२०८३, कार्तिक १५ गते आइतबार

सुनकोशी मरिण डाइभर्सन - १२ किलोमिटर सुरुङ खनियो

सुनकोशी मरिण डाइभर्सन - १२ किलोमिटर सुरुङ खनियो


  • मेरोभ्यूज
  • चैत्र १२, २०८० सोमबार

  • सुनकोशी मरिण डाइभर्सन - १२ किलोमिटर सुरुङ खनियो

    काठमाडौँ । तराई - मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सुरु गरिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण प्रक्रियामा उल्लेख्य प्रगति भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियमितरुपमा चासो दिएपछि आयोजनामा उल्लेख्य प्रगति देखिएको छ ।

     कुनै भौगोलिक जटिलता उत्पन्न नभएको खण्डमा आगामी डेढ महिनाभित्र सुरुङ निर्माण सम्पन्न हुने सम्वद्ध आयोजनाले जनाएको छ ।

    सुनकोशी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार कुल १३ दशमलव तीन किलोमिटर लामो सुरुङमध्ये हालसम्म १२ किलोमिटर ७९ मिटर सुरुङ निर्माण भइसकेको छ । यो विवरण गत बिहीबार रातिसम्मको हो । “सुरुङ निर्माणमा उल्लेख्य प्रगति भएको छ । कुनै भौर्गभिक जटिलता उत्पन्न नभएको खण्डमा आगामी डेढ महिनाभित्र ब्रेक थ्रु गर्ने तयारीमा छौ”, आयोजना प्रमुख बरालले भने ।

    ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आयोजना प्रमुखलगायतका अधिकारीलाई आयोजना स्थल नछाड्न, स्थानीयस्तरमा नै समस्या समाधान गर्न स्पष्ट निर्देशन दिएको छ ।

    निर्माण व्यवसायी परिचालनमा विशेष ध्यान दिन तथा आवश्यक सहजिकरण गरी हरेक १५ दिनमा जलस्रोत तथा सिँचाइ विभागमा प्रगति विवरण उपलब्ध गराउनसमेत निर्देशन दिइएको छ ।

     यस्तै, हरेक एक महिनामा आयोजनाको समग्र प्रगति विवरण प्रस्तुत गर्न मन्त्री बस्नेतले दिएको निर्देशनअनुसार आयोजनाको प्रगति प्रभावकारीरुपमा अगाडि बढेको हो ।

    प्रधानमन्त्री दाहालले नियमितरुपमा आयोजनाका सन्दर्भमा चासो राख्दै आएकाले पनि आफूलाई काम गर्न सहज भएको आयोजनाले जनाएको छ ।

    प्रविधिले साथ दियो र काम गराउने मानिस राज्यप्रति इमान्दार भयो भने जुनसुकै आयोजनाले पनि अपेक्षित सफलता पाउन सक्छ । त्यसको खास उदाहरण बन्न सफल भएको छ, सो आयोजना ।

    मुलुकका अधिकांश राष्ट्रिय गौरवका परियोजनामा समय र लागत दुवै बढिरहेका बेला एउटा आयोजनाले भने यतिबेला धेरैको ध्यान आकृष्ट गरेको छ ।

    नेपालमा पनि यो गतिमा यसरी काम हुन सक्छ र भन्दै अधिकांशले आश्चर्य प्रकट गरेका छन् ।

    आयोजनाको निर्माणमा देखिएको सकारात्मक प्रभाव अन्यमा समेत पर्ने भन्दै खुसी व्यक्त गर्ने पनि उत्तिकै छन् ।

    सुरुङ खन्दै जाँदा चुरे र महाभारत पर्वत शृङ्खलाका बीचमा समस्या देखिँदा केही दिन प्रभावित भएको थियो । त्यसलाई समाधान गरेर हाल नियमितरुपमा सुरुङ खन्ने काम भइरहेको आयोजना प्रमुख बरालको भनाइ छ ।

    आयोजना प्रमुख बरालका अनुसार २०७९ साल असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो आयोजनामा कुल १३ दशमलव तीन किलोमिटर लामो सुरुङ निर्माण हुनेछ ।

     नेपालका विद्युत तथा अन्य सिँचाइका आयोजनामा सुरुङ निर्माण भए पनि सो आयोजनामा टनेल बोरिङ मेशिन प्रयोग गरेर खनिएको छ ।

    यसअघि भेरी - बबई डाइभर्सन आयोजनामा पनि मेशिनको प्रयोग गरिएको थियो । पहाडि भू-भाग बढी भएको नेपालमा सुरुङ खन्न अब मेशिन प्रभावकारी उपकरणका रुपमा स्थापित भएको छ । यसबाट अन्य आयोजनामा समेत अब सोही प्रकृतिको मेशिन प्रयोग गर्न सकिने वातावरण बन्दै गएको देखिन्छ ।

     सुनकोशी नदीको पानी मरिण खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईका एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु गरिएको सो आयोजनाको सुरुङ निर्माणमा अपेक्षितभन्दा बढी प्रगति भए पनि अन्य काममा भने सोहीअनुसार भएको छैन ।

    सो आयोजनाको ‘कफर ड्याम’ निर्माण भइरहेको छ । निर्माण व्यवसायीले काम गरिरहेको भएपनि बाँध निर्माणमा अपेक्षित प्रगित भएको छैन ।

     विद्युत् गृह र प्रसारण लाइन निर्माणका लागि आवश्यक तयारी भइरहेको छ ।

    प्रसारण लाइनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन सकिएको छ । त्यो स्वीकृतिको अन्तिम चरणमा छ ।

     यस्तै हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलतर्फको काम पनि अगाडि बढाउन लागिएको आयोजना प्रमुख बरालले जानकारी दियो ।

    सुरुङ निर्माण सम्पन्न हुने अरु काम भने अगाडि नबढ्ने प्रवृत्ति देखिएको छ ।

    भेरी - बबई आयोजनामा पनि दुई वर्ष पहिल्यै सुरुङ निर्माण सम्पन्न भए पनि बाँधस्थल र विद्युत् गृह निर्माण सकिएको छैन । ती काम कहिले सकिन्छ भन्न सक्ने अवस्थामा आयोजनाका सम्बद्ध अधिकारी छैनन ।

    यद्यपि आयोजनाको अन्य कामलाई गति दिन मन्त्रालयले आयोजनाका सम्बद्ध अधिकारी र निर्माण व्यवसायीलाई स्पष्ट निर्देशन दिइसकेको मन्त्री बस्नेतले बताए ।

    सुनकोशी मरिण डाइभर्सन आयोजनाबाट हाल सञ्चालनमा रहेको बिपी राजमार्गको केही भाग प्रभावित हुनेछ । हाल सञ्चालनमा रहेको राजमार्गलाई नौ सय मिटर डाइभर्सन गर्नुपर्ने हुन्छ ।

    बाँध तथा विद्युत् गृह निर्माणका लागि भारतीय कम्पनी पटेल इजिनियरिङ र नेपाली कम्पनी रमण कन्स्ट्रक्सनको संयुक्त उपक्रमले ठेक्का पाएको छ ।

    आगामी वैशाखसम्म बाँध निर्माणलाई एउटास्तरमा पु¥याउने लक्ष्य राखिएको छ ।

    वैशाखपछि नदीमा जलसतह बढ्ने भएकाले काम गर्न समस्या हुनेछ । यस्तै, विद्युत् गृह निर्माण हुने स्थानमा मुआब्जा वितरण सम्पन्न भइसकेको छ । सो आयोजनाबाट तराई - मधेसका कूल एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

    राष्ट्रिय गौरवका आयोजना भएकाले स्रोतको कुनै अभाव नहुने प्रधानमन्त्री दाहाल र ऊर्जामन्त्री बस्नेतको प्रतिबद्धता भएकाले आफूहरुलाई काम गर्न सहज भएको आयोजना प्रमुख बरालको टिप्पणी छ ।

     यसअघि सुरुङ निर्माणमा भौगर्भिकरुपमा रहेको जटिलताका कारण तीन पटक समस्या देखिएको थियो ।

    सुनकोशी गाउँपालिका - ७ कान ढुङ्ग्रीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीमा पथान्तरण गरिनेछ ।

     सुनकोशीको करिब ६७ क्युसेक पानीलाई सुरूङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका - २ कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ ।

    त्यसपछि बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ ।

     त्यस्तै सो आयोजनाबाट ३१ मेगावाट बिजुली उत्पादन हुनेछ । आयोजनाको सुरुङ निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङले गरिरहेको छ ।

    बाँध निर्माणका लागि नेपालको रमण समूहसँग भारतीय कम्पनी पटेल इञ्जिनियरिङको संयुक्त उपक्रमले जिम्मा पाएको छ ।

    बाँध र विद्युत् गृह निर्माणमा केही ढिलाइ भए पनि तोकिएको समयभित्रै पूरा गर्ने निर्माण व्यवसायीको भनाइ छ ।

    विसं २०८४ को असोजमा सो आयोजना पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

    भेरी बबई डाइभर्सन आयोजनामा सुरुङ निर्माण सम्पन्न भएको लामो समय भएपनि बाँध र विद्युत् गृह निर्माणले गति नलिँदा देखिएको व्यवधान सुनकोशी मरिणमा आउन नदिन सरकार उत्तिकै चनाखो देखिएको छ ।

    सो आयोजना सम्पन्न भएपछि अन्न भण्डारका रुपमा रहेको मध्य तराईका पाँच जिल्लामा वर्षभरि नै सिँचाइ सुविधा उपलब्ध हुनेछ । त्यसले खाद्य उपज उत्पादनमा गुणात्मक बदलाव आउने सरकारको विश्वास छ ।

    आर्थिक वर्ष २०६८ - ०६९ मा भेरी - बबई डाइभर्सन आयोजनामा टनेल बोरिङ मेशिन प्रयोग गर्ने प्रसङ्ग ल्याउँदा धेरैले असम्भव प्रयासको संज्ञा दिएका थिए ।

     नीति निर्माता तथा आयोजनालाई नै विश्वास थिएन । लगानी बढी लाग्ला, प्राविधिक नपाइएला आदि इत्यादि शङ्का गर्ने पनि उत्तिकै थिए । संसारका धेरै देशमा प्रयोग भइसकेको प्रविधि भित्र्याउन ठूलै मेहेनत गर्नुपरेको सम्बद्ध अधिकारीको भनाइ छ ।

    असम्भव ठानिएको काम नै भेरी - बबईमा सम्भव देखिएपछि सुनकोशी मरिणमा पनि मेशिनको प्रयोग गरिएको हो ।

    ‘ड्रिलिङ एन्ड ब्लास्ट’ प्रणालीबाट मात्रै सुरुङ खन्ने गरिएकामा मेशिनको प्रयोग नेपालका लागि नौलो प्रविधि थियो ।

    भेरी - बबईमा डेढ वर्षमा नै सुरुङ निर्माण सम्पन्न भएपछि अन्य आयोजनामासमेत मेशिनको प्रयोग गर्नेबारेमा प्रक्रिया अगाडि बढाइएको छ ।

    दुधकोशी अर्धजलाशयुक्त आयोजनाको सुरुङमा समेत मेशिनको प्रयोग गर्ने बारेमा प्रारम्भिक छलफल भएको छ ।

    -----


    प्रकाशित : सोमबार, चैत्र १२ २०८०११:१०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार