काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले लिलामी शेयरको कटअफ मूल्य रू १४६ कायम हुनसक्ने जनाएकाे छ । कम्पनीले पुस १३ देखि २९ गतेसम्म अवितरित सर्वसाधारणतर्फको १ करोड ७० लाख १९ हजार ५३० कित्ता शेयर लिलामी प्रक्रियाबाट विक्री गरेको थियो । सो अवधिमा प्राप्त गोप्य शिलबन्दी बोलपत्र तीन दिन लगाएर खोलिएको हो ।
आइतवार बोलपत्र खोल्ने कायम सम्पन्न भएसँगै क्यापिटलले लिलामी शेयरको कटअफ मूल्य रू १४६ हुने सम्भावना देखिएकाे जानकारी दिएको हो । सबै चेक भेरिफाई गर्ने कार्य जारी नै रहेकोले अन्तिम कटअफ मूल्यमा केही तलमाथि हुन सक्ने क्यापिटलले बताएकाे छ ।
विक्री प्रबन्धक लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडले गत शुक्रवार नै गोप्य शिलबन्दी बोलपत्र खोल्न शुरु गरेको थियो । तीन दिन लगाएर ३० हजार १५५ ओटा आवेदन खोल्ने कार्य सम्पन्न भएको जानकारी क्यापिटलले दिएको छ ।
कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म १ बराबर १ को अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । सो अवधिमा सर्वसाधारणमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्ता र संस्थापक शेयरधनीमा ५ करोड ४० लाख ९ हजार कित्ता गरी ८ करोड ८८ लाख ८० हजार ४७० कित्ता हकप्रद शेयर मङ्सिर २८ गते बाँडफाँट गरिएको थियो ।
१० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पूँजीको आधारमा कम्पनीले शतप्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । लिलामी शेयरसमेत बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ कायम हुनेछ ।

