२०८३, कार्तिक १२ गते बिहीबार

कर्मचारी सञ्चय कोषले वार्षिकोत्सवमा सार्वजनिक गर्‍यो दुई नयाँ योजना

कर्मचारी सञ्चय कोषले वार्षिकोत्सवमा सार्वजनिक गर्‍यो दुई नयाँ योजना


  • मेरोभ्यूज
  • भाद्र ३१, २०८० आइतबार

  • कर्मचारी सञ्चय कोषले वार्षिकोत्सवमा सार्वजनिक गर्‍यो दुई नयाँ योजना

    काठमाडाैं । आजदेखि स्थापनाको ६२औँ वर्षमा प्रवेश गरेको कर्मचारी सञ्चय कोषले दुई वटा नयाँ योजना सार्वजनिक गरेको छ । सामाजिक सुरक्षा सुविधातर्फ सञ्चयकर्ता स्वास्थ्योपचार योजना लागू गरिरहेको कोषले अब यस्तो सुविधा योगदानकर्ताका दम्पत्तिलाई उपलब्ध गराउनेछ । त्यस्तै, काठमाडौँ उपत्यकामा मात्र केन्द्रित रहेको सञ्चयकर्ता सरल चक्र कर्जा सुविधा अब कोषका सबै कार्यालयबाट उपलब्ध हुनेछ ।

    कोषले हाल सञ्चयकर्तालाई साधारण रोगका लागि उपचार गराएको हकमा प्रत्येक आर्थिक वर्ष रू एक लाखसम्मको र घातक रोगको हकमा सेवा अवधिभर अधिकतम रू १० लाखसम्मको स्वास्थ्य उपचार सेवा उपलब्ध गराइरहेको थियो । अब यस्तो सुविधा दम्पत्तिका लागि पनि लागू हुने कोषले जनाएको छ ।

    त्यस्तै, सामाजिक सुरक्षाका सुविधातर्फ कोषले सुत्केरी तथा शिशु स्याहार सुविधाका रुपमा दुई सन्ततिसम्मका लागि प्रति प्रसुति रू सात हजार पाँच सय, दुर्घटना क्षतिपूर्ति योजनाअन्तर्गत निज वा निजको हकवालालाई रू दुई लाख र काजक्रिया अनुदान योजनाअन्तर्गत हकवालालाई रू ४० हजारसम्म सामाजिक सुरक्षा उपलब्ध गराउँदै आएको छ ।

    वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले कर्मचारी सञ्चय कोषले लगानीको क्षेत्र विस्तार गर्दै प्रतिफल सुनिश्चित गर्नुपर्ने बताए ।

    हाल कर्मचारी सञ्चय कोषमा २७ हजार छ सय कार्यालयका पाँच लाख ८२ हजार योगदानकर्ता रहेका छन् । गत आर्थिक वर्ष २०७९/८० सम्ममा कोषको कूल रू पाँच खर्ब १२ अर्ब चार करोड बराबरको स्रोत रहेकोमा रू पाँच खर्ब तीन अर्ब ७४ करोड बराबर लगानी भएको प्रशासक जितेन्द्र धितालले बताए । कोषले १२ वटा जलविद्युत् आयोजनामा करिब रू ६० अर्ब, १६ वटा बैंक तथा वित्तीय संस्थामा करिब रू १० अर्ब र पूर्वाधारका क्षेत्रमा २० भन्दा बढी आयोजनामा करिब रू २७ अर्ब बराबर लगानी गरेको धितालको भनाइ छ ।

    कोषलाई सरकारी तथा सार्वजनिक क्षेत्रको एकीकृत अवकाश कोषका रुपमा रुपान्तरण गरी सुरक्षा प्रदायक संस्थाको रुपमा काम गर्न आवश्यक रहेको पनि उनले बताए । कर्मचारी सञ्चय कोष ऐन र निवृत्तभरण कोष ऐनको एकीकृत स्वरुप तयार पार्न खोजिएको उनको भनाइ छ । त्यस्तै, तीनवटै तहका सार्वजनिक निकायका कर्मचारीलाई योगदानमा आधारित निवृत्तभरण प्रणालीमा आबद्ध गर्न आवश्यक रहेको पनि धितालले उल्लेख गरे । 


    प्रकाशित : आइतबार, भाद्र ३१ २०८०१०:०७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार