२०८३, कार्तिक १२ गते बिहीबार

दुग्ध क्षेत्रको दीर्घकालीन समाधान खोज्न सरोकारवालको जोड

दुग्ध क्षेत्रको दीर्घकालीन समाधान खोज्न सरोकारवालको जोड


  • मेरोभ्यूज
  • फाल्गुण ११, २०८० शुक्रबार

  • दुग्ध क्षेत्रको दीर्घकालीन समाधान खोज्न सरोकारवालको जोड

    काठमाडौं । दुग्ध क्षेत्रका समस्याका दीर्घकालीन समाधान खोजिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । दूध तथा दुग्धजन्य पदार्थको मूल्यवृद्धिलाई नै समस्या समाधानका मुख्य अस्त्र ठान्ने गलत प्रवृत्तिका कारण नै दूध तथा दुग्धजन्य पदार्थको आन्तरिक खपत घट्नुका साथै निर्यातमा समेत प्रभावित भएको विज्ञ तथा सरोकारवालाको जोड छ । 

    नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गत कृषि उद्यम केन्द्रको सहयोग र नेपाल कृषि पत्रकार सङ्घ (अनाज) सँगको सहकार्यमा नेपाल डेरी एसोसिएसनद्वारा शुक्रबार राजधानीमा आयोजित ‘वर्तमान अवस्थामा दुग्ध क्षेत्रमा देखिएका समस्या समाधान’ विषयको कार्यक्रममा सो विषयमा जोड दिएका हुन् । 

    राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा राजेन्द्रप्रसाद यादवले कतिपय डेरी व्यवसायीकै कारण दुग्ध क्षेत्रका समस्या समाधान हुन नसकेको बताए । दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर, विविधिकरण र बजारीकरणमा व्यवसायीतर्फबाट खासै पहल र प्रयास नभएको उनको भनाइ थियो । 

    कार्यकारी निर्देशक यादवले भने, “अन्य क्षेत्रको तुलनामा नेपाल क्षेत्र धेरै मर्यादित व्यवस्थित छ, अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको छ तर पनि समस्या किन आइरहेका छन् भने व्यवसायीमा दूरदृष्टि भएन, इमान्दारिता देखिएन । यहाँ समाधानभन्दा पनि किसानका नाममा राजनीति हुने गरेको छ । गुणस्तर, बजारीकरण र विविधीकरणमा चासो दिइएन ।” 

    दूध तथा दुग्धजन्य पदार्थ खपत बढाउन व्यवसायी–व्यवसायीबीच पनि सम्वन्ध विस्तार गर्न हुनुपर्नेमा यादवको जोड छ । उनले भने, “गुणस्तरमा किन ध्यान दिइएन ? किन यहाँका तारे होटलमा स्वदेशी दूध तथा दुग्धजन्य पदार्थ खपत छैन ? यस्ता काम सरकारले गर्ने होइन, व्यवसायी आफैँ गर्नुपर्ने काम हो । अर्को कुरा सरकारले त नीतिगत सहजीकरण गर्ने हो, गरिरहेकै छ ।”

    डेरी विज्ञ तथा कतिपय डेरी व्यवसायीले समेत दुग्ध क्षेत्रको समस्या समाधानका लागि मूल्यवृद्धि नभई उत्पादन लागत घटाउनुपर्नेमा जोड दिए ।  दुग्ध विकास संस्थानका पूर्वमहाप्रबन्धक सियारामप्रसाद सिंह, अजवलाल यादव, डेरीविज्ञ नारायण श्रेष्ठले पनि दूध तथा दुग्धजन्य पदार्थको उत्पादन लागत घटाएर गुणस्तरमा ध्यान दिएमा आन्तरिक खपत पनि बढ्ने र निर्यात सम्भावना पनि बढ्ने बताए । छिमेकी मुलुक भारतभन्दा नेपालमा मूल्य प्रतिलिटर १३ रुपैयाँ महँगो रहेको उनीहरुको भनाइ थियो ।

    एसोसिएसनका पूर्वअध्यक्ष सुमित केडियाले सरकारले अनुदान दिएमा नेपालबाट दूध तथा दुग्धजन्य पदार्थ बंगलादेश निर्यात सम्भावना रहेको बताए । भारत बंगलादेश, श्रीलंकालगायतमा निर्यात सम्भावना हुँदाहुँदै पनि बढी भएकै कारण निर्यात गर्न नसकिएको उनको भनाइ छ । 

    दुग्धजन्य पदार्थ बिक्री नभएकै कारण किसानलाई भुक्तानी दिन नसकिएको भन्दै उहाँले सरकारले सहुलियत कर्जा उपलब्ध गराएमा किसानलाई भुक्तानी दिन डेरी व्यवसायी तयार रहेको पनि बताए । 

    dairy b.jpg

    केन्द्रीय दुग्ध सहकारी सङ्घ नेपालका अध्यक्ष कृष्णप्रसाद सापकोटा, पशुपक्षी पालन सहकारी सङ्घका अध्यक्ष बाबुराम अधिकारी र पशु सेवा विभागका पूर्वमहानिर्देशक डा लोकनाथ पौडेलले किसानको भुक्तानीमा ढिलाइ गरिए दुग्ध क्षेत्र झनै सङ्कटमा पर्ने भन्दै तत्काल भुक्तानी व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

    कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव सम्झनाकुमारी काफ्लेले हाल भइरहेको समस्याको सबै मिलेर समाधानमा लाग्नुपर्ने बताए । कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेतले डेरी क्षेत्रका समस्या समाधानका लागि नेपाल उद्योग वाणिज्य महासङ्घ र कृषि उद्यम केन्द्रले पहल गर्ने बताए । 

    एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले पछिल्लो समय दूध तथा दुग्धजन्य पदार्थको बजार प्रवद्र्धनका लागि एसोसिएसनले पनि विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए । एसोसिएसनले दूध तथा दुग्धजन्य पदार्थको खपत बढाउन सेना, प्रहरीका खाना र विद्यार्थीको खाजामा अनिवार्यरुपमा दूध दुग्धजन्य पदार्थ समावेश गरिनुपर्ने माग गर्दै आएको छ भने सरकारले पनि उक्त व्यवस्था कार्यान्वयनको क्रममा रहेको जनाएको छ । 


    प्रकाशित : शुक्रबार, फाल्गुण ११ २०८००८:४९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार