमा न्यून छ, समयअनुसार दूधको मूल्य समेत बढाउनु आवश्यक छ ।”

    भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्कीले जिल्लामा उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ । यस कार्यक्रममा दूध उत्पादन गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिइन्छ । सिधै किसानले नगद रकम अनुदान पाउँछन् ।

    गत आर्थिक वर्ष दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रममार्फत किसानलाई रु. दुई करोड २० लाख प्रोत्साहन अनुदान वितरण गरिएको कार्यालयका प्रमुख डा. गृष्म न्यौपानेले बताए । उनका अनुसार ४४ लाख लिटर दूधको अनुदान दिइएको थियो ।

    दूध उत्पादन, सङ्कलन तथा औपचारिक बजारीकरणमा आबद्ध सहकारी संस्थाबाट सरकारले दिएको अनुदान रकम किसानले पाउने गरेका छन् ।

    “दूधमा उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम अत्यन्त प्रभावकारी छ । यसबाट किसानहरू दूध उत्पादन र औपचारिक बजारीकरणमा आबद्ध हुनका लागि प्रोत्साहित भएका छन्,” कार्यालय प्रमुख न्यौपानेले भने ।

    गत वर्ष यस कार्यक्रमअन्तर्गत २७ वटा दूध सङ्कलन संस्था/केन्द्रमार्फत वार्षिक ६९ लाख २३ हजार सात सय लिटर दूध सङ्कलन भएको विवरणमा उल्लेख छ । साथै आठ हजार ५० जना किसान दूध सङ्कलन प्रणालीमा आबद्ध रहेको कार्यालयले जनाएको छ ।

    कार्यालयले दूध उत्पादन बढाउन किसानलाई प्रतिलिटरका आधारमा प्रोत्साहन दिने कार्यक्रमले उत्पादनलाई औपचारिक बजारसँग समेत जोड्न सहयोग पुगेको छ ।

    उत्पादनमा आधारित अनुदानसँगै पाडीबाछी हुर्काउने प्रोत्साहन कार्यक्रमलाई पनि पशुपालन क्षेत्रको उत्पादन वृद्धि गर्ने महत्त्वपूर्ण कार्यक्रमका रूपमा कार्यालयले अघि बढाएको छ ।

    यस कार्यक्रममा कोरली बाछी र कोरली पाडी हुर्काउनका लागि किसानलाई रु. दस हजारका दरले अनुदान दिइने गरेको छ । यस कार्यक्रमबाट गत वर्ष ९९ कोरली पाडी र तीन सय ५५ बाछी हुर्किई माउ बन्न योग्य भएको र दुधालु पशुको सङ्ख्यामा चार सय ५४ ले वृद्धि भइ यस वर्ष १२ लाख लिटर अतिरिक्त दूध उत्पादन हुने कार्यालयको अनुमान छ ।

    कास्की जिल्लामा कूल एक लाख २० हजार पाच सय ७२ घरपरिवार रहेकामा ५२ हजार तीन सय २३ परिवार पशुपालनमा आबद्ध रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ ।


    प्रकाशित : शनिबार, कार्तिक १४ २०८३१०:४३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार