२०८३, कार्तिक १३ गते शुक्रबार

शम्भु–निर्मला विशिष्ट साधक सम्मान वरिष्ठ पत्रकार रिसाललाई

शम्भु–निर्मला विशिष्ट साधक सम्मान वरिष्ठ पत्रकार रिसाललाई


  • मेरोभ्यूज
  • मंसिर ३०, २०८० शनिबार

  • शम्भु–निर्मला विशिष्ट साधक सम्मान वरिष्ठ पत्रकार रिसाललाई

    काठमाडौं । शम्भु–निर्मला कला–साहित्य समाजले लेखक एवं वरिष्ठ पत्रकार भैरव रिसाललाई यस वर्षको शम्भु–निर्मला विशिष्ट साधक सम्मान प्रदान गरेको छ । समाजका पदाधिकारीले अनामनगरस्थित रिसालकै घरमै पुगेर उनलाई रु २१ हजार नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् । 

    समाजद्वारा वरिष्ठ श्रष्टा एवं सङ्गीतकार शम्भुकुमार मिलनको तेस्रो वार्षिक स्मृति दिवसका अवरमा आज यहाँ आयोजित कार्यक्रममा ‘स्मृतिविम्बमा शम्भुकुमार मिलन’ स्मृतिग्रन्थ विमोचन गरियो ।

    नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति बैरागी काइँला र पूर्वसभामुख दमननाथ ढुङ्गानासहित वरिष्ठ साहित्यकारले उक्त कृति लोकार्पण गरे। नेपाली साहित्य र कला क्षेत्रका सम्मानित व्यक्तित्व मिलनले साहित्य, गीत, सङ्गीत, शिक्षा र प्राज्ञिक क्षेत्रमा अतुलनीय योगदान दिएका छन् ।

    उनको स्मृतिमा प्रकाशित कृतिका संस्मरण भागमा ३१ जना, पारिवारिक स्मृति भागमा १७ जना र समालोचना भागमा १९ जना श्रष्टाका लेख, रचना र विचार समावेश छन् ।

    विसं २००६ मङ्सिर ५ गते काठमाडौँ बत्तीसपुतलीमा जन्मेका मिलनको विसं २०७७ कात्तिक १५ गते कोरोनाका कारण ७१ वर्षको उमेरमा निधन भएको थियो । बाल कार्यक्रममार्फत छ वर्षको उमेरमा रेडियो नेपालमा प्रवेश गरेका मिलन रेडियो नेपालमार्फत नै लामो समय राष्ट्रसेवामा समर्पित भएका थिए । 

    उनका एक दर्जनभन्दा बढी गीत, कविता, गजल, नियात्रासम्बन्धी कृति प्रकाशित छन् । कार्यक्रममा मिलनको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन विषयका शोधार्थी सावित्रादेवी शर्मालाई सम्मान गरिएको थियो ।

    सो अवसरमा पूर्वउपकुलपति काइँलाले साहित्य, सङ्गीत र गायन क्षेत्रमा मिलन नमूनाका रूपमा रहनुभएको स्मरण गरे । लगानशील र उत्साहित व्यक्तिका लागि उनी प्रेरणाका स्रोत रहनुभएको उल्लेख गर्दै वरिष्ठ साहित्यकार काइँलाले हिम्मतिलो र आत्मविश्वासले मिलनलाई आफ्नो क्षेत्रमा शिखरमा पुर्‍याएको धारणा राखे । 

    पूर्वसभामुख ढुङ्गानाले गीत–सङ्गीत क्षेत्रका ठूला साधक मिलनलाई अन्तर्यामी व्यक्तित्वका रूपमा जानेबुझेको बताए । उनले राष्ट्रिय प्रतिष्ठानको अभावमा विभिन्न श्रष्टाका परिवारले प्रतिष्ठान चलाउन बाध्य भएको अवस्थालाई विचार पुर्‍याउन सरकारलाई सुझाव दिए । 

    समाजका संरक्षक निर्मला रेग्मी, अध्यक्ष प्रा डा देवी नेपाल, कोषाध्यक्ष सिर्जना रेग्मी, वरिष्ठ समालोचक डा गणेश भट्टराई, वरिष्ठ पत्रकार विजय चालिसे, वरिष्ठ सङ्गीतकार बुलु मुकारुङलगायतले श्रष्टा मिलनको साहित्य र सङ्गीत साधनाको व्यक्तित्वबारे चर्चा गरे । 


    प्रकाशित : शनिबार, मंसिर ३० २०८०११:०६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार