काठमाडाैं । विदेशी मुद्रा सञ्चितिमा क्रमशः सुधार हुँदै गएको देखिए पनि सरकारको चालु खाता घाटा बढ्दो क्रममा देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार यो अवधिसम्ममा विदेशी मुद्रा सञ्चिति रु १४ खर्ब एक अर्ब नाघेको छ ।
यही अवधिमा सरकारको चालु खाता भने रु ४४ अर्ब ३१ करोडले घाटामा रहेको छ ।
राष्ट्र बैंकका अनुसार यो अवधिसम्ममा पुँजीगत ट्रान्सफर २० दशममलव ३ प्रतिशतले कमी आई रु पाँच अर्ब ५८ करोड कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी रु एक अर्ब १७ करोड बराबर मात्रै छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा पुँजीगत ट्रान्सफर रु सात ७ अर्ब रहेको थियो भने रु १६ अर्ब ३० करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो ।
फागुन मसान्तसम्ममा शोधनान्तर स्थिति रु एक खर्ब ४८ अर्ब ११ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु दुई खर्ब ५८ अर्ब ६४ करोडले घाटामा रहेको थियो ।
गत असार मसान्तमा रु १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति आठ महिना अवधिमा १५ दशमलव २ प्रतिशतले बढेर फागुन मसान्त सम्ममा रु १४ खर्ब एक अर्ब २१ करोड पुगेको छ ।
कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति रु १२ खर्ब ४४ अर्ब ९४ करोड र बैंक तथा वित्तीय संस्थामा रहेको विदेशी विनिमय सञ्चिति रु १ खर्ब ५६ अर्ब २७ करोड बराबर छ । फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव ९ प्रतिशत बराबर रहेको राष्ट्र बैंकले जनाएको छ ।
चालु आव २०७९/८० को आठ महिनाको आयातलाई आधार मान्दा अहिले बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १० दशमलव नौ महिनाको वस्तु आयात र नौ दशमलव चार महिनाको वस्तु तथा सेवा आयात धान्न सकिने देखिएको छ ।
चालु आर्थिक वर्षको आठ महिनामा विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेको छ । गत आवको आठ महिनामा एक दशमलव तीन प्रशितले घटेको विप्रेषण आप्रवाह चालु आवमा भने बढेको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार फागुनसम्म विप्रेषण रु सात खर्ब ९४ अर्ब ३२ करोड आएको छ । फागुनमा मात्रै रु एक खर्ब चार अर्ब बढी विप्रेषण भित्रिएको राष्ट्र बैैंकले जनाएको छ । गत माघसम्म रु छ खर्ब ८९ अर्ब ८८ करोड रेमिट्यान्स आएको थियो ।
चालु आवको आठ महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४ दशमलव ८ प्रतिशतले वृद्धि भई रु छ अर्ब नौ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो अप्रवाह २ दशमलव ६ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत(नयाँ० लिने नेपालीको सङ्ख्या ५४ दशमवल तीन प्रतिशतले वृद्धि भई तीन लाख ५१ हजार सात सय ६१ पुगेको छ ।
त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ८ प्रतिशतले वृद्धि भई एक लाख ९२ हजार पाँच सय ५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २४० दशमलव तीन प्रतिशतले बढेको थियो ।

